दाङको तुलसीपुरमा दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढ्ने भएको छ।
तुलसीपुरका डेरी व्यवसायीहरूको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढाउने निर्णय गरेको हो।
अबदेखि एक लिटर दूधको खुद्रा मूल्य ८० रुपैयाँ र दहीको खुद्रा मूल्य ९० रुपैयाँ पर्ने भएको छ।
दाङको घोराही क्षेत्रमा गत वर्षदेखि नै दूध प्रतिलिटर ८० रुपैयाँ र दही प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको थियो।
त्यस्तै, एक किलो घ्यूको खुद्रा मूल्य एक हजार दुई सय रुपैयाँ र एक किलोग्राम पनिरको मूल्य सात सय रुपैयाँ निर्धारण गरिएको गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले जानकारी दिए।
बैठकले किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य समेत निर्धारण गरेको छ।
प्रति फ्याट ६ रुपैयाँ र प्रति एसएनएफ तीन रुपैयाँ १९ पैसामा थप अधिकतम कमिसन १४ रुपैयाँ जोडेर दूधको खरिद मूल्य निर्धारण गर्ने निर्णय भएको साकार सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काले जानकारी दिए।
तर मंसिर, पुस र माघमा भने थप कमिसन १४ रुपैयाँ दिन डेरी व्यवसायी बाध्य नहुने निर्णय पनि गरिएको छ।
तुलसीपुर क्षेत्रका पशुपालक किसानले महँगी अनुसार दूध उत्पादनको लागत मूल्य नउठेको भन्दै दूधको मूल्य बढाउनुपर्ने माग गर्दै आएका थिए।
व्यवसायिक पशुपालक किसान शशीराम बुढाथोकीका अनुसार दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाउने विषयमा गत असार ३० गते तुलसीपुर उपमहानगरपालिका पशु विकास शाखाको संयोजनमा डेरी व्यवसायी, दुग्ध उत्पादक किसान र अन्य सरोकारवाला पक्षको बीचमा भएको थियो।
छलफलले नेपाल सरकारले तोकेबमोजिमको दर रेटमा कम नहुने गरी दूधको मूल्य समायोजन गर्ने भन्ने निर्णय अनुसार तुलसीपुर क्षेत्रमा दूध तथा दुग्धजन्य पदार्थको खरिद तथा विक्री मूल्य समायोजन गरिएको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए।