खै! आज सम्झिहेर्दा पो लाग्यो
जीवनको चियापसलहरूमा
हामीले कति यादहरू त्यसै बिर्सियौँ
चिया एउटा बाहाना न थियो
त्यही चियापसलमा
जवानीका कतिकति प्रेमकथाहरू
त्यसै निरस र अधुरो छोडिहिँड्यौँ,
याद छ साथी !
कति वितृष्णा, वियोग र पीडाको साक्षी छ त्यो टेबल
ओठमा लत्पतिएको चियाको हरडामहरू सुकेझैँ
जीवनको गल्लीहरूमा पुरानो स्मृति जस्तो
टेबलमा लत्पतिएको जवानीको एउटा मुलधार नै बिलाइगयो
अब त प्रेम कुर्दाकुर्दै यति बुढो भइएछ कि
खोतलिहेर्दा पुरानो जीवन
हिसाब नै छैन
जीवनमा कति चियापसलहरू बदल्यौँ
जहाँ चियापसलका खोपाहरूमा
टपक्क सजाएर राखेका थियौं हामीले
हामी जस्तै हाम्रा प्रेमहरू
अब यति हुस्सु भैएछ कि
यो पनि थाहा छैन–
चियापसलमा हामीले
कति गिलासहरू बदल्यौँ
जहाँ गिलासका बुट्टाहरूमा
निकै जतनले टाँसेका थियौं
हामीले हामी जस्तै निर्दोष चुम्बनहरू
हो साथी!
यो पनि बिर्सिसकें मैले
चिया पसलमा हामीले
कति खिल्लि र एष्ट्रेहरू बदल्यौं
जहाँ हामीले–
पहिलो प्रेमलाई गरेको पहिलो स्पर्शजस्तो
हामी आफैं भएर खिल्लि
विस्ता....रै छोएको थियौँ त्यो मादक एष्ट्रे
हिँड्दाहिँड्दै थाकेको कुनै यायावर जस्तो
जीवनको चोकहरू चहार्दाचहार्दै थाकेको म
बेहद प्रेमले सम्झन्छु
कि हामीले जीवनका चिया पसलहरूमा
आफ्नै मन र मुटु घोलिदिने
कति चियावालीहरू बदल्यौं!