अमेरिकाबाट भाइ बिजय भट्टराईको बिजुलीपत्रमार्फत प्राप्त कवि बैकुण्ठराज आचार्यको कविता सङ्ग्रह ‘न्यास्रो जन्मभूमिको’ प्रति समीक्षात्मक टिप्पणी गरिदिने आग्रहलाई मैले नकार्न सकिँन । समीक्षा गर्ने कार्य यसै पनि अप्ठेरो त छँदैछ, त्यसका पनि आपूmले नचिनेको स्रष्टाका बारेमा बोल्नु झनै कठिन कार्य हो । तथापि कविता सङ्ग्रहको स्क्यान प्रतिकै आधारमा भए पनि मेरो व्रह्मले देखेका र अनुभूत गरेका कुराहरूलाई सङक्षिप्त रूपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्न लागेको छु ।
समकालीन नेपाली कविताको फाँटमा पछिल्लो समयमा आएर मुक्त छन्दका कविताहरू उर्वर रूपमा आएको पाइन्छ । कविता के हो र यो कस्तो हुनुपर्छ भन्ने बारेमा धेरै किसिमका बिचारहरू हुन सक्छन् । समष्टिमा भन्नुपर्दा समाजलाई प्रतिविम्वित गर्ने यथार्थपरक विचार, भावलाई शब्दहरूको कलात्मक व्यवस्थापनद्वारा मुक्त वा बध्द छन्दमा प्रस्तुत गरिने सुरुचिपूर्ण अभिव्यक्ति नै कविता हो भन्न सकिन्छ ।
किशोरावस्थामै कथा, कविता विधामा कलम चलाइसकेको प्रस्तुत कविता सङ्ग्रहका स्रष्टा बैकुण्ठ आचार्य विविध कारणले हुनसक्छ बीचमा साहित्य सिर्जनामा देखिनुभएन । तर, पछिल्लो समयमा आएर आपूmभित्र सुषुप्त प्रतिभालाई ब्युँझाउन थालेको कुरा उहाँ स्वयम्को अभिव्यक्तिबाट प्रष्ट हुन्छ । यो यसै पनि खुशीको कुरा हुँदै हो, त्यसमा पनि प्रवासमा रहेर जीवनका लागि संघर्षरत रहँदारहँदै पनि आफ्नो भाषा र साहित्यप्रति स्नेहाशिक्त हुँदे यसरी एउटा साहित्यिक कृति दिनु झनै स्वागतयोग्य कुरा हो ।
कवि जुन युग र परिवेशमा बाँचेको छ, उसका सिर्जनामा पनि त्यो प्रतिविम्वित हुने गर्दछ । यस सङ्ग्रहभित्र सङ्ग्रहित मलाई स्क्यान गरेर प्रेषित गरिएका कुल सत्रवटा मात्र कविताहरू पढ्दा यस्तो लाग्छ– कविले आपूm स्वदेशमा रहँदा बस्दा देखेका, भोगेका र अनुभूत गरेका रमाइला नरमाइला पक्षहरूबाट उत्पन्न हुने संवेदनालाई प्रवासमा बसेर कल्पिँदा उत्पन्न हुने भावनात्मक छालहरू उनको प्रस्तुत कविता सङ्ग्रहमा तरङ्किएका छन् । उनका अधिकांश कविताहरूमा उनको अगाध देशप्रेम झल्किन्छ ।
साथसाथै आफू वाध्यताको हुरीले उडाइएर प्रवासमा पुग्नु परेको पीडा कविताहरूमा प्रतिविम्वित भएको पाइन्छ । प्रकृतिप्रेम, आफ्ना मौलिक कला, संस्कृति, परम्पराप्रति पनि उनका कविताले उच्च सम्मान प्रस्तुत गरेका छन् । त्यसैगरी गैह्रजिम्मेवार र लालची नेताहरूका कारण मुलुक र जनताले भोग्नु परेका कठिनाईहरूका लागि कवि उत्तिकै आक्रोसित पनि देखिन्छन् । कवितामा स्वदेशको सुरक्षा, विकास, सार्वभौमसत्ता र अखण्डताप्रति पनि कवि चिन्तित देखिन्छन् भन्ने कुरा उनले एउटा कवितामा अभिव्यक्त गरेको “राजनीतिका नाउँमा देश हार्नु हुँदैन” भन्ने पंक्तिले पनि स्पष्ट पार्छ।
प्रस्तुत सङ्ग्रहमा सङ्ग्रहित कविताहरू उत्कृष्ट, मध्यम र सामान्य गरी तीन भागमा विभक्त गर्न सकिन्छ । तीमध्ये ‘न्यास्रो जन्मभूमिको’ र ‘पारिजात र काठमाडौ’ शीर्षकका कविता सर्वोत्कृष्ट छन् ।
कवि कवितामा भौतिक यात्रालाई जीवनयात्रासँग तुलना गर्दै जीवन नै यात्रा हो भन्ने निष्कर्षमा पुगेका छन् । अनिँदो रातसँगै मनमा उद्वैलित हुने भावना, देशको राजनीतिक र क्षेत्रीय स्थितिको उद्वोधन हो भन्न सकिन्छ उनका कविता । कवितामा उनले विकृति र विसङ्गतिका जन्मदाता लुच्चा र लालची राजनीतिक व्यक्तित्वहरूप्रति आक्रोस पोख्दै खबरदारी गरेका छन् । उनले जीवन भोगाईका क्रममा आउने कठिनाईहरूलाई आँधीका रूपमा चित्रित गर्दै आँधीसँग निरन्तर जुध्नु जीवनको आवश्यकता हो भनेका छन् ।
त्यसैगरी उनले कविताको माध्यमबाट बदलिँदो समयचक्र र त्यसले ल्याएको परिवर्तनको सङ्केत गर्दै देश भूगोलमा मात्र होइन भावनामा पनि बाँचेको हुन्छ भन्ने सन्देश दिन खोजेका छन् । स्वदेशको सम्झना गर्दै आफ्नो पृयवस्तु पाउन उठाउनु पर्ने कठिनताको चर्चा गरेका छन् । आधुनिकताका नाउँमा मौलिकता विसिँदै गएको कुरालाई इङ्गित गरेका छन् भने जीवन ज्यून भोग्नुपर्ने वाध्यतायुक्त बन्धनले शरीरलाई बाँधे पनि मनलाई बाँध्न नसक्ने हुँदा शरीर जहाँ भएपनि मनले आफ्नै देशको विचरण गर्न सक्ने यथार्थको चित्रण उनले आफ्ना कवितामा गरेका छन् ।
सङ्ग्रहभित्रका कविताहरुमा देश चलाउनेहरूको अयोग्यताका कारण आपूmजस्ता धेरैले प्रवासी जीवन बिताउनु परेको पीडा ओकल्दै उनीहरूलाई अब तयस्तो हुन नदिन खबरदारी गरेका छन् । सङ्ग्रहभित्रकै सर्वोत्कृष्ट दुई कविताहरूमध्ये ‘न्यास्रो जन्मभूमिको’ मा जन्मभूमिप्रतिको श्रध्दाभाव छचल्किएको छ र मौलिक धर्म, संस्कृति, परम्परा, प्राकृतिक सम्पदाप्रति उनी स्नेहाशिक्त देखिन्छन् भने ‘पारिजात र काठमाडौ’ कवितामा आधुुनिकताका नाउँमा मुलुकका सबै सम्पदाहरूको दोहोलो काढेको कुरालाई बडो मर्मस्पर्शी र कलात्पक रूपमा प्रस्तुत गरेका छन् ।
त्यस्तै देश भावनामा बाँच्छ भन्दै भौगोलिक दूरीसँगै भावनात्मकतामा देशभक्ति गाढा हुँदै जाने कुरा कवितामा उनले उल्लेख गरेका छन् । त्यसैगरी प्रवासमा पनि जन्मभूमिको माया सल्बलाउने यथार्थ कवितामा पस्किएका छन् ।
यसरी कुल १३३ पृष्ठ (यदि अन्तिम पृष्ठ १३३ नै हो भने) को यस कविता सङ्ग्रहमा सङ्ग्रहित उपलब्ध कविताहरुबाट राष्ट्रप्रतिको भावना सम्वेदनशील रूपमा उजागर गरेका छन् । भावविधान, विम्वविधान, प्रतीकहरूको प्रयोग र शिल्पका हिसाबले प्रस्तुत कविताहरू राम्रा छन् । प्रवासी नेपालीहरूको साझा मनोदशालाई कविले सफलतापूर्वक कवितामा उतारेका छन् । यसका लागि कवि धन्यवादका पात्र छन् ।
अन्तमा,
‘जहाँ जाउ उतै जान्छ नेपालीपन आखिर
बासले मात्र के हुन्छ ? मनै हो सबको घर’
भन्दै कवि आचार्यबाट यो भन्दा अझै उत्कृष्ट सिर्जनाहरूको अपेक्षासहित शुभेच्छा प्रकट गर्दछु । अस्तु ।