एउटी राम्री नर्स पाए बिहे गर्ने, नत्र कुमारै बस्ने भनेर भीष्म प्रतिज्ञा गरेका थिए कुमार कार्कीले।
पैंतीसका भइसकेका थिए तर बिहे भएको थिएन। उनका दौतरीहरु सबैको तीस नपुग्दै बिहे भइसकेको थियो। कतिका त छोराछोरी पनि थिए। तर कुमार भने अझै कुमारै थिए। बिहे गर्ने उमेर ढल्की सकेको थियो। ‘नाम पनि कुमार, काम पनि कुमार’ भने जस्तो हुने हो कि भन्ने डरले भित्र भित्र सताउन थालेको थियो।
ठूलाबाका छोरा अभिषेकले नर्ससँग बिहे गरेर अमेरिका बस्दै आएका थिए। अमेरिकामा नर्सले निकै कमाउँछन् भन्ने चर्चा थियो। अभिषेकको सम्पन्नतामा नर्स भाउज्यू को ठूलो हात रहेको कुराको गाउँभरि चर्चा हुन्थ्यो। उनीहरुको सम्पन्नता देखेर कुमारलाई पनि एउटी नर्स बिहे गरेर अमेरिका जान मन लागेको थियो। तर भाग्यले उनको यो इच्छा पुरा गरेको थिएन।
एक महिनाअघि कुमार सुर्खेतको एउटा जलविद्युत योजनाको प्रोजेक्ट मेनेजरमा नियुक्त भइ आएका थिए। पदमा बहाली भएकै दिन उनले योजनाको ठेक्का शर्तहरु राम्ररी पढे। निर्माण कार्य जटिल थियो। पहरा काट्नु पर्ने, सुरुँगमा काम गर्नु पर्ने, फलामको काम गर्नु पर्ने, बिजुलीको काम आदि गर्नु पर्ने भएकोले कामदारहरुमा जोखिम बढी नै थियो। करीब सयजना कामदारहरुले काम गरिरहेका थिए। चोटपटकको सम्भावना भइनै रहने हुँदा ठेक्का शर्तमै एउटा नर्स को दरबन्दी हुनुपर्ने कुरा उल्लेख थियो।
कुमार का आँखा ‘नर्स’ को त्यो दरबन्दिमा गएर टक्क अडियो। दरबन्दि भएता पनि हालसम्म त्यो दरबन्दि पूर्ती भएको थिएन। मनमनै एउटा आश पलायो, ‘दैवले मेरो जोडि जुटाइदिए जस्तो छ, कुरा मिले यही असार महिना भित्र जसरी पनि घरजाम गर्नु पर्ला’।
ठेक्कापट्टाको शर्त उल्लेख गर्दै भोलीपल्टै उनले केन्द्रलाई एउटा पत्र पठाए।
“कामदारहरु जटील परिस्थितीमा काम गरिरहेको हुँदा चोटपटको सम्भावना बढीनै भएकोले आवश्यक औषधीहरुका साथ एउटा नर्सको अबिलम्ब ब्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु।“
योजनाको नारा नै ‘सेफ्टी फस्ट’ अर्थात सुरक्षा पहिले भन्ने थियो। कामदारहरुको सुरक्षाको बिषय भएकोले केन्द्रले पनि पत्र प्राप्त हुने बित्तिकै आवश्यक औषधी सहित योजनामा एउटा नर्स खटाउने निर्णय गर्यो। पत्र पठाएको पन्ध्र दिन भित्रै कुमारलाई केन्द्रको पत्र प्राप्त भयो। त्यसमा यस्तो लेखिएको थियो।
“कामदारहरुको सुरक्षा तथा तपाँइको अनुरोधलाई बिचार गर्दै, बैसाख एक गते देखि हाजीर हुन आउने गरी नर्स श्री दुर्गा कार्कीलाई त्यस योजनामा खटाउने निर्णय भएको ब्यहोरा जानकारी गराइन्छ। त्यस अगावै बिरामीहरुको उपचारका लागि एउटा क्लीनिक र दुर्गाजी लाई बस्ने एउटा क्वाटरको ब्यवस्था गर्नुहुन अनुरोध छ।”
‘सुश्री लाई पनि के को ‘श्री’ लेखेको होला ! आजकलका टाइपिष्टहरु गतिलो सँग टाइप पनि गर्न जान्दैनन्’ उनले मनमनै भने। नर्सको दरबन्दि स्वीकृत भएको देखेर कुमारका आँखा उज्याला देखिए। उनले त्यस पत्रलाई दोहोर्याएर पढे। दुर्गा कार्की। आहा! कति राम्रो नाम। थर पनि एउटै। यसपाली भगवानले जोडि मिलाएरै छोड्ने भए भनेर दंग परे।
उनी तुरुन्तै सपनाको दुनियामा हराए। बिहेका बाजा बजिरहेका छन्। उनी दुलहा र दुर्गा दुलही बनेर मण्डपमा बसीरहेका छन्। उनी दुर्गालाइ कर्के नजरले हेर्दै छन्। दुर्गाले लजाउँदै उनलाई हेरिरहेकी छन्। पण्डितले वेदका ऋचा पढिरहेका छन्। साथीभाइहरुले जिस्काइ रहेका छन्। कुमार दंग छन्।
‘पीएम् सा’ब’ को आवाज सँगै उनी झसँग भए।
“क्या हो पीएम् सा’ब! यति बोलाउँदा पनि नसुन्ने? कहाँ हराउनु भएको थियो ?” साइट इन्जिनियरले अगाडि उभिएर उनलाई बोलाइ रहेको थियो।
“केही होइन इन्जिनियर सा’ब एक छिन यसो टोलाएँछु।”
“साइटमा एकजना कामदारलाई चोट लागेछ तुरुन्त जानु पर्यो।”
‘ए हो र ? ठूलो चोट त हैन नी ?
‘हैन साधारण चोट हो तर पनि हामी त्यहाँ जानुपर्छ पीएम् साब’ इन्जिनियरले भने।
दुवैजना साइट तर्फ लागे। बाटोमा कुमारले भने, ‘एउटा नर्स पठाउन भनेर केन्द्रलाई कति लेखिपछी, बल्ल हाम्रो योजनामा एउटा नर्स आउनी भएकी छन् नी, थाहा पाउनु भयो इन्जिनियर सा’ब?’
चैत महिना सकिदैँ थियो। कुमार आफ्नो कार्यालयमा काम गर्दै थिए। नर्स आउन अब केही दिन मात्र बाँकी थियो। दश दिन भित्र क्लिनिक र नर्स क्वाटरको फर्निसिङ सक्नै पर्ने थियो। तर कुमार भने सपनाको दुनियामा हराइरहेका थिए।
दुर्गा र उनी नजिकैको सल्ले डाँडा घुम्न गएका छन्। उनले दुर्गाको हात समातेका छन्। डाँडाको चौतारीमा सल्लाघारीको सुसाइले उनीहरु मन्त्रमुग्ध भएका छन्। पहाडको शितल तथा स्वच्छ हावाले उनीहरुलाई आनन्द दिइरहेको छ।
बाहिरबाट कार्यालय सहयोगिको आवाज आयो “पीएम् सा’ब!”
उनी झसँग भए। कार्यालय सहयोगिलाई बोलाउँदै भने, “भित्रै आउन रामजी”
“केन्द्रबाट एउटा चिठ्ठी आएको रहेछ सर।”
उनले रामजीको हातबाट चिठी लिएर पढे।
“बैसाख एक गते त्यस कार्यालयमा हाजिर हुन जान लाग्नु भएका नर्स श्री दुर्गा कार्की लाई लिन नेपालगँज एयर पोर्टमा एउटा गाडी पठाइ दिनु होला।“
कुमार ले मनमनै भने, “गाडी पठाउने हैन; काजी आँफै गाडि लिएर उनलाई लिन जान्छ।”
भोलीपल्ट नयाँ बर्षको विदा थियो। चैत तीस गते नै कुमार नेपालगँज झरे। भोलीपल्ट समय भन्दा पहिलै एयरपोर्ट पुगे। नेपालगँजको मौसम सफा थियो। काठमाण्डौंबाट आएको हवाइजहाज पनि समय मै नेपालगँज एयरपोर्टमा ओर्लियो। कुमार दुर्गालाई भेट्न निकै आतुर थिए। उनी फेरी पनि सपनाको सँसारमा हराउन पुगे।
उनले दुर्गालाई लिएर बागिश्वरी मन्दिर घुम्न गएका छन्। दुवैजनाले बागिश्वरी भगवतीको पूजा गर्दैछन्। पूजा सकिएपछि दुवैजना मन्दिरको फुलबारीमा घुम्न जान्छन्। दुर्गाले उनको छातीमा टाउको अड्याइकी छन्। उनी दुर्गाको कपाल मुसारी रहेका छन्। दुवैजना स्वप्नील सँसारमा हराइरहेका छन्।
यतिकैमा एउटा आवाजले उनी झसँग भए। श्याम वर्ण र कालो मोटो जुँगा भएको एउटा अपरिचित युवा उनको अगाडि उभिएर उनलाई सोधिरहेको थियो, “तपाँइ सुर्खेत जलबिद्युत को पीएम हैन ?”
“हो”, उनले भने।
“नमस्कार पीएम् सा’ब, म तपाइँको योजनाको नर्स दुर्गा कार्की।”
कुमारको पाइताला मुनीको जमीन भासीयो, सपना चकनाचुर भयो।
(कथाकार सिँचाइ बिभागका सिनीयर डिभिजनल इन्जिनियर हुन् )