सूर्योदय हुनुभन्दा अगाडि
गैरिखेतमा पुगेर घाँसको भारी
ल्याउँदै गर्दा
थकित तिम्रो अनुहार पढेर
मैले कहिल्ल्यै ठम्याउन सकिनँ बा,
त्यतीबेला तिम्रो शीरमा
भारीको बोझ थियो या कर्तव्यको?
संसारको सबै दु:खको भारी
आफ्नै शिरमाथि चढाएर
मलाई सन्सारकै सबैभन्दा योग्य मान्छे
बनाउन
तिमीले देखेका सपनाहरू,
मैले गरेका गल्तिमा आफ्नो दोष देख्दै
गरेका थोरै प्रगतीका लागि सगरमाथा
चुमे झै
तिमीले दिने हौसलाको शब्दको
मूल्य कसरी चुकाउ मैले?
थाहा छैन तिम्रो शिरमाथिको
कर्तव्यको भारिको बोझ
कुन हदसम्म थाम्न सकौंला मैले?
तिम्रा थकित आँखाको भाव
कुन तहसम्म पढ्न सकौंला मैले,
तिम्रो मुटुमा रहेको पिरको ब्यथा
कति गहिराईसम्म हटाउन सकौंला मैले?
प्रिय बा,
सधै यही एउटा कुराको डर
रहन्छ यो मनमा,
तिम्रै काँधमाथि चढेर म खुशी हेरौं
र तिम्रो आँखामा आँशुको कारण बने भने?
तिम्रा हात समाई पाइला सार्न सिकेकी म
बुढेसकालमा तिम्रो पाइला सार्ने साहारा बन्न
सकिन भने?
बाल्यकालको मेरो तोते बोलीलाई
मैले भन्न खोजेकै अर्थमा तिमीले बुझेझैं
बुढेसकालमा ओठ थरथराएर कापेको तिम्रो
आवाजको भाव
मैल बुझ्न सकिन भने?
मेरो बाबा
यी सबै हुनुभन्दा अगाडि बरू
म आफैं मरौं,
तिम्रो मनले अपमानको पीडा भन्दा
बियोगको पीडा सहन सक्छ कि?