प्रिय श्रीमान,
सायद हुन सक्छ
तिमीले पनि मलाई
मैले झै प्रिय ठान्छौं।
तर,
तिमी जत्तिकै समान
अहँ कहिल्यै ठानेनौं।
अधिकार दिन किन कन्जुस्याई?
रथका ती पाङ्ग्राझैं समान हुनुपर्ने होइन र ?
खैर छाडिदेऊ,
अझै केही बिग्रेको छैन ,
वर्षौदेखि सुन्दै आएको
पति पत्नी रथका दुई पाङ्ग्रा
भनाईमा मात्रै सीमित नबनाऊ।
म यो भन्दिनँ कि
तिमी मलाई देवी झै पुज
तर यत्ति बुझ
साथ दिएको बाहानामा
नधकेल मलाई
पुरातनवादी सोचको दलदलमा
तिमीसँग काधमा काध मिलाई
अघि बढ्न देउ ।
मेरा लम्किएका पाइलालाई
पैतालामुनि दाब्न नखोज ।
तिमीले झै मलाई पनि संसार चियाउनु छ
बुझ्नु छ, अनुभव गर्नु छ ।
अवसर देउ मलाई पनि
बन्दी नबनाउ आफ्नै घरको ।
सत्ये,
तिम्रो पाइलामा पाइला चाल्ने
सामर्थ्य छ
संस्कार र समाजको
नमरुपी डोरीले
नबधिदेउ मेरा हातखुट्टा,
उत्साह, जोस र चाहाना ।
प्रिय श्रीमान
मलाई सन्तान प्राप्ति र
यौनसुखका निम्ति मात्र नखुम्चयाउ,
मेरो अस्तित्व जत्ति छ
फैलन देउ त्यत्ति नै ।
प्रिय श्रीमान,
मलाई प्रेम मात्र पनि नखन्याऊ
एउटा अबोधलाई जसरी,
नसम्झ मात्र सुकोमल गुलाफ झै पनि
बन्न देऊ हिलोमा फुल्न सक्ने कमलको
डाठ जसरी कडा पनि ।
आऊ हातमा हात मिलाऊ
सक्छौ सहयोग गर
तर, बिन्ती
अवरोध पनि नबन ।
सत्ये,
तिम्रो कदम मा कदम मिलाउन देऊ
आदि मानवबाट जसरी
नरीको प्रेमले सवश्रेष्ठ बनेउ
जसरी म जस्तैको कोखबाट जन्मियौ,
स्तनपान गरेर शक्ति प्राप्त गरेउ,
अब अलिकति बुद्धिमान पनि बनिदेऊ
जसरी मैले तिम्रो अस्तित्व जोगाएकि छु
मेरो अस्तित्वलाई पनि स्वीकारिदेऊ
पाठ मात्रै नघोकाउ मलाई कर्तब्यको
बाँच्न पनि देउ तिमी सरह ।