‘चिरविर, चिरविर, च्यार, च्यार, काग, काग, चिरविर, चिरिविर, काग, काग, काग, च्यार’, कस्तो हल्ला गरेको होला आज बिहानैदेखि। अहो! घाम पो लागिसकेछ। कस्तो धेरै हल्ला भईरहेको रहेछ। चराहरु हल्ला गर्दै यत्तिकै उडिरहेको रहेछन्। मेरा मित्रहरू पनि काग काग गर्दै खुसी हुँदै घुमिरहेको देखियो। आ अब म पनि यसो डुल्छु भनि गुँडबाट यसो उडेको त बस्तीमा मानिसहरु समेत काग, काग भन्दै बोलाई रहेको सुनेँ।
उनीहरु केही खानेकुरा र फूल राखी काग, काग भनी खानका लागि आग्रह गरिरहेका थिए। जता हेर्यो त्यतै आग्रह, आहा !
***
एक दिन उड्दै गर्दा ठूलो आवाज गर्दै उउटा ठूलो चरा जस्तै आयो। छेउमा के पुगेको थिएँ, त्यस हल्लावाजको (हवाइजहाज) बेगले मलाई नै हुत्याएर हल्का घाईते बनायो। त्यो के होला भनेर साथीलाई भनि लिएर गएको त अन्यत्र भन्दा त्यता नै धेरै खानेकुराहरु (विशेष गरी मासुका टुक्राहरु र किरा फट्यांग्राहरु) पाईयो। अनि हामी धेरै साथीहरु रमाउँदै काग, काग भन्दै सोही ठाउँ आसपास बस्न थाल्यौ। धेरैले गुँड पनि त्यही आसपासमा बनाउन हानथाप चल्यो।
तर एकदिन त्यही हल्लावाज चरासंग ठोकिएर साथीको मृत्यू भयो अर्को साथी घाईते भयो। भोलीपल्ट देखि त हामीलाई खेद्न मान्छेको लर्को लागेर आए। गुलेली र गोलीबाट कति साथीहरु त मरे नै। बाँच्न मुश्किल पर्ने देखिए पछि त्यो ठाँउ छोड्न बाध्य भईयो तैपनि कहिले काहीँ खानेकुरा नपाउँदा मौका छोपी खुसुक्क सो ठाँउमा पुग्ने गरेको छु। त्यो ठाँउको (एयरपोर्ट) त मासुको गन्ध नै मिठो। बस्ती का पनि चोक चोकमा खानेकुराहरु प्रायः पाईन्छ तर बढी सडेका र कुहिएका हुन्छन्। मानिस त किन हो हाम्रो खेदो नै गर्दछन्। अरु जातीलाई, तै रुचाएको जस्तो देखिन्छ तर हामीले बोल्नै नहुने। काग काग गर्न पाएको छैन लाठी वा ढुंगा बसिएहाल्छ।
एकपटक एउटा घरको नजिकै एउटा ठूलो राम्रो रुख रहेछ बस्ने मनसुवा गरेर बसी यसो काग काग भनेको मात्र थिए फेरी आयो अलच्छिन काग भन्दै झटारो बर्सिहाल्यो। ज्यान जोगाउन उडियो। तर रुख राम्रो लागेकोले बारम्बार गइनै राख्थे र नबोली नियाली बस्थे। यसो खानेकुरा पनि बेलाबेलामा फालेको भेट्टाईन्थ्यो। एकपटक गुँड बनाउने प्रयास गर्दैथिएँ त्यो रुखमा तर आधाउधी बनाउँदै गर्दा एक जना रुख चढी भत्काउँदै गरेको देखेँ र फत्फताउँदै थियो, यो कागले अलच्छिन निम्त्याउँछ, दशा लाग्छ, खराब समाचार ल्याउँछ आदी इत्यादी।
म त टुलुटुलु हेरी राखे मात्र, केही गर्न सकिन अनी सोचें, हामी र उनीहरुको भाग्यमा के सम्बन्ध छ होला ? राम्रो नराम्रो काम गर्ने उनीहरु अनि दोष जती हामीलाई ? के काग नकराएको घरमा केही घटना, दुर्घटना, भवितब्य, मृत्यू नै हुदैन ? हामीले चाहीँ के गल्ती गर्छौँ जसले गर्दा हामीलाई अलच्छिन भनिन्छ। अनि ढुंगा, लट्ठी, गोली आदि बर्सिन्छ ? एक त हाम्रो खाना घटिरहेको छ अनि फालेको सडेगलेकोमा गुजारा गर्नुछ अनि फेरी त्यही खान पनि पल पलमा मृत्यूसँग संघर्ष गर्नुपर्छ।
यही क्रममा यो पाँच वर्षको आयुमा पटक पटक जिवन संगिनिहरु हरु र अति मिल्ने साथीहरु गुमाउन परिसक्यो। अग्रजहरुको अनुसार १० वर्ष अघि सम्म टाढा टाढा देख्न सकिन्थ्यो, धुंवा धुलो धेरै कम थियो, अलीच्छन त भन्थे तर हामीलाइ पनि त्यती उनीहरुको बस्तीमा जान आवश्यक थिएन रे। तर अहिले जताततै घर जंगल फडानी गर्दै बाटोघाटो रोड अनी के के बनाउंछन। हाम्रो जनसंख्या घट्दो क्रममा छ। तर ढुंगा र लाठीको वर्ष पनि उत्तिकै।
***
तर आज वर्षमा एक दिन काग काग (काग तिहारमा) भन्दै खाना देखाउंदै नाटक रच्छ मानिस। रुख भन्दा ठूला ठूला घरको छतमा बसेर उल्टो काग, काग भनी बोलाउँछ अनि खाईदिन आग्रह गर्दछ। के गर्नु एकदिन सबै खान पनि नसकिने अनि एकदिन खाएर ३६४ दिनलाई पनि नपुग्ने। तर बरु १०० दिन नै भए पनि यसरी खान दिने भए। कम्तिमा, अलच्छिन भनेर नखेदे कति रमाईलो हुन्थ्यो होला हाम्रो जीवन। आहा !