मलाई त लाग्छ जीवन नै एक पाठशाला हो। हामीले आफूले भोगेका देखेका घटना परिघटनाले हामीलाई हरेक दिन केही न केही सिकाइरहेको हुन्छ। भनाइ नै छ ‘कि पढेर जानिन्छ, कि परेर।’ हुन पनि आफूले भोगेको जीवनलाई अरुले उतारेका शब्दहरुमा पढ्दा यो मेरै कहानी पो हो कि मेरै लागि लेखिएको हो कि भन्ने अनुभव हुन्छ।
साहित्य जीवनलाई पूरा छर्लङ्ग शब्दमा उतार्ने विधा हो। चाहे गद्य साहित्य होस् या पध्य यसले कहिँ न कहिँ कसैको जीवन बोकिरहेकै हुन्छ। साहित्यले मानिसको जीवनलाई एक्लो महसुस हुन् दिँदैन। म स्वयंलाई पनि पुस्तकहरु पढ्दै जाने क्रममा यो पात्र म नै हुँ कि मेरै परिवारका सदस्य हुन् या मैले चिने जानेका पात्रहरू हुन भन्ने अनुभव गराएको धेरै उदाहरणहरु छन्।
यसै क्रममा कान्तिपुर दैनिकमा डेढ दशकदेखि कलम चलाउँदै आएका पत्रकार/लेखक दामोदर न्यौपानेको ‘स्कुल बेच्ने बालक’ दोहोर्याएर पढेँ।
आफ्नो पत्रकारिताको धर्म निभाउँदै बालबालिकाका विषयमा निरन्तर कलम चलाउँदै आएका न्यौपानेका हालसम्म ५ वटा कृति प्रकाशित भइसकेका छन्। जसमा ‘एम्बुसमा ६ बर्ष’ (२०७०) द्वन्द्वकालिन समयमा आफूले देखे भोगेका द्वन्द्वको जर्जर अवस्थालाई जस्ताको त्यस्तै उतारिएको दस्तावेज जस्तो लाग्छ।
अन्य पुस्तक ‘कर्म सिकाइमा गहिराईको खाडल’ (२०७३) ‘ट्यालेन्ट सो’ (२०७४) र ‘स्कुल बेच्ने बालक’ २०७५ असार, लगातार ४ वटा पुस्तक बालबालिकालाई केन्द्रमा राखेर लेख्नु या प्रमुख पात्र नै बालबालिकालाई बनाएर तिनीहरूमाथि समय र शब्द खर्चिनुले पनि उनको बालबालिकाप्रतिको लगावलाई प्रष्ट पार्छ।
साना र सामान्य ठानिएका विषयलाई न्यायपूर्ण ढंगले स्थान दिनसक्नु उनको लेखकीय विशेषता हो। समाजशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी द्वन्द्व, बालबालिका र सामाजिक विषयमा दख्खल राख्छन्। न्यौपानेका हालसम्म प्रकाशित ५ वटै पुस्तकलाई अध्ययन गरेकी छु। त्यसमध्ये पनि ‘स्कुल बेच्ने बालक’ (२०७५) मा उनले आफ्नो छोरो हार्दिकलाई नै मुख्य पात्र बनाएर उसकै सेरोफेरोमा बालमनोविज्ञानका बारेमा हामी जस्ता पाठकलाई बालबालिकाका बारेमा बुझौं र सुनौं भन्दै हामीलाई सामान्य लागेका कुराहरुलाई गहन रुपमा सरल भाषा शैलीमा लेखेका छन्।
स्कुल बेच्ने बालक पढ्ने क्रममा सामान्य रुपमा हामीले बालबालिकालाई कसरी हुर्काउनुपर्ने हो र हामीले हुर्काइरहेका छौं? प्यारेन्टिङ्ग जस्तो सूक्ष्म विषय तर गहन र जटिल पनि। यिनै कुरालाई आफूले देखे भोगेका र आफ्नो छोरा हुर्काउने क्रममा उसका र आफ्ना भोगाइलाई यश कृतिमा उतारिएको पाएँ।
लेखकले आफ्नो छोराको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, संबेगात्मक र भावनात्मक विकासका हरेक पाटाहरुलाई उल्लेख्य गरेका छन्। यो पुस्तकमा उनले आफ्नो छोराका बारेमा मात्रै लेखेका छन् भनेर कतै पनि लागेन। यो पुस्तक पढिरहदा यो त मेरो छोरीले पनि भनेको थिइन् है छोरीले भन्दा किन मैले बुझेर पनि बालमनोविज्ञान अनुसार उनलाई व्यवहार गर्न सकिन भन्ने हुन्छ। हार्दिक यश पुस्तकको मुख्य पात्रको संवादलाई मिठासपूर्ण रुपमा प्रस्तुत गरिएको छ। हरेक घरमा हरेक दिन बाबुआमा र बालबालिकाको कथा हो स्कुल बेच्न बालकको विषयवस्तु। यस पुस्तकमा भएका प्रायजसो संवादहरु मैले पहिला पनि लेखकको फेसबुक वालबाट पढिसकेको थिएँ। तर, पुस्तकमा पढ्दा अझै आफ्नो हाँसो थाम्न सकिन र फेरि आफ्नै छोरीले गर्ने व्यवहार आनीबानी सम्झिन पुगेँ। अहो! हो त सबै बालबालिकाले यस्तै व्यवहार त देखाउछन् भनेर पुनर्ताजगी गरायो। हार्दिक - बाबा मलाई ममी र ठूलोममीले रुवाउनु भयो।
बाबाः- किन रुवाए त? के भयो छोरो? हार्दिक- मैले ममीलाई कुचोले हिर्काइँदिए........... पृष्ठ नं. (४७)।
झ्यालबाट इना दिदी हेरिराखेकी थिइन्। ‘ममीलाई बोलाइदेऊ इना बुने" हार्दिकले आदेशात्मक शैलीमा भने। उसको अनुहार रिसाएको थियो । हस् भन्दै इना बोलाउन गइन। ममीपनि झ्यालमा आउनुभयो। तल आइज, हार्दिकले फेरि आदेश दिए पृष्ठ (४८) ।
यो संवाद पढ्दा यो बालकको बोल्ने शैली र क्षमता हेर्दा बेजोड लाग्छ। यस्ता संवाद संवेगलाई यी बालकले मात्रै देखाउने बोल्ने हैनन्।
हरेक बालबालिकामा यस्ता संवेग देखा पर्छन् र यस्ता किसिमका व्यवहार प्रदर्शन गर्छन तर यसलाई हामीले कसरी सामान्य रुपमा लिने र कसरी यसलाई सुधार्न सकिन्छ भन्ने कुरा मुख्य हुन्छ । जुन कुरा यो पुस्तकमा मैले पाएकी छु। सुरुसुरुमा मेरो छोरीपनि स्कुल जान मान्दिन थिइन् । यो मेरो छोरीको मात्रै समस्या हो कि स्कुल नै परिवर्तन पो गर्नुपर्छ कि भन्ने विचार मेरो मनमा पनि नआएको हैन! परिवार र स्कुलले राम्रो काउन्सिलिङ्ग गर्यो भने पछि केटाकेटीहरु रमाएर स्कुल जाने रहेछन् भन्ने अनुभव मैले केही मात्रामा आफ्नै अनुभवबाट सिकेकी थिँए। स्कुल बेच्ने बालक शीर्षक मै स्पष्ट छ। सुरुका दिनमा स्कुल जान नमान्ने बालकले बरु स्कुल नै बेचिदिन्छु। स्कुल बेचेपछि स्कुल नै जानू पर्दैन भन्ने बालमनोविज्ञानबाट निस्केको कुरालाई लेखकले कहिं दोहोरो संवाद , कहिँ पूर्वीय दर्शन त कहिँ पश्चिमा दर्शनको उदाहरण दिदै बाबुआमा र परिवारले आफ्ना बालबालिकालाई कसरी हुर्काउनु पर्ने हो र कसरी हुर्काउदै छौं भन्ने बिबिध उदाहरण यश पुस्तकका पाईन्छ।
हामी हरेकका घरमा बालबालिका छन् । हार्दिक एउटा प्रतिनिधि पात्र मात्र हुन। हाम्रा घरका बालबालिका पढेन्न खेली मात्रै रहे टिभि मात्रै हेरिरहे भनेको मानेनन् भन्छौं तर यसका लागि के हामीले उनीहरूलाई वातावरण सिर्जना गरिदिएका छौं। बालबालिकाले गृर्हकार्य गर्ने समयमा अभिभावक टेलिभिजनमा व्यस्त हुन्छौं, मोवाइलमा व्यस्त हुन्छौं भने उनीहरूले कसरी पढुन्। बालबालिकाको पढ्ने खेल्ने खाने सुत्ने समय निश्चित हुनुपर्छ।
यदि उनीहरूले आफ्ना दैनिकी समयमा गर्दैनन् भने अभिभावकले सिकाउनु पर्छ भन्ने कुरालाई संवादबाटै सरल भाषामा लेखिएको पुस्तक हो स्कुल बेच्ने बालक ! स्कुल बेच्ने बालकमा बालमनोविज्ञान जान्न र बुझ्नका लागि लेखक विभिन्न विद्धान शिक्षाविद् बालमनोवैज्ञानिक, बालबालिकाका क्षेत्रमा काम गर्ने व्यक्तिहरुका भनाइ र अनुभवलाई पनि उल्लेख्य गरेका छन।
शिक्षाविद् प्राडा सुरेसराज शर्माः- ज्ञान सधैं एकैनास हुँदैन। एकपटक जानेको ज्ञान सधैं काम लाग्दैन । अनुहार बदलिए जस्तै ज्ञान पनि बदलिन्छ। ज्ञान लिन अध्ययन गरिरहनु पर्दछ। शिक्षकमा अहिले देखिएको समस्या यहि हो। पेज नं. (२०७)।
बालबालिकाहरू सुरुसुरुमा स्कुल जान मन पराउदैन्न। उनीहरूमा चाहिनेभन्दा बढी संवेगको मात्रा हुन्छ । यस्ता संवेगलाई कसरी कम गर्दै बालबालिकालाई जिम्मेवार बनाउन सकिन्छ भन्ने कुराका विविध उदाहरणहरु यश पुस्तकमा छन्। उमेरसँगै अनेकौं तनाव चिन्ताले सताउने गर्छ। यहि कारणले कहिलेकाही केटाकेटीसँग विनाकारण झर्कने रिसाउने गर्छौं। म पनि कयौंपटक यसरी नै छोरीले जिज्ञासा राख्दा छोरीसँग रिसाउछु। मेरो यहि बानीले पछि मलाई नै पछुतो लाग्छ। बालमनोविज्ञान पढेकी छु केही बुझेकी पनि छु र पनि छोरीले केहि जिज्ञासा राख्दा आफ्ना माग पूरा गर्न जिद्दी गर्दा किन उनलाई बुझाउन सकिन्? यो गलत हो थाहा थियो। यो पुस्तक पढेपछि अझै गलत गरिछु भन्ने अनुभव भयो। छोरीले पनि म रिसाउँदा स्कुल बेच्ने बालक पढ्ने अनि यसरी रिसाउने किन पढेको भन्दै कयौंपटक पटक किताब चियात्न खोजेकी छन्। यो बाट के बुझेँभने केटाकेटीले पनि हाम्रा व्यवहारलाई सुक्ष्मरुपमा अवलोकन गरेका हुँदारहेछन्। उनीहरूलाई हामीले सामान्य ठान्छौं। सामान्य रुपमा व्यवहार गर्छौं त्यो गलत हो। स्कुल बेच्ने बालक हाम्रो शिक्षा निति प्रणालीमा भएका समस्याका कुरादेखि यसलाई कसरी सुधार्न सकिन्छ भन्ने सम्मको कुरा उठाएको छ। लेखकले हार्दिकको कुराकानिलाइ मनोबिज्ञानमा जोडेर बिश्लेषण गरेका छन । कतै शिक्षाका सिधान्तसँग लगेर जोडेका छन । कतै शिक्षा दिने हाम्रो परम्परा जोडेका छन्।
कतै हामि अभिभावकले बालबालिकामा गर्न ब्यबहारमा जोडेका छन्। अनेक अनेक शिक्षा र सिकाइका सिद्धान्तसँग जोडेका छन्। बाल संवेगलाई जोड्दै यस पुस्तकका पात्र हार्दिकले कहिले माया गर्छ; कहिले रिसाउछ ! कहिले घुर्क्याउछ ! कहिले खुसी हुन्छ । यो मान्छेको संवेग हो । यी संवेगलाई मिहिन तरिकाले देखाइएको छ । बालबालिका काचो माटो हुन्। उनीहरूलाई हामीले जस्तो बनायो त्यस्तै बन्दछन्। उनीहरूलाई हामीले जस्तो व्यवहार गर्छौं त्यस्तै हामीले उनीहरूबाट फिर्ता पाउने हो। आफुले आफ्ना छोरीछोरीलाई जति गर्न सक्छौं त्यो गर्नुपर्छ। चाहे उनीहरूलाई हामीले समय दिँऊ या उनीहरूका भौतिक आबश्यकताहरु आफ्नो गच्छेअनुसार खर्च गर्छौं त्यो खर्च नभएर उनीहरूमाथि गरिएको लगानी हो भन्ने कुरालाई लेखकले भिन्न उदाहरण र संवादबाट व्यक्त गरेका छन्। पढ्दा सुन्दा कतिपयलाई सामान्य लाग्ला तर बालबालिकालाई हामीले गर्नु पर्ने व्यवहार भने यस्तै नै हो। हुर्काउने बढाउने तरिका पनि यहि नै हो। बालबालिका सुनौं र बुझौं भन्ने अभियानको सुरुवात जस्तो लाग्छ ‘स्कुल बेच्ने बालक’ (२०७५)। बालबालिकाका सबैलाई पियारो र बालबालिका हुर्काउने र उनीहरूलाई गर्ने व्यवहार संवेदनशील पनि हुन्छ। यहि कुरालाई नजिकबाट बुझेकाले पनि होला बालबालिका सम्बन्धि पुस्तक बाल साहित्यको खडेरी परिरहेका बेला पत्रकार एवम् लेखक न्यौपानेका ४ वटा पुस्तक बालबालिकाका विषयमा लेखिनु सुखद पाटो हो। स्कुल बेच्ने बालकको दोस्रो संस्करण निस्कदै छ । यसका लागि लेखकलाई बधाई तथा शुभकामना । बालबालिकाका विषयमा उठेको कलमले रफतार समातिरहोस् शुभकामना ।।