म त्यो देशको नागरिक हो,
जो देश छिर्न महाकालीमा
हाम फाल्नु पर्छ।
ऋण चुलिएर तिर्न नसक्दा
दिन रात गिट्टी कुट्ने त्यही नदीको
भेल कुर्नु पर्छ ।
ताकी
त्रिशुलीमा हाफ फाल्दा
साहूले अस्तु देखाएर
परिवारलाई उठ्ठा नपारोस् ।
हरेक वर्ष तराईमा आउने
बाढीको मिति सम्म
थाहा छ शासकलाई
तर
छाप्रोमा पानी पसे पछि
मजेरीमा कुवा बने पछि
जुनको उज्यालो
फाटेको छानाबाट
ओछ्यानमा छिरे पछि
अनि शासकले भन्छ
भारतले महाकालीको ढोका खोल्यो
ल हेर मेरो शक्ति।
भूकम्प गयो ,
घर गाउँमा धेरै भत्किए
सहरमा पाल बाँडियो,
गाउँमा गारा चर्किए ,
सहरका भित्तामा छिना ठोक्कियो,
राहतका लागि गाउँमा हुनेलाई
विदेशको श्रीमान् बोलाउ भनियो
तर
सहरमा संसदका श्रीमान देखि
अदालतका श्रीमान सम्मलाई
बिना श्रीमती राहत बाँडियो।
देश पस्ने नाकामा दूधे
बच्चा च्याप्दै आमा भन्छिन्
‘मलाई मेरो घर जान देऊ।’
तर
प्रहरी भन्छ माथिको आदेश छैन
प्रहरीलाई माथिको आदेश नआइपुग्दै,
तलको बच्चा माथि पुगि सक्छ,
अनि शासक भन्छ
सुत्केरीलाई हेलिकप्टरबाट
काठमाडौं झिका।
सुन्दैछु,
आर्यघाटमा
लास कम हरेक दिन,
कतै सम्बन्ध पो छ कि
छोड्दा निजी
अस्पतालले
बिरामी लिन।
म त्यस्तो देशको नागरिक हो
जो विवेक सबै बन्धकीमा राखी,
विपतमा पनि कमिसन खान्छ,
३५४ दिन नेता सरापेर ६५ औं
दिन लाम लागेर उसैलाई भोट हाल्छ,
म अनुसार देश हो कि
देश अनुसारको
म हुँ ,
म त्यो देशको नागरिक हु,
जहाँ जे गरे पनि छुट छ
सानालाई कुट्छ
ठूलालाई लुट्छ ।