मुखिया बा जगतपुर गाउँको मुखिया हुनुभएको तीन वर्ष भयो। मुखिया बाको मुखिया हुनका लागि जगतपुर गाउँलाई लिएर एउटा मात्रै लक्ष्य थियो- पल्लो गाउँसँग जोड्न सिमखोलामा पुल हाल्ने।
उनको यो लक्ष्य मन परेरै त्यसै गाउँका मुखियाका अर्का उम्मेदवार जीवनी प्रसाद पनि उनीसँगै मिसिन आएका थिए। चुनावका बेला मुखिया बाको हरेक भाषणमा पुल बनाउने सपना जोडिएका थिए। प्राय गरेर उनका भाषणले पुल बनेपछि जगतपुर गाउँ अब गाउँ रहन्न, जगतपुर सहर बन्नेछ भनेको थियो।
जगतपुर बासिन्दालाई यति हौसाइएको थियो कि मानौ यहाँका हरेक सपना त्यही पुलले पूरा गरिदिन्थ्यो। सिमखोला पुललाई जगतपुर बासिन्दाको अमरावती पुग्ने पुल बनाईएकै कारण मुखिया बाले चुनाव जिते।
मुखिया बाले आफू मुखिया बन्ने बित्तिक्कै पुल हाल्न आफू सहित २० जनाको समावेशी कार्यसमिति बनाए। सबैलाई आकर्षक तलब तोकिदिए। सबैलाई काम छिटो-छिटो होस् भनेर सदरमुकाम आवत-जावतका एक-एक थान सवारी साधन किनिदिए।
पुल कस्तो हुनुपर्छ र जगतपुर बासिन्दाले कस्तो पुल खोजेका छन् भनेर सल्लाह मात्र दिनका लागि सल्लाहकार समिति नै बनाए जसमध्ये एक सल्लाहकार पात्र हुन् श्रीधर। श्रीधर विक (पिएचडी) मुखियाका प्रमुख सल्लाहकार हुन्।
श्रीधरलाई किन सल्लाहकार बनाइयो भनेर मुखिया बाको सालोले विद्रोह नै गर्यो। उसको भनाइ पढेलेखेकोले भन्दा गाउँ बुझेको र त्यही गाउँमा बस्ने बुज्रुक नै हुनपर्ने भन्ने थियो। मुखिनी आमाको एक मात्र भाइको विचारलाई आफ्नो पतिले इन्कार गरेको उनलाई कुनै हालतमा स्वीकार्य थिएन तर पनि पुल बनेपछि माइत चाडै जान पाइन्छ भन्ने कुरामा उनको चित्त बलियो थियो। जगतपुर जोड्नलाई कल्पना गरिएको उक्त पुल वरिपरीका गाउँहरुका लागि पनि चासोको विषय थियो।
मुखिया बालाई पुल यस्तो बनाउनु पर्छ भनेर सल्लाह दिनकै लागि महिनै पिच्छे अरु गाउँका मुखियाहरुले कहिले बिवाह, कहिले ब्रतबन्ध, कहिले पुजा होमको अवसर पारेर निम्तो दिन्थे। ती सबै निम्ता दिने मुखिया बाका विशेष पात्रहरु थिए। त्यसैले पनि ती निम्तो मान्नु उनको लागि अति आवश्यक थियो। त्यसैले उनी एक किसिमको गाउँ दौडाहा मै लागेका थिए।
यत्तिक्कैमा एक दिन उनी छिमेकी गाउँको भतेर खाएर बाटोमा फर्किदै गर्दा बीच बाटोमा ढलें। सहरबाट डाक्टर बोलाएर हेर्दा उनको खुट्टामा रहेको दशकौं पुरानो खिल बढेर भित्रसम्म पाकिसकेको रहेछ। त्यस पश्चात उनी हिड्न नसक्ने भए।
अब पुल बनाउने सम्पूर्ण कामको जिम्मेवारी उनले बनाएको कार्यसमिति र सल्लाहकार समितिको काँधमा थियो। मुखिया बा आफ्नो ओछ्यानमा थालिएका कारण सबै जसो जिम्मेवार मानिस उनकै घरमा आउथे र जान्थे। श्रीधर सधैँ मुखिया बासँगै रहन्थे र हरेक भेट को प्रतक्ष्यदर्शी उनी नै थिए।
बिरामी भएर थालिएका मुखियाको भेटघाटको प्रबन्ध गर्ने मुख्य प्रबन्धकारको जिम्मा पाएपछिको दैनिकीबाट श्रीधर वाक्क भैसकेका थिए। उनलाई मुखिया बाको भेटघाटको प्रबन्धले भन्दा पुल नबन्ने चिन्ताले खाइरहेको थियो। गाउँमा अनेक कुराहरु नयाँ-नयाँ किसिमले आउन थालेका थिए।
कार्यसमितिका मानिसहरुले आफूलाई दिदै नदिइएको जिम्मेवारीको वकालत गर्दै हिड्ने बानीबाट उनी आजित थिए। आफू बाहेकका सल्लाहकारहरुले दिने बेतुकको दर्शन र मुखिया बाको आदेशले श्रीधर लगायत केही गाउँले पुल नबन्ने प्रति शशंकित थिए। श्रीधरको अनिद्राको कारण यिनै थिए।
केही दिन अघि मुखिया बालाई श्रीधरले चिया गफमा भनेका थिए- ‘मुखिया बा, बिरामी हुनुभयो, अब आराम गर्नुस!’
त्यही दिनबाट मुखिया बा श्रीधरसँग चिडिएका छन्। उनको विकल्पकै लागि होला सायद उनी आफ्नो सालोले दिनदिनै फेरि-फेरि ल्याउने गाउँका बुज्रुकसँगको सल्लाहमा लागेका छन्।
पुल निर्माण सम्बन्धि भेटघाट त हुँदै थिए, अचानक जगतपुर वरिपरिका गाउँमा एउटा नयाँ रोगले प्रवेश गर्यो। आँखा देख्न नसक्ने र कान सुन्न नसक्ने बनाउने उक्त रोगले वरिपरिका गाउँ लगायत जगतपुरमा पनि भयंकर महामारीको रुप लिन सक्ने आशंका गरिएको छ।
गाउँलेहरु अनौठो त्रासमा डुबेका छन्। गाउँमा भएका डाक्टर, धामी, झाक्री एवम् सम्पूर्ण गाउँले हरुलाई यो महामारीको न कुनै उत्पत्ति थाहा छ न कुनै उपचार। न कसैले भविष्यमा के हुने सोच्न सकेका छन् न कसैले उनीहरुलाई भविष्य कसैले बताइदिएको छ।
अमिलो मानसिकतामा अनि गाउँलेहरुका प्रश्नहरुले श्रीधर पनि अल्मलिएका छन्। हरेक गाउँलेको मुखमा एउटा प्रश्न छ ‘अब के गर्ने मुखिया बा?’
एकपछि एक चिन्ताले रन्थनिएका श्रीधर अनेकौँ सुस्केरा हाल्दै आफ्नो कोठामा टोलाईरहेका थिए। केही गम्न खोजे झैँ, केही निदाए झैं। यत्तिक्कैमा आँखा चिम्लिदै गर्दा उनले माड्सापलाई सम्झे।
केही समयअघि श्रीधर माड्सापका घर पुग्दा उनी हसिलो मुद्रामा आफ्नो विस्तारमा केही लेख्दै थिए। श्रीधर आएपछि रोक्किए र उनीसँगै गफ्फिन थाले। श्रीधरको अनुहारमा देखिएको निराशापनप्रति माड्साप तुरुन्तै प्रश्न भएर आइलागे- ‘श्रीधर भाइलाई जगतपुरले कुन प्रश्नको उत्तर दिएन?’
श्रीधरले एकै सासमा उत्तर दिए ‘मुखिया बा!’
माड्साप- ‘तिम्रो जगतपुरको मुखियाको बारेमा मलाई बोल्ने अधिकार छैन सायद।’
श्रीधर- ‘प्रश्न जगतपुरले सोधेको हो।’
माड्साप- ‘जगतपुर संस्था हो। प्रश्न तिमी आफैँमा होला।‘
श्रीधर- ‘म जगतपुरको एउटा अंश हुँ।’
माड्साप- ‘राजनैतीक व्यवहार पनि व्यक्तिगत हुन्छन्। व्यक्तिलाई संस्कारले बाधेको हुन्छ। हरेक संस्कार व्यक्तिगत संस्कारको मर्म हो। व्यक्तिको साधना र लक्ष्य प्राप्ति प्रतिको प्रक्रियाले व्यक्तिको कार्य स्वरूप निर्धारण गर्छ। अन्धभक्ति र यथार्थताको मनन नगरी गरिने कुनै पनि कार्य सफल हुँदैनन्।
तत्व ज्ञान र त्यसको बोधको जरुरी छ मुखियालाई, जुन तिमीसँग छ। तिम्रो सुझावको खाँचो छ मुखियालाई।’
श्रीधर- ‘सुझाव मानेनन्’
माड्साप- ‘आँखा चिम्लिए छन् त्यसो भए।’
श्रीधर- ‘त्यसो भए के त?’
माड्साप- ‘सामाजिक सोच र व्यक्तिवादी सोचको भिन्नता बुझाउन आवश्यक छ। विभिन्न मोहले धीर्तराष्ट्र बनेका तिम्रा मुखियालाई सामाजिक कानुनको बोध हुनु जरुरी छ। सामाजिक कानुनका दुई तत्व हुन्छन्। समाजप्रतिको सम्मान र सामाजिक विश्वास। समाजप्रतिको सम्मान भनेको असल राजनैतिक आचरण र राजनीतिक बाचा पूरा गर्ने उन्माद। सामाजिक विश्वास भनेको समाजका बासिन्दाप्रतिको उत्तरदायित्व र उनीहरुप्रतिको कर्तव्यले जन्माएको विश्वास।
जब यो सामाजिक कानुनको उल्लंघन गरेर मुखिया आफ्नो वैयक्तिक लालशा, शारीरिक अस्वस्थताले पैदा गरेको रोगी क्षमता अनि पद मोहले प्रताडित हुन्छन्, तिमी जस्ता सबै जगतपुर बासीको मनमा प्रश्न आउनु स्वभाविक होl’
श्रीधर- ‘मुखिया छलफलमा छन् मलाई हटाउने बारे।’
माड्साप- ‘हटिसकेको छैनौँ नि। तिमी हटेपनि सल्लाहकारको पदबाट हट्ने हो। आखिर जगतपुरबासी रहिरहने छौँ। मुखियाले तिम्रो कुरा नसुने पनि जगतपुर बासिन्दाले अवश्य सुन्नेछन्।’
श्रीधर आफ्नो तन्द्राबाट झल्याँस्स ब्युँझिए र मनमनै आफैंलाई पुनः प्रश्न गरे, ‘मुखिया बा आफैँ रोगी छन्, म के भनौं? अस्तिबाट वरिपरिका गाउँमा छिरेको महामारी रोक्न मुखिया बालाई यसो भन्छु भनेर गाउँलेलाई के उत्तर दिउँ?’
अवाक हुँदै श्रीधर मुखिया बाको आवाज पछ्याउदै उनी भएतिर गए। पुग्दा मुखिया बाको समिपमै कोही आगन्तुक उभिएको थियो पत्रको खाम सहित। श्रीधरले ती आगन्तुकबाट पत्र बुझे। खामको बाहिरपट्टि लेखिएको थियो पठाउने माड्साप, पाउने श्रीधर विक।
आगन्तुकबाट माड्सापले पठाएका पत्र बुझेकै कारण केही शंकाको स्वरमा मुखिया बाले श्रीधरको हातमा आफूले तयार पारेको अर्को सूचना थमाउदै भने- ‘मेरो सूचना पत्र पनि लिऊ अनि मेरो यो सूचना सम्पूर्ण जगतपुर बासिन्दालाई सुनाइदिनु।’
श्रीधरले अनुहार रातो बनाउँदै खाम समात्नासाथ आफ्नो कोठा तिर लागे। उनी मुखिया बालाई माड्सापसँगको सामिप्यताको ज्ञान नहोस् भन्ने चाहन्थे।
श्रीधरले मुखिया बाको सूचना खोले। मुखिया बाको सूचना पत्रमा लेखिएको थियो:
आदरणीय मेरा जगतपुर बासिन्दाहरु,
मेरो शारीरिक अस्वस्थताले मेरो पुल बनाउने लक्ष्यलाई रोक्न सक्दैन।मैले मेरो अस्वस्थताको बाबजुत पनि पुल कसरी राम्रो बनाउने भन्ने परामर्शलाई तीव्रताका साथ अगाडि बढाएको छु।परामर्श सक्किनासाथ पुल बनाउने कार्य अघि बढाउने प्रतिवद्दता जनाउँदछु।भर्खरै हाम्रो वरिपरिका गाउँमा आएको रोगको बारेमा म अवगत भएँ।
यो रोग सिमखोला तरेर जगतपुर छिर्नै सक्दैन।जगतपुरमा एउटा अनौठो शक्ति छ।छिरिहालेछ र रोगले समातिहलेछ भनेपनि यो रोगले त्यही आँखा नदेख्ने र कान नसुन्ने मात्र बनाउने हो।आँखा नदेख्ने र कान नसुन्नेका लागि म पहिले पनि सारथी नै थिएँ र अब पनि सदैव सारथी नै रहिरहनेछु।
जगतपुरले आफ्नो पुल बनाउने लक्ष्यलाई सधै आत्मसाथ गरेकै कारण मेरो स्वास्थ्य पहिलेको भन्दा केही सुधार भएको छ।यही लक्ष्यलाई र लक्ष्यसँगै जोडिएको मेरो सम्पूर्ण स्वास्थ्यको कामना गर्दै अझै बढी हौसला पुर्याउनका लागि सबैले आ आफ्नो ठाउँमा आजको साँझ दिप प्रज्ज्वलन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यबाद!
श्रीधरले अर्को हातमा आगन्तुकले भर्खरै दिएका माड्सापको पत्र थियो। खोले, त्यसमा लेखिएको थियो:
याद ते मोहकलिलं बुद्दीव्यर्तितारिश्यति।
तदा गंतासी निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।।
(जब तिम्रो बुद्दिले मोहरुपी घना जंगललाई पार गर्नेछ, त्यस बखत तिमी पहिल्यै सुनिसकेका र सुन्नुपर्ने सबै कुराप्रति बिरक्त हुनेछौँ।)
श्रीधर शुन्य भए।
(लेखक अधिवक्ता हुन्।)