राजधानी एक्स्प्रेसको ‘भ्याट्भ्याट’ आवाज कानमा परेसँगै आँखाले अर्को दिन चिहायो। ब्ल्याङ्केट फालेर टयाङ्ककी खाली गरेर आएँ। क्याप्टेन चुरोटको डब्बा तानेर एक खिल्लि चुरोट सल्काएँ।
खाटमुनि प्लेटको एष्ट्रे तान्दै टिभि खोलेँ। अन्जना ॐ परी जस्तै भएर 'आजकी सबसे बढी खबर, उडिशा मे मिले कोरोनाका एक मरीज' भन्दै रैछिन्।
चीनबाट सुरु भएको यो भाइरस कर्मभूमि भित्रिएसँगै अब त यता पनि देखिन थालेछ। मन गह्रुङ्गो बनाउँदै झ्यालको पर्दा यसो सारेर बहिर हेरेँ। पूर्वतिर लाली चढ्दै रहेछ। लगभग पूरै उज्यालो हुन लागेको, पारिपट्टि लेखेको ‘गुप्त रोगी इधर मिले, इक्बाल दवाखाना’ स्पष्टै देखियो।।
उठेर चिया बनाएँ। खड्गलाई चिया खान्छस्? भन्ने इशारा गरेँ। उ माड्दै गरेको खैनी हिजो बुढीलाई पैसा पठाएको स्टेट बैंक अफ इन्डियाको २६ हजारको भौचरमा पोको पारेर टेबुलमा मिल्काएर आयो।
खड्गे, दार्चुलातिरको पुर्व लडाकू हो। साह्रै मिहेनेती र इमान्दार छ। उमेरले केही सानो भएपनि सिक्स्थ सेन्स मलाई नि मात दिने खालको छ। त्यसैले मैले उसलाई लेबरबाट जुनियर सुपरभाइजर बनाएको हुँ।
'तो मिस्टर खड्ग विक्रम बुढा, तुमे मालुम हे उडिशामेभि कोरोनाका मरीज मिला?'
कहिले कसो शनिबार राति हुने दुई सदस्यीय मिनि पार्टीमा उसको ड्रिम लाइफको नाम हो 'मिस्टर खड्ग विक्रम बुढा'। मुखमा पुर्याएको चिया ओठले स्पर्श गर्न नपाउँदै उसले अगाडिको टेबुलमा चिया राख्दै तर्सिएको स्वरमा भन्यो, 'विद्ये?'
'अनि के म तँसँग मजाक गरौँला त बिहान बिहानै?' मैले आफ्नो कुरालाई थप मजबुत र विश्वासनीय बनाएँ।
अब के गर्ने त सर? भनेर खड्ग बोल्नुभन्दा पहिला उसको मोबाइल बज्यो।
खड्गेले फोन हेर्यो मन्सरीको रैछ।
'हेल्लो मन्सरी' कार्तिके मौरीको फ्रेस मह जस्तो मिठो बोलिमा खड्गेले फोन उठायो।
'हजुर, हजुर' उताबाट मन्सरी आत्तिएको स्वरमा बोल्छे।
'भुँड त प्यारी'
'मु के भुँडुँ, जे-जे भुन्ना छन् त्यहीँका मान्स्यु भुन्नाछन्। त्यो विदेशी रोग त्याँलै आग्यो भुँणि बरे सुँड्या।'
'घर गोसीलै बिरामी छन्। जल्दी आस नाई बस्सु हो तसा बेला त्याँ...'
'हेल्लो'
'हँ, हँ। सुन्न ला रीउ'
'अँ इजा बाबा चेलो लै चिन्ता मान्न लार्यान जल्दी आस पिर्मेका बा'
'हाँ, हाँ मालिकसित बात गरेर आउन्या हुँ।'
'भाइलाई के हुइरै?'
'कसब हिमान्चलबाटी फकर्याधेखी कन्झ्या ज्वरो आइगो भुन्ना लारे, कन्झ्या छाती दुख्यो भुन्ना लारे रातभर सियो नाईँ'
'ल, ल निक्करी धेखबाल गरे'
'मेरो चिन्ता जन अरे मु आईहाल्लो'
'अहिले फोन राख पुईँ'
'इजा बालाई ढोग गर्या छ भुँणी दिए'
'ल, ल जल्दी आस'
टुँ, टुँ, टुँ....फोन कट्छ।
स्पिकरको आवाज ठूलो हुनु र खड्गेको र मेरो दुरी सानो हुनाले यिनका जोइपोईको गफ सुन्न मलाई कुनै गाह्रो भएन।
मैले गफ पूरै सुनेपनि पुनः स्थितिलाई मेसो दिन खड्गेलाई सोधेँ- 'भाइलाई के भाको रैछ खड्ग?'
'खै, ढाड दुख्ने, छाती दुख्ने गर्छ रे, रातभरी सुत्दैन रे'
वर्षा याममा झरी पर्न नसक्दा चारैतिरबाट कालोमैलो बादल मडारिए जस्तो अनुहार पारेर खड्गेले भाइको स्थिति बयान गर्यो। पाँच भाइ लाखापाखा लागेर उ मुनिको भाइ, बुवा र आमा उसँगै बस्छ्न्। गाह्रो छ भन्ने कुरा खड्गेले मलाई सुरु दिन ताकाकै मिनि पार्टीमा अवगत गराईसकेको थियो।
'म फर्किन्छु सर, छुट्टी मिलाईदिनु होला। अँ, बरु हजुर पनि फर्किनु सर। यो रोग फैलिन के बेर' सन्नाटा तोड्दै खड्ग बोल्यो।
'चिन्ता नलेउ, सल्लाह गरौँला।'
खड्ग बरु खाना बनाउन तिर लाग भन्ने मन त थियो तर खै किन भन्न मन लागेन। सन्डे थियो, हतार पनि थिएन।
एकछिन बसेपछि खड्ग उठेर खाना बनाउन गयो, खाना खाइयो। लुगा धोइयो, नुहाइयो, यसो-उसो गरेरै सन डे सनसँगै क्षितिजबाट बिदा भयो। खड्गलाई तनाव र मलाई सोचमग्न बनाएर।
आज मनडे, मन भने उठेदेखि नै बेचैन छ। मन हो कि उर्गेनको घोडा, दौडेको दौडै। घरि दौडेर खड्गेको भाइ भए ठाउँमा पुग्छ, घरी दौडेर इटाली स्पेनका कब्रस्तान तिरका लाशहरुमा फूल चढाउँन पुग्छ अनि घरि दौडेर मिस्टर बजाजको कुर्सी अगाडि र भन्छ- 'सर एभ्री वर्कर्स आर स्केयर्ड वि निड टु डू समथिङ राईट नाउ।'
भौतिक रुपमा मन मुटु भित्रै यही शुक्ला जि को घरमुनि मसँगै छ।
अनेक कुरा मनमा खेलाउँदै बसेको थिएँ। खाना खाने बेला भएको जानकारी प्राप्त भएसँगै खाएर टेबलमा रखिएको स्टार ड्रेगन ब्याग बोकेर हामी अफिस निस्कियौँ।
म सरासर आफ्नो क्याबिनमा छिरेर स्टाफ एटेन्डेन्स हेर्न थालेँ। खड्ग फ्याक्ट्री तिर लाग्यो।
दिउँसो म्यानेजरसँग मैले खड्गको छुट्टीको सिफारिस गरेँ। खड्गको बिदा स्वीकृत भयो। भोलि बेलुकादेखि उसले छुट्टी पाउने भयो। त्यो पनि अर्को फोन न आउन्जेलसम्मका लागि।
खड्गले पनि यो कुरा थाहा पायो, केटो खुशी भयो। समुद्री सतह तिर सबमरिनका भित्तामा बाकट्टे हान्दै आउने भुरा माछाका झुन्ड जस्तो खुशीका झुन्डहरु अनुहारभरी देखिए। खड्ग विक्रमका जुन अनुभूति गर्न मलाई कुनै गाह्रो भएन।
आज बुधबार, खड्ग देश जाने दिन। बिहान उठ्दा घडीले साढे सात बजाइसकेको रैछ। हतार-हतार गरेर हामी रेल्वे स्टेशन तिर लाग्यौँ।
'सर तपाईं कहिले फर्किनुहुन्छ त?' स्टेशन पुगेपछि उसले भन्यो।
'एक दिन फर्कउँला नि।'
'सर थोरै समयसँगै बसेको भएपनि हजुरको साथ छोड्न साह्रै गाह्रो भैरहेको छ, त्यसैले हजुरलाई एक्लै छोडेर जाँदा नरमाइलो लाग्या छ।'
'हेर खड्ग, यात्री भएर एउटै वृक्ष रुँगेर यात्रा पूरा हुँदैन, यात्रामा वृक्ष त आईरहन्छन्। नत वृक्षसँगै बोकेर हिड्न सकिन्छ न त वृक्ष यात्रीसँगै हिन्न सक्छ। तसर्थ यो एउटा यात्रा हो।
खड्ग मन सानो नगर, अँ बरु यो मिस्टर प्रेम बहादुर बुढा 'द सन अफ मिस्टर खड्ग विक्रम बुढालाई लग्देउ। उ तिम्रो ट्रेन आयो।'
नारायणगढ बजारको वैष्णवी चाट भण्डारमा पाउने काला र रसिला गुलाब जामुन जस्ता आँखा लिएर बिहान ९:३० बजे खड्ग बहादुर बिदा भयो।
अफिस बन्द भएको भन्दा पनि भारत बन्द भएको पाँच दिन भइसकेको थियो। रुममै बस्यो, ९ बजे उठ्यो। एकछिन व्यायाम गर्यो, खाना खायो, बुक पढ्यो, फ्लिम हेर्यो, टिभी हेर्यो। यसरी नै दिन कट्दै थिए। खड्गको फोन स्वीच अफ आउन थालेको पनि थुप्रै दिन भएको थियो।
विस्तारामा पल्टेर फिलिम हेर्दै थिएँ। दशरथ माझीले ठिक बुढी औँला के काटेका थिए, मेरो फोन 'घुर, घुर' गर्न थाल्यो। आँखामाथि फर्काको, नेपाली नम्बर रैछ। हत्तपत्त नेपाली नम्बर उठाउन मन नलाग्ने मलाई नेपाल सम्झिने बित्तिकै खड्ग बहादुर याद आयो। फोन उठाएँ।
'हेल्लो'
'हजुर, म खड्ग सर'
'अँ खड्ग, भन त, घर पुग्यौ नि?'
'बल्ल-तल्ल ज्यान जोगाएर नेपाल पुगेँ सर।'
खड्गको चित्कारले मन चिसो भयो।
'तर घर पुग्न पाएको छैन सर।'
'के भयो खड्ग?'
'साह्रै दुख पाएँ सर' खड्ग फेरि भक्कानियो।
'भाइ पनि रहेन सर।'
म झसङ्ग भएँ। पैतलामुनिको जमिन अचानक खस्किएको आभास भयो। म निशब्द भएँ। आँखा बन्द भयो। तर धेरैबेर म यो निशब्दता बस्न पाइनँ।
यस्तो अवस्थामा म सँधै टाढा बस्न खोज्ने मान्छे।आज घेरिएको छु। के गरि सम्झाम्? के भनुम्?
'ओहो! खड्ग, साह्रै दुखद् घटना भएछ। के भएको रैछ खड्ग भाइलाई?'
'खै सर केही थाहा छैन। न घर पुग्न पाएको छु, त्याहाँबाट निस्केदेखि नै विपत्ति मसँगै पछि-पछि हिडेको रैछ। 'सास्ती नै सास्ती पाएर नेपाल पसेँ।'
'बाटोमा अरु के भयो र खड्ग?'
'के भनौँ सर? त्यो ट्रेनबाट भोलिपल्ट बिहान दिल्ली झरेपछि दुई दिन पानी र बिस्कुट टोकेर कट्यो। एक बिहानै बसपार्क तिरबाट प्लेटर्फम फर्किदै थिएँ। अचानक एउटा ट्रक आयो मेरै छेउमा रोक्यो। डर मुटूबाट पलाएर पैतालासम्म पुग्यो।
'किधर जाना हे?' झ्यालबाट टाउको निकालेर सरदार जीले सोधे। म चुपचाप अडिएर नेपाल भनेँ। 'हम भि कोयला लेके जा रहे हे, जाओगे तो छोड देंगेँ, जाओगे?' खुशीको सीमा रहेन तर फेरि खुशीले शरीर सिञ्चित गर्न पाएकै थिएन।
डरले ओठ सुकायो, के गरौँ? कसो गरौँ? भयो। डर-डर लागे पनि जे टर्ला त्यही टर्ला सोचेर हिँड्यौँ त्यहाँबाट, बाटोमा सुखदुखका गफ गर्दै आयौँ, मान्छे मजाकै रहेछन्। रुद्रपुर पुग्ने पुग्ने बेलामा लकडाउनमा हिनेको निहुँमा हामीलाई उत्तराखण्ड पुलिसले समात्यो, लाठी समेत बर्सायो सर।
अनि क्वारेन्टाइनमा राख्ने भन्दै खै कुन स्कूलतिर लाँदै थियो। मुरादावाद पुग्दा आएको मन्सरीको फोनले दर्शाएको भाइको अवस्थाले चिन्ता बढेर दुगुना भएको थियो।'
देशमा कत्रा-कत्रा जंगल, भोक-प्यास नभनि हिँड्दा नि रत्ति भर नडाराउने खड्ग भित्रैबाट हल्लियो।
'अब यो परदेशमै गुमनाम हुने भैयो, भन्ने डर पलायो म त्यहाँबाट भागेँ सर। त्यहाँबाट करिब दुई घन्टा हिडेपछि लुक्दै छिप्दै अटो गाडी गर्दै भोकभोकै म बल्लतल्ल राति दश बजे धार्चुला पुगेँ सर।
स्थिति यता नि उस्तै। हामीलाई आफ्नै देशले घँचेटेको थियो। देश खोज्दै सिमाना त पुग्यौँ तर देशले हामीलाई भेट्टाउन चाहेको थिएन सर। कहिले नाका खुल्ने केही अत्तोपत्तो थिएन। सरकार राजधानीमा मात्रै छैन गाउँमा पनि छन् भन्ने भनाई दन्त्यकथा लाग्यो।
भाइको अवस्था, परदेशमा मरिने डर अनि मन्सरीलाई भेट्ने हुटहुटीले, म भित्रको धैर्यतालाई महाकालीमा चोबल्यो, सर।'
खड्ग फेरि सुक्क-सुक्क गर्न थाल्यो।
'म नदी तरेर नेपाल छिरेँ। यताका प्रहरीले समातेर अहिले यहाँ क्वारेन्टाइनमा छु।'
'ओहो! निकै सकस पाएछौ त भाइ। चिन्ता नलेउ खड्ग, सुख र दुखको मिश्रण नै जीवन हो। हरेक दुखपछि सुख आउँछ, खड्ग।'
'खै के सुख आउनु सर, भाइको किरिया गर्न वृद्ध बुवा बस्नु भएको छ। म यता छु।'
एउटा सिपाही फेरि सुक्क सुक्क गर्न थाल्यो। मैले फेरि खड्गलाई भनेँ- 'खड्ग मन सानो नगर, तिमी कमसेकम देश त पुग्यौँ। कति नेपाली यतै अलपत्र छन्, के होला तिनीहरुको स्थिति? तिनका जहान परिवार कति छट्पटिएका होलान?'
मेरो प्रतिउत्तरमा खड्ग केही बोलेन।
'कति दिन त्यहाँ बस्नुपर्ने रैछ?' मैले पुनः प्रश्न गरें।
'अझैँ १५ दिन जति।'
यसो भन्दा मानौँ गला सुकेर उ साँसले शब्द धकेलिरहेको छ जस्तो भान हुन्थ्यो।
'खड्ग यो दुखद् घडीमा तिमीलाई के भनौँ र? तर तिमी र तिमीलाई चाहानेका लागि नै हो यो १५ दिनको क्वारेन्टाइन। त्यसैले सुरक्षित बस, सबै ठिक हुन्छ, अनि परिवारको कसैसँग भेट भयो त खड्ग?'
'मन्सरी आएकी थिई। अघि भर्खरै उस्लाई सम्झाई-बुझाई गरेर घर पठाएँ।'
खड्ग फेरि भन्न थाल्यो- 'म देश खोज्न आएको कि दशा अलमल्लमा छु सर।'
'अवश्य होइन खड्ग, यो समयको खेल हो। यत्ति हो, समय कोसँग खेल्न चाहान्छ, त्यसमा भरपर्छ। यसपाला एउटा खेलडी तिमी हौ र मलाई पूर्ण विश्वाश छ तिमीले यो लडाइँ अवश्य जित्छौ।'
खड्गको आवाज आएन।
एकछिन पछि उ फेरि जोडियो- 'हेल्लो सर'
'हजुर, हजुर'
'ल सर, आफ्नो ख्याल गर्नुहोला। अहिले मैले फोन राखेँ। मन्सरीको मोबाइल हो, पैसा सक्किए जस्तो छ।'
'हुन्छ, सुरक्षित बस।'
खड्गसँग फोन राखेपछि मेरो मन एकतमासको भयो। आफैले आफैलाई प्रश्न गरेँ- 'सर्वहाराका लागि लड्ने हिजोका खड्ग बहादुरहरु किन आज सबै हारेर पुनः आफैसँग लड्दैछन्?
के फरक छ त हिजो देश बनाउन निस्केका कम्रेड खड्ग विक्रमहरु र आज मिस्टर प्रेम बहादुर बुढा बनाउन मुग्लान छिरेका पिर्मेका बुवाहरुको अवस्थामा?'