अविच्छिन्न रूपमा पानी दर्किरहेको तेस्रो दिन उनीहरूले घरभित्रैसम्म छिरेका धेरै गँगटाहरू मारिसकेका थिए। पेलायोले ती गँगटा फाल्न चिपिचिल्लै भिजेको आँगन पार गरेर समुद्रसम्मै पुग्नुपर्यो।
नवजात शिशुलाई रातभर ज्वरोले खुब सताएको थियो। उनीहरूले सोचे- यो तिनै गँगटाहरूको कडा दुर्गन्धको परिणाम हो।
मंगलबारदेखि नै आकाश रोइरहेको थियो। सारा संसारलाई निथ्रुक्क भिजाइदिएको थियो। पर क्षितिजतिर समुद्र र आकाश एकै ठाउँमा मिसिएर खरानीको थुप्रोमा परिणत भएजस्ता देखिन्थे। समुद्रकिनारको बालुवा मार्च महिनाको रातमा घामको किरणमा मिसिएको धुलोझै चम्किने गर्थ्यो। अहिले भने उक्त बालुवा गन्हाउने हिलोको थुप्रो र कुहिएका सेलफिसमा रूपान्तर भएको थियो।
मध्यदिनमा समेत एकदमै अँध्यारो थियो। गँगटाहरू मिल्काइसकेर घर फर्किंदा आँगननजिकै चल्दै र कन्दै गरेको वस्तु के रहेछ भन्ने जान्न पेलायोलाई मुश्किल पर्यो। त्यो एउटा बूढो मानिस भएको कुरा पेलायोले उसको नजिकै पुगेपछि मात्र चाल पायो। वास्तवमा ऊ अत्यन्तै वृद्ध थियो, जसको अनुहार हिलोमा घोप्टिएको थियो। पूरै बल लगाउँदा समेत उसले आफूलाई उठाउन सकिरहेको थिएन। त्यो बूढो आफ्ना विशाल पखेटासँगै हिलोमा लुट्पुटिएको थियो।
डरलाग्दो सपनाजस्तो घटनाबाट भयभित बन्दै पेलायो श्रीमती एलिजेन्डालाई खबर गर्न दौडियो। बिरामी नानीलाई कपडाले सेक्न छाडेर उनी श्रीमानसँगै आँगनको पछिल्तिर गइन्।
ती दुवैले लखतरान परेर भुइँमा लडेको शरीर नियाले। त्यो बूढोले टुलुटुलु हेरिरहेको थियो। उसले लगाएका कपडा फोहोर उठाउनेका जस्तै थिए। तालुको खप्परमा लत्रिएको सेतो कपालका केही जुल्फी र मुखभित्र एक-दुईवटा मात्र दाँत बाँकी थिए। उसको हालत देख्दा यस्तो लाग्थ्यो, पानीमा निथ्रुक्कै भिजेर दयालाग्दो देखिएका जेठा हजुरबाको पूरै फूर्ति सेलाइसकेको छ। उसका भीमकाय गिद्धे पखेटाका आधाजति प्वाँख उक्किएका थिए। तिनीहरू हिलोमा लुटपुटिएर घिनलाग्दा देखिएका थिए।
पेलायो र एलिजेन्डाको जोडीले उसलाई निकै समीपबाट मन लागुन्जेल नियालिरहे। केही बेरमै उनीहरू त्यो देवदूतरूपी मानिसलाई देखेर आश्चर्यचकित हुन छाडे।
त्यो जोडीले ऊसँग कुरा गर्न खोजे। उसले पनि पानीजहाजमा काम गर्ने बलवान नाविकको जस्तै स्वर निकालेर उनीहरूले नबुझ्ने भाषामा जवाफ फर्कायो। यसले केही बेरका लागि पखेटाको रहस्यलाई बिर्साइदियो।
पेलायो र एलिजेन्डाको जोडी निकै बेर घोत्लिए र एउटै निष्कर्षमा पुगे- ऊ एउटा विदेशी जहाजबाट छोडिएको यात्रु हो जसलाई समुद्री तुफानले यहाँसम्म ल्याएर पछारिदिएछ।
यति हुँदाहुँदै तिनीहरूले आफ्नो मनभित्र मच्चिरहेको हुन्डरी शान्त पार्न एक छिमेकी ज्योतिष महिलालाई डाके। उनले जीवन र मृत्युबारे देखेकै भरमा सबथोक भन्न सक्थिन्। कुरा खुट्याउन उनलाई चाहिने एउटै चिज थियो- एक झलकको हेराइ।
'अहो, यिनी त देवदूत पो रहेछन्,' ज्योतिष महिलाले पेलायोको जोडीलाई भनिन्, 'विचरा! बच्चालाई आशिर्वाद दिन आएका होलान्, साह्रै बूढा भएकाले समद्रको छालले हिलोमा लडाइदिएछ।'
अर्को दिन पेलायोको घरमा मानिसको जस्तै शरीर भएको देवदूतलाई बन्दी बनाएर राखिएको छ भन्ने हल्ला सारा गाउँलेहरूको कानमा पर्यो। ती ज्योतिषका अनुसार देवदूत भनेका ईश्वरका षड्यन्त्रबाट बाँचेका भगौडा हुन्। उनको यो विचारलाई त्यहाँ कसैले असहमति जनाउन सकेनन्। न त उनीहरूले हिलोमा पल्टिएको बूढोलाई पिटेर मार्ने साहस नै गरे।
पेलायोले भान्साबाट दिनभर उसैलाई मात्र हेरिरह्यो। पेलायोले हातमा सिपाहीले लिने डन्डा पनि समातिराखेको थियो। बेलुका ओछ्यानमा पस्नुअघि पेलायोले बूढोलाई हिलोबाट बाहिर तान्यो र तारले बारिएको कुखुराको खोरमा लगेर छाडिदियो।
मध्यराततिर झरी थामिइसक्दा पनि पेलायो र एलिजेन्डा अबेरसम्म घरभित्रै गँगटा मार्दै थिए। केही समयपछि नै उनीहरूको नानी तंग्रिएर उठ्यो जो निकै भोकाएको थियो। ऊ केही खान खोज्दै थियो। त्यसपछि मात्र उनीहरूमा देवदूतप्रति माया पलायो। उनीहरूले देवदूतका लागि सानो डुंगा बनाएर समुद्रको स्वच्छ पानीमै छाडिदिने विचार गरे। उसलाई समुद्रीदेवको काखमै छाडिदिन उनीहरूले तीन दिनको परिश्रम गर्ने तयारीसमेत गरे।
एकाबिहानै उनीहरू घामको पहिलो झुल्कोसँगै आँगनमा निक्लिए। त्यहाँ त सारा छिमेकीहरू भेला भएर कुखुराको खोरअगाडिबाट देवदूतलाई जिस्क्याइरहेका पो थिए। उनीहरूमा कत्ति पनि दयाभाव देखिन्थेन। बरू उनीहरू खानेकुराका टुक्राले फलामे जालीको छिद्रबाट उसलाई नै हिर्काइरहेका थिए। मानौं, त्यो कुनै दैविक जीव नभएर सर्कसमा देखाउन राखिएको जन्तु हो।
अनौठो खबरले रन्थनिँदै पादरी गोन्जगा सात नबज्दै त्यहाँ आइपुग्यो। त्यति बेला रमितेहरूको संख्या स्वात्तै घटेको थियो। अहिले त्यहाँ बिहानको जस्तो होहल्ला पनि थिएन। यद्यपि बाँकी रमितेहरूले त्यस कैदीको भविष्यबारे अनेक अड्कलहरू काट्न थालिसकेका थिए। सबभन्दा सरल सोचाइ भएकाहरू उसलाई विश्वकै मेयर बनाइनुपर्छ भन्दै थिए। अलि कठोर स्वभाव हुनेहरू उसलाई ठुल्ठूला लडाइँ जित्न उच्च र शक्तिशाली पदमा नियुक्त गरिनुपर्ने तर्क राख्दै थिए। अझ दुरदर्शी सोचाइ भएकाहरूले त उसलाई नयाँखाले सन्तान उत्पत्तिका लागि प्रजनन-गृहमा राख्नेसम्मका कुरा गरे। ताकि, संसारभरिकै दु:ख विनाश गर्न पखेटा पलाएका बुद्धिमानहरूको सृष्टि फैलियोस्।
यता गोन्जगा पादरीमा नियुक्त हुनुपूर्व दाउरा काटेर जीवन चलाउने एउटा भुसतिघ्रे थियो। छेकबारको आडमा उभिँदै उसले त्यो वृद्धलाई एउटै प्रश्न दोहोऱ्याइ-तेहऱ्याइ सोधिरह्यो र घरमुलीलाई खोरको ढोका उघार्न लगायो। ताकि, त्यस टिठलाग्दो जीवलाई नजिकैबाट नियाल्न सकियोस्।
विशाल पखेटा भएको त्यो बूढो रमाइरहेका चल्लाका बीचमा कुक्रुक्क परेको माउकुखुरीजस्तै देखिएको थियो। उसको वरिपरि फलफूलका बियाँ र खानेकुराका टुक्रा थिए, जुन बिहानै आएका रमितेहरूको एउटा भिडले मिल्काएर गएको थियो। संसारका अशिष्ट व्यवहारले बिरानो रहेको त्यो अभागी जीवले आफ्ना पौराणिक नेत्रहरू रमितेहरूतर्फ यसो उचाल्यो र आफ्नै भाषामा बर्बरायो।
त्यति बेला पादरी गोन्जगा चल्लाको खोरभित्रै पसेर ल्याटिन भाषामा उसलाई बिहानको अभिवादन टक्क्याउँदै थियो। गिर्जाघरको त्यस पादरीको मनमा त्यो जीव छद्मभेषी हो कि भन्ने शंका उब्जियो। किनकि उसले ईश्वरको भाषा पनि बुझेको पाइएन र आफ्ना मन्त्रीलाई कसरी अभिवादन फर्काउने भन्नेसमेत जानेन।
नजिकैबाट हेर्नासाथ पादरीले तुरुन्तै लख काट्यो- त्यो कुनै दैविक जीव नभएर एक किसिमको मानव प्रजाति हुनसक्छ। उसबाट फैलिएको रिंगटै छटाइदिने गन्ध घरबाहिर वरिपरि उडिरहेको थियो। उसको पखेटाको पछिल्तिर छपक्कै परजीवीहरू थिए। पखेटाका मुख्य भाग भने भुमरी पर्दै आएको तुफानले मडारिएको थियो। अनि ऊ देवदूत नै हो भनेर ठोकुवा गर्न सकिने त्यस्तो बलियो आधार केही पनि देखिएन।
त्यसपछि पादरी गोन्जगा चल्लाहरूको बीचबाट बाहिर निक्लियो। केहीबेर तन्त्रमन्त्र गर्यो र रमितेहरूलाई त्यो मानिसप्रति उदार र दयालु हुँदा भयानक पारिणाम निम्तिन सक्ने चेतावनीसमेत दियो। उसले भिडलाई सम्झाउँदै भन्यो, त्यो छद्मभेषीले आफू वरपर ठूलै हल जम्मा पारेर सर्वसाधारण माझ भ्रमजाल फ्याँकिरहेको छ। यदि पखेटाहरू नै बाज र जहाज छट्टाउने आधार हुन सक्दैनन् भने यसकै आधारमा यो देवदूत नै हो भनी ठोकुवा गर्न सकिएला र? यो नै गोन्जगाको तर्क थियो।
यद्यपि उसले आफूभन्दा माथिको पादरीलाई पत्र लेख्ने दृढता व्यक्त गर्यो। ताकि, उसले पनि अधिकारसम्पन्न गिर्जाघरको पादरीलाई अन्तिम जानकारीका लागि पत्र लेखोस्।
यसरी पादरी गोन्जगाले सोझासिदा मानिसको अगाडि आफ्नो चलाखी प्रस्तुत गर्यो। देवदूतलाई बन्धकमा राखिएको घटनाले यति छिटो चर्चा पायो, केही घन्टामै पेलायोको आँगन बजारिया सामग्रीहरूले खचाखच भरियो। अनियन्त्रित भिड सम्हाल्न हतियारधारी सेनाको टुकडी नै डाक्नुपर्यो। भिड यस्तोसँग बढ्दै थियो, मानौं त्यसले एलिजेन्डा र पेलायोको घर नै खण्डहरमा परिणत गरिदिन लाग्दैछ।
बजारिया फोहोर सफा गर्दा गर्दा एलिजेन्डाको ढाड दुख्न थालेको थियो। अचानक उनीभित्र एउटा रमाइलो विचार फुर्यो- आँगन वरपर पर्खालले घेर्ने र हेर्न आउने प्रत्येक रमितेसँग ५ सेन्टका दरले दस्तुर उठाउने।
कहिल्यै निको नहुने व्यथाले थलिएका अनौठा रोगीहरू उपचारको खोजीमा त्यहाँ आए। तीमध्ये एउटी महिला यस्ती थिइन् जो आफ्नो बचपनदेखि नै मुटुको धड्कन गन्न थालेकी थिइन्। तर अहिले उनको गन्तीले अंकगणितका पूरै संख्याहरूको सीमा नाघेर समस्यामा पारिदिएको थियो।
अर्को एउटा पोर्चुगलबाट आएको मानिस थियो, जसले आकाशका ताराहरू कराएको सुन्थ्यो। ताराहरूको हल्लाले ऊ कुनै पनि रात ढुक्कसँग निदाउनै सक्दैनथ्यो। त्यहाँ निद्रामा हिँड्ने मानिस पनि थियो, जो दिनभर गरेका कामहरूलाई उल्ट्याउन राति सधैं ब्युझिन्थ्यो। र, अरू प्रशस्तै बिरामीहरू त्यहाँ आए।
त्यहाँ पृथ्वीलाई नै उल्टाइदेलाजस्तो एउटा गञ्जागोल संसार थियो, समुद्री तुफानको बीचमा आँधीहुरीले हल्लाइदिएको जहाजभित्रको संसारजस्तै।
यति हुँदाहुँदै पेलायो र एलिजेन्डाको जोडी प्रसन्न थिए। कारण, तिनीहरूले एक साताभित्रै कोठाभरी प्रशस्त पैसा कोचारिसकेका थिए। अनि फिरन्ता तीर्थालुहरू क्षितिज पारिसम्मै लाइनमा बसेर आ-आफ्नो पालो पर्खंदै थिए।
त्यहाँ देवदूत मात्र एउटा यस्तो प्राणी थियो, जसलाई आफ्नै चर्तिकलाको समेत वास्ता थिएन। अर्काकै भए पनि उसले त्यही खोरमा आफूलाई सुविस्तासँग राख्न खोज्दै थियो र अहिले तेलबत्तीको प्रचण्ड ताप र छेकबारको आडैमा राखेर बालिएका देवदीपले ऊ लठ्ठ परिरहेको थियो।
सुरुमा रमितेहरूले उसलाई केही मोथबल खान दिए, जुन तिनै छिमेकी ज्योतिषका अनुसार देवदूतको खाना थियो। तर बूढो देवदूतले मोथबल यस्तरी घोप्ट्याइदियो, जसरी उसले केहीपहिले पश्चात्ताप गर्ने पापीहरूको निम्ति भनेर ल्याइदिएको रोमन क्याथलिक त्रिस्तानका धार्मिक गुरु पोपको खुराकीलाई घोप्ट्याइदिएको थियो। उसले यस्तो काम आफू देवदूत भएको तुजुक देखाउन गर्यो वा बूढ्यौलीको झोंकले गर्यो भन्ने अनुमान रमितेहरूले लगाउनै सकेनन्।
अन्त्यमा उसले सामान्य भ्यान्टाको सुप मात्र खाएको देख्दा रमितेहरूलाई ऊ देवदूतै हो भन्ने पत्यारै लागेन। उसको एक मात्र अलौकिक शक्ति भनेकै उसको धीरता मात्र कि जस्तो लाग्थ्यो। विशेषगरी सुरूका दिनहरूमा कुखुराले उसका प्वाँखमा आकाशका ताराजस्तै छपक्कै फैलिएका परजीवी खोस्रन ठुँग्न थाले र अपांगहरूले उसका संवेदनशील अंग स्पर्स गर्न प्वाँख तान्न थाले।
अझ झोंकचल्दो कुरा त, कतिले ऊतर्फ ढुंगा हुर्याए। ताकि, उसलाई सिधा ठडिएको देख्न पाइयोस्। उसलाई अचेत अवस्थाबाट ब्युँझाउने रमितेहरूसँग एउटै उपाय थियो- उसको शरीरको एक छेउलाई फलामे रडले डामिदिनु। रमितेहरूले यतिविधि नगरिदिने मात्र हो भने पनि ऊ लम्पसार परेर निकै बेर चुपचाप लडिरहन पाउँथ्यो।
पहिलोपटक ब्युँझनासाथ ऊ आँखाभरि आँसु छचल्काउँदै उठ्यो र नबुझिने भाषामा झर्कँदै करायो। दुईपटक उसले भ्याटभ्याट पखेटा हल्लायो, जसले रमितेहरूको भिडमा चल्लाको विष्टा र धुलोको भुंवरीहुरी नै ल्याइदियो। मानौं त्यो अर्कै संसारबाट आएको पीडाको झोंक्का हो। रमितेहरूले यो रिसको नभई पीडाले रन्थनिएर आएको झोक्का हो भन्ने बुझेका थिए। यसर्थ उनीहरू पनि एकअर्कालाई हेर्दै अब आइन्दा उसलाई दुःख नदिने वाचासमेत गर्दै थिए। धेरैले यो पनि बुझिसकेका थिए, उसको निष्क्रियता कुनै सिनेमाको नायकको जस्तो भव्यप्रचारपूर्वको तयारी थिएन। बरू आपतकालीन अवस्थाको एउटा बाध्यता थियो।
बन्धकको प्रकृतिबारे जिज्ञासु रमितेहरूको भिडलाई पादरी गोन्जगाले अनावश्यक उच्छृंखल हुनबाट रोक्यो। तर रोमबाट पठाइएको जवाफले यो घटनालाई खासै महत्त्व दिएन। यता रमितेहरू भने वृद्धाको नाभी, उसले बोल्ने भाषाको एरमेकसँगको सम्बन्ध, एउटा पिनको टाउकोभन्दा देवदूत कति गुना ठूलो होला भन्ने जस्ता फन्टुस कुरामा समय बर्बाद पारिरहेका थिए।
जात्राको कुनै समय रमितेहरूको भिड खचाखच भरिँदै गएको अवसर पारेर त्यहाँ एउटी अनौठो खालकी फिरन्ता युवती आइपुगिन्। आफ्ना मातापितालाई नटेरेका कारण उनको रूप एउटा बिजोगलाग्दो माकुरोमा रूपान्तर भएको थियो। उनलाई नजिकै गएर हेर्दा लाग्ने शुल्क पखेटे बूढोलाई लाग्नेभन्दा कम मात्र होइन, दर्शकहरूलाई उनको विरक्त अवस्थाबारे सबैखाले जिज्ञासाहरू राख्न छुट थियो। उनलाई शिरदेखि पाउसम्म नियाल्न पनि रमितेहरूलाई अनुमति थियो। ताकि, त्यस केटीको उदेकलाग्दो सत्यताविरुद्ध कसैको मनमा अनावश्यक शंका नउब्जिओस्।
तिनी एकखालकी नृत्योन्माद गराउने माकुरी थिइन्। उनको आकार एउटा भेडाको जत्रै थियो भने शिर एउटी निराश किशोरीको। सबभन्दा टिठलाग्दो विषय त उनको शारीरिक रूप नभई उनले पाएका आश्चर्यपूर्ण हण्डरहरू थिए, जुन उनले त्यो भिडलाई बताउँदै थिइन्।
सानी छँदा उनी एउटी चञ्चले स्वभावकी केटी थिइन्। आफ्नो नृत्य देखाउन घरमा कसैलाई खबरै नगरी निस्कने गर्थिन्। एकदिन उनी आफ्नो बाबुलाई सुइँकै नदिई रातभर नाचेर वनजंगलका बाटो घर फर्किंदै गर्दा आकाशमा डरलाग्दो विस्फोटनसहित बिजुली चम्क्यो र त्यहाँबाट आएको चट्याङले उनलाई माकुरोमा थेप्च्याइदियो। उनको एक मात्र पौष्टिक आहार भन्नु नै मासुका डल्ला वा यसबाट बनेका परिकार हुन्थे, जुन उदार हृदय हुनेहरूले उनको मुखैमा राखिदिन्थे। भयानक तर मानवीय सत्यको उनको रूप र त्यसभित्र लुकेको कथाले दिने शिक्षा चुपचाप पल्टिरहेको मूर्ख देवदूतको भन्दा प्रभावकारी थियो।
लडिरहेको देवदूतलाई माकुरी केटीको कथाले सजिलैसँग पछाडि पारिदिएको थियो। यसबखत देवदूत आफ्ना अद्भूत नेत्रहरूले उपस्थित मानिसतर्फ हेर्दै थियो। यस्ता खाले केही रोचक घटनाबाहेक देवदूतले अचम्मलाग्दा व्यवहार देखाउन थाल्यो। उसमा मानसिक सन्तुलनका लक्षण देखिँदै थिए, जसलाई दृष्टिशक्ति फर्किन नसकेको अन्धोसँग तुलना गर्न सकिन्थ्यो। उसलाई एउटा हातखुट्टा नचल्ने रोगीका रूपमा पनि लिन सकिन्थ्यो। अझ भनौं ऊ एउटा यस्तो कोढी हो, जसका पीडास्थलबाट सूर्यमुखी फूलका बिरुवा अंकुरण भइरहेका छन्।
यति बेला उसको मुखभित्र तीनवटा नयाँ दाँत उम्रिन थालेका थिए। ती टिठलाग्दा चमत्कारहरू बढीजसो हाँसोका विषय नै बने, जसले देवदूतको प्रतिष्ठालाई नै नमज्जासँग धमिल्याइदिएका थिए। झन् माकुरे केटीले त उसलाई पूरै ओझेलमा पारिदिएकी थिइन्। त्यहाँ माकुरे केटीको उपस्थितिले पादरी गोन्जगाको निदहरणलाई समेत जोगाइदिएको थियो। विस्तारै मानिसहरूको आवतजावत घट्दै गइरहेको थियो। पेलायोको जोडीलाई देवदूतको चिन्ता हुन छाड्यो। उसको आँगन झरी परेको अघिल्ला तीन दिनजस्तै रित्तो हुन थालेको थियो र गँगटाहरू पुन: पहिलेजस्तै सुत्ने कोठाको भुइँसम्मै घस्रन थालेका थिए।
तर अहिले घरमालिक पेलायो र उसकी श्रीमती निश्चिन्त थिए। बचाएको पैसाले बार्दली र बगैँचासिहतको दुईतले घर ठड्याइसकेका थिए। कुनै पनि देवदूत घरभित्र छिर्न नसकोस् भनेर उनीहरूले झ्यालमा फलामे डन्डी राखेका थिए। हिउँदको मौसममा गँगटाबाट जोगिन घरको चारैतिर अग्लो फलामे जालीले बारेका थिए।
पेलायोले सिपाहीको नोकरी छाड्यो र सहर नजिकै एउटा खरायो मैदान स्थापित गर्यो। एलिजेन्डाले चमकदार कपडाहरू किनेर लगाइन् जुन त्यस समयका सोखिन महिलाले प्रत्येक आइतबार लगाउने गर्थे। त्यहाँ कुखुराको खोर मात्र एउटै ठाउँ थियो, जसलाई प्राय: सबैले बिर्सिसकेका थिए। यदि तिनीहरूले खोरको भुइँ पखाले वा बढारकुँढार गरे भने पनि त्यो देवदूतको सम्मानको खातिर गरिएको हुन्थेन। बरू उनीहरूको ध्येय चारैतिर भूतजस्तै जमेर बसेका विष्टाको दुर्गन्ध हटाउनु हुन्थ्यो। विष्टा र यसको डरलाग्दो गन्धले नयाँ महललाई नै थोत्रो बंगलामा परिणत गरिदिँदै थियो।
भर्खरै मात्र उनीहरूको नानीलाई बामे सर्न मन थियो र यसबखत उनीहरू आफ्नो बच्चा कुखुराको खोरनजिक नगैदेओस् भन्ने चाहन्थे। तर विस्तारै उनीहरूमा देवदूतप्रतिको भय पनि सेलाउँदै गयो र खोरबाट आउने दुर्गन्धप्रति समेत उनीहरू अभ्यस्त बन्दै गए। बच्चा पनि आफ्नो दोस्रो दाँत उम्रनुपूर्व नै देवदूत बसेको खोरभित्र आवतजावत गर्न थालिसकेको थियो। छेकबारका तार भुइँसम्मै लत्रिएका थिए।
देवदूतलाई रमिते हुन् या बच्चा, कसैको परवाह थिएन। वास्तवमा ऊसँग एउटा कुकुरको जस्तै धीरता थियो। एकपटक बच्चाको स्वास्थ्य जाँच गर्न आएको डाक्टरलाई देवदूतको मुटुको चाल सुन्ने प्रलोभन जागेर आयो। परीक्षणपश्चात् पत्ता लगायो, उसको मुटु बेसरी धड्किरहेछ। उसका मिर्गौलाबाट यति डरलाग्दा आवाज आइरहेका छन्, ऊ जीवितै रहिरहनु ज्यादै असम्भव छ।
डाक्टरलाई समेत सबभन्दा अचम्भित पार्ने कुरा देवदूतको शरीरमा पलाएका तिनै भुत्लाहरू थिए। उसको शरीर सर्लक्कै प्वाँखले ढाकिएको थियो। डाक्टरले बुझ्न नसकेको एउटै कुरा थियो- त्यसो भए अन्य मानिसको शरीरमा किन प्वाँख पलाउँदैन त।
बच्चा स्कुल जान थालेको केही समयपछि कुखुराको खोर घामपानीले जीर्ण भयो। पखेटे बूढो भने मृत्यु अँगाल्न नसकेको बेवारिसेजस्तै यताउता घस्रिरहन्थ्यो। पेलायोको परिवारले बेलाबेला उसलाई डोरीले बाँधेर सुत्ने कोठाबाट बाहिर निकाल्नुपर्थ्यो। यद्यपि केही बेरमै ऊ भान्साकोठामा भेटिन्थ्यो। छोटो समयभित्रै ऊ यति धेरै ठाउँमा देखा पर्यो, मानौं त्यो घरमा ऊजस्तै अनेक पखेटे बूढाहरू छन्। अझ भनौं उसले त्यहाँ आफ्ना प्रशस्तै नक्कलहरू पैदा गरेको छ।
देवदूतै-देवदूतको नरकले पेलायोको जोडीलाई दिक्कै पारिसकेको थियो। एलिजेन्डाले पनि देवदूतलाई तथानाम गाली गर्न थालेकी थिइन्। देवदूतलाई खानसमेत अप्ठ्यारो भइरहेको थियो। उसका अद्भूत नेत्रहरू यति धमिला थिए, ऊ हिँड्दा किल्ला र दलिनमा ठोकिन पुग्थ्यो।
पेलायोले एउटा कम्बल ऊतिर फाल्यो र देवदूतलाई ओढाइदियो। ताकि, त्यसको छायामुनि ऊ बिनाहलचल ढुक्कसँग निदाउन सकोस्। त्यसपछि मात्र उनीहरूले रातमा देवदूतका ज्वरो बढ्ने गरेको र जिब्रोमा हुने पीडाले ऊ बरबराइरहने कुरा चाल पाए। यसले साँच्चिकै उनीहरूलाई सोचमग्न बनाइदियो। देवदूत छिट्टै मर्नसक्ने कुरातर्फ बल्ल उनीहरूको ध्यान गयो। यता छिमेकी ज्योतिषलाई समेत देवदूत मरेपछि कसरी अन्तेष्टि गरिन्छ भन्ने थाहा थिएन।
नयाँ हिउँदको ठण्डीले समेत देवदूतलाई आफूसँगै लिएर जान सकेन। ऊ कठिनपूर्वकै भए पनि हिउँद काट्न सफल भयो। वास्तवमा हिउँदपछिका घमाइला दिनहरूले उसको स्वास्थ्य अझ सुध्रियो। कति दिन त ऊ आँगनको कुनामा मुर्दाजस्तै चुपचाप लडिरह्यो। त्यहाँ उसलाई कसैले देख्न सक्थेन।
डिसेम्बर महिनाको सुरूतिर उसको पखेटाको पातामा ठूला र दह्रा प्वाँखहरू एकाएक उम्रन थाले। न्याउरीचरीका जस्ता ती प्वाँखहरूले कुनै दुर्भाग्य निम्त्याइहाल्ने हुन् कि भन्ने शंका चाहिँ जोकोहीको मनमा उब्जिन सक्थ्यो।
यी सारा परिर्वतनका कारण बूढो आफैंलाई थाहा हुनुपर्छ किनकि यो अवधिमा ऊ गुप्त रहेको थियो। त्यस बखत एक्लै हुँदा उसले मीठो लय हालेर गाएका समुद्री गीतहरू कसैले नसुनोस् भन्ने चान्थ्यो, जुन उसले टिलपिल टिलपिल तारा चम्किरहेका खुला आकाशमुनि एक्लै गाउँथ्यो।
एक बिहानको कुरा हो, एलिजेन्डा तरकारीका लागि केही प्याज काट्दै थिइन्। त्यसै बेला उनलाई हावाको बलियो झोंकाले प्रहार गरेजस्तो लाग्यो। हावाको झोंका भान्साकोठाभन्दा मुन्तिरको उच्च समुद्री छालले ल्याएझैं लाग्थ्यो। तुरुन्त उनी झ्यालतिर दगुरिन् र उड्नका लागि प्रयासरत देवदूतलाई अँगाल्न खोजिन्। ऊ यति भद्धा थियो, आफ्ना धारिला नंग्राले तरकारीमा चिरा नै पारिदियो।
उसले आफू बस्दै आएको टहरोलाई झन्डै ढलाइदिएको थियो तर पखेटाको बलले सजिलैसँग हावामा उचाइ लिन नसक्दा त्यसो हुन पाएन। मुस्किलै भए पनि देवदूत बूढोले हावामा उचाइ लिइछाड्यो।
एलिजेन्डाले आफू र आफ्ना पतिका लागि सन्तोषको लामो सुस्केरा छाडिन्। उनले पखेटे बूढोलाई घरको छानामाथिबाट उड्दै गएको देखिन् जो कमजोर र मर्न लागेको गिद्धले जस्तै आफूलाई हावामा माथिमाथि उठाउन जोखिम मोल्दै थियो। एलिजेन्डाले उसलाई एकटकले हेरिरहिन्। यद्यपि उनका हातहरू अझै प्याज काट्नमा व्यस्त थिए।
देवदूत देखिन छाडिसक्दा पनि उनले हेरेको हेर्यै गरिन्। उनले अझै हेरिन्।
जेहोस् अब पखेटे बूढो उनको जीवनमा झन्झट बनेर रहने त भएन। बरू ऊ समुद्री क्षितिजमा बिलाउनुपूर्वको एउटा काल्पनिक थोप्लो बनेर एलिजेन्डाको दिमागमा टप्किरहने भयो।
- यो कथा साहित्यका लागि नोबेल पुरस्कार विजेता ग्याब्रिएल गार्सिया मार्केजको 'अ भेरी ओल्ड म्यान विथ एनरमस विङ्ग्स' को अनुवाद हो। मार्केज कोलम्बियन उपन्यासकार, कथाकार, स्क्रिनराइटर र पत्रकार हुन्। 'वान हन्ड्रेड इयर्स अफ सोलिट्युड,' 'लव इन द टाइम अफ कलेरा,' 'क्रोनिकल अफ डेथ फोरटोल्ड' उनका बहुचर्चित कृति हुन्।
- अनुवादक रामचन्द्र केसीका नेपाली र अंग्रेजी भाषामा अनुदित पुस्तकमध्ये फ्रान्ज काफ्काको ‘रूपान्तरण’ (विसं २०६४) एक हो। उनी विभिन्न प्रकाशन प्रोजेक्टमा संलग्न छन्।