म त पढन्ते परें, आयोगको लिखित परीक्षा सजिलै नै कटाएँ। नित्य ५-१० कप कफी, मधु रमण आचार्यको ‘बिजनेस अफ ब्युरोक्रेसी’ र स्पेस्ड रिपिटिसन सिस्टम अन्तर्गतको नोटहरूको शरण लिनासाथ सफलता हासिल भइहाल्यो।
त्यही भएर नै होला, अन्तर्वार्ताको दिन आफ्नो पालो कुरिरहेका मसँगैका परीक्षार्थीको व्यग्रता मैले बुझ्न सकिरहेको थिइनँ।
‘बल्ल-बल्ल नाम निस्केको छ यार, यो अन्तर्वार्ता कटिदिए त हे भगवान, गनेरै १० किलो लड्डु चढाउँछु स्वयम्भूमा,’ नजिकैका एक मित्र आफ्नो डर हटाउन फोनमा आफ्नो साथीसँग खुसुरफुसुर गर्दै थिए।
अन्तर्वार्ताको अनिश्चितताको कारण गम्भीर बनेको वातावरणमा उनको खुसुरफुसुर पनि माइकिङ गरेजस्तै सुनिँदै थियो।
उसो त मेरा मनमा पनि कुराहरू नखेलेका हैनन्।
‘मान्छेलाई यतिका धेरै डर किन लाग्छ होला? यसपालि नकटे अर्को पालि कटी नै हाल्छ।’
‘यी साथीले फोनमा केटासँग कुरा गरिरहेका होलान् कि केटीसँग?’
‘स्वयम्भूका बुद्धलाई लड्डु मनपर्छ कि पर्दैन होला?’
मेरा मनका अनेक प्रश्नहरूलाई अकस्मात् चिर्दै आवाज आयो, ‘प्रवेश कोइराला?’ सुरूमा मेरै पो परेछ भन्ने सोचें र अरूलाई अचम्मित पार्ने आत्मविश्वासका साथ दृढ कदमहरू चाल्दै अन्तर्वार्ता लिन कुरिरहेका अधिकृत भएको कोठामा छिरें।
‘नमस्कार,’ ‘बस्नुस,’ ‘कम्फर्टेबल हुनुस्,’ आदिजस्ता औपचारिकता सकाएपछि अधिकृत म्याडमले अन्तर्वार्ताको सिलसिला सुरू गर्नुभयो।
‘हामी प्राय परीक्षार्थीहरूलाई भन्दैनौं, तर तपाईंको स्टेटमेन्ट-अफ-परपोज हामीलाई मनपर्यो। यसो गरौं, आज प्रश्नहरू यहीँबाट सुरू गरौं है त? तपाईंलाई थाहा छ हामीले कहिलेबाट परीक्षार्थीहरूसँग स्टेटमेन्ट-अफ-परपोज माग्न थाल्यौं?’
‘हजुर,’ मैले स्थिर भएर जवाफ दिएँ। हिजैमात्रै पढेको विषय भएकोले डराउनुपर्ने कुरै थिएन।
‘वि.सं २०७० बाट आयोगले आफ्नो कार्य सञ्चालन निर्देशिका परिमार्जन गर्दै लिखित परीक्षा तथा अन्तर्वार्ताबाहेक नैतिक परीक्षा समेत लिने व्यवस्था गरेको छ। यस अन्तर्गत परीक्षार्थीहरूलाई नैतिकतासम्बन्धी प्रश्नपत्र थप गरिएको छ भने सरकारी सेवामा आउन चाहने परीक्षार्थीले सो सेवा किन रोज्दै छु भन्ने विषय समेटेर स्टेटमेन्ट-अफ-परपोज समेत पेश गर्नुपर्ने व्यवस्था राखिएको छ।’
म्याडमले थप प्रश्न गर्नुभयो, ‘हामीले यसो किन गर्यौं भन्न सक्नुहुन्छ?’
‘अवश्य। नेपालको अर्थतन्त्रमा आएको परिवर्तनको कारण निजामती कर्मचारीहरूको तलबमान घटेको छ र पेन्सनको व्यवस्थामा पनि अनिश्चितता आएको छ। कोभिड-१९ को प्रकोपका कारण जनतामा निजामती कर्मचारीप्रतिको डिसस्याटिस्फ्याक्सन हालसम्मकै उच्च छ। फलस्वरूप, यो जागिरमा अब न त सुनिश्चितता छ, न त पैसा छ, न त मान-सम्मान नै। यस्तो परिप्रेक्ष्यमा एक तर्कसङ्गत मानिसले यो सेवा रोज्नुमा तीन वटामात्र कारण हुनसक्दछन्ः कि त ऊ योबाहेक केही जान्दैन र जीवनभरि न्यून आयमा बाँच्न तयार छ, कि त उसले आफ्नो स्टेटमेन्ट-अफ-पर्पोजमा बताएजस्तै ऊसँग यो सेवा रोज्ने केही ठोस प्रेरणा छ, कि त …’ म हिचकिचाएँ।
‘वाक्य पूरा गर्नुस्,’ म्याडमले अमिलो स्वरमा भन्नुभयो।
‘कि त ऊ निजामती सेवामा आएर भ्रष्टाचार गर्न चाहन्छ।’
म्याडमले मतिर हेर्नुभयो र मैले बुझ्न नसक्ने मुखाकृति बनाएर कागजमा केही टिप्नुभयो।
‘म तपाईंसँग स्ट्रेट-फर्वार्ड कुरा गर्छु। तपाईंको लिखित परीक्षामा उच्च अङ्क छ। संविधान, नीति-नियम, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा तपाईंका उत्तरहरूले विज्ञहरूको मन जित्न सफल भएका छन्। विशेषतः तपाईंले नैतिक परीक्षाको पत्रमा गर्नुभएको विवेचनाहरू अभूतपूर्व छन्।’
म अक्कनवक्क परें। आयोगले कहिलेबाट परीक्षार्थीहरूसँग यसरी खुलेआम लिखित परीक्षाको अङ्कबारे छलफल गर्न थाल्यो?
‘म किन यो सब तपाईंलाई बताइरहेको छु थाहा छ?’ म्याडमले सोध्नुभयो।
मैले मुन्टो हल्लाएर ‘अहँ’ को इसारा गरें।
‘नैतिकताको परीक्षामा भागवद् गीता तथा मार्कस अउरेलियसको ‘मेडिटेसन’ सम्बन्धी प्रश्नहरूमा तपाईका उत्तर अकाट्य भएता पनि, तपाईंले तीन वटा आधारभूत प्रश्नहरू बिगार्नु भएको छ। हामीलाई क्षमा गर्नुस्, हामी तपाईंलाई लिन सक्दैनौं।’
म अवाक् भएँ। तीन वटा प्रश्नहरू बिग्रियो रे? के भयो त? १०० को साटो ९७ आयो होला। यसबाट सिधै अन्तर्वार्तामा फ्याल्न मिल्छ?? तर, मैले यस्तै केही प्रतिकार गर्नुपूर्व नै म्याडमले घण्टी बजाई बोलाएको कार्यालय सहयोगीले उठ्नुस् सर भनी मलाई ढोका तिरको बाटो देखाइसकेको थियो। म चुपचाप त्यहाँबाट हिँड्नु बाहेकको विकल्प थिएन।
‘यस्तै हो सर, निराश नहुनुस्,’ मलाई डोहोर्याउन गोठालो लागेको का.स. फतफताउन थाल्यो।
‘यो नैतिकता हो कि के जातिको प्रश्नपत्र थप गरेपछि हेर्नुस्, तपाईंजस्ता कैयन होनहार परीक्षार्थीहरूलाई यसैगरी फ्यालेको छ आयोगले,’ ऊ बोल्दै थियो, म सर्वोच्चमा रिट हाल्न कति लाग्छ होला सोच्दै आधा मनले सुन्दै थिएँ।
‘तपाईं अब प्राइभेटमै जागिर गर्नुस सर। अर्कोपल्ट परीक्षा दिनुभयो भने पनि यही हुन्छ। लिखित कट्छ, तर नैतिक परीक्षाले अड्काइदिन्छ। ऊ त्यहाँको सर देख्दै हुनुहुन्छ? उहाँको चौथो पटक हो। आज पनि निश्चय नै फ्यालिनुहुन्छ।”
अन्तर्वार्तामा भएको मेरो अनादरले पहिल्यैबाट मेरो पारो तातिसकेको थियो, त्यही भएर मैले केही संयम गुमाउन पुगी ऊ माथि जाइलागें, ‘हावा कुरा नगर्नुस्, एउटा जाबो का.स. लाई के थाहा को फ्यालिन्छ को फ्यालिँदैन?’
पान खाएर राऽतै भएका लटरम्म दाँत देखाउँदै का.स. ले स्माइल-अफ-द-सेन्चुरी दिए, “हामीलाई के थाहा छैन र सर? तपाईंको कापी कसले जाँच्यो, कति नम्बर दियो, किन दियो, सब बताउन सक्छु म। बरु बेलुका ५००० जतिको व्यवस्था गर्नुस्, म तपाईंको कापी नै बोकेर आइदिन्छु।”
एउटा जाबो का.स. ले आयोगबाट कापी नै ल्याइदिन्छु भनेको सुनेर म ट्वाँ परे।
‘के सोच्नु हुन्छ सर? विश्वास लागेन कि क्या हो?’ उसले भन्यो।
‘सूचना प्रविधिको प्रयोगले कार्यालय स्वचालित गरी मिसिलमा आधारित कार्यप्रणालीको अन्त्य गर्दै कार्यालयमा हुने सबै किसिमको भ्रष्टाचार अन्त्य गर्नेछु। केही याद आयो सर?’ तिनले ङिच्च हाँस्दै भने।
मेरो स्टेटमेन्ट-अफ-परपोज को अंश!? ओहो, यिनले त साँच्चिकै सत्य बोलेका रहेछन्!
‘अर्कोपल्ट पनि यिनै प्रश्नहरू आउँछन् हेर्नुस्। अहिले तपाईंले के बिगार्नु भयो भन्ने थाहा पाउनु भयो भने अर्को पालि त कट्यो कट्यो! ल सर, यो रेष्टुरेन्टमा बेलुका है त? हात्तीहरू नबिर्सिनु होला नि!’
मेरो मनोबल डगमगाइसकेको थियो। यो पालि ननिस्के अर्को पालि त निस्की नै हाल्छ भन्ने आत्मविश्वास पनि अन्तर्वार्ता लिने म्याडमले तीन सामान्य त्रुटिहरू औंल्याई चकनाचुर पारिदिएकी थिइन्।
आखिर के रहेछन् ती त्रुटिहरू? म सोच्न बाध्य भएँ। यति सोचें, यति सोचें, कि कति बेला साँझ भयो र कति बेला म डगमगाउँदै ए.टि.एम र त्यसपछि रेष्टुरेन्ट पुगें मलाई आफैं थाहा भएन।
रेष्टुरेन्टभित्रको गोप्य कक्षको टेबललाई का.स. ज्यूले सेकुवा, ह्विस्की र हुक्काले सिँगारपटार गरिसक्नु भएको रहेछ।
‘ल सर, यो होइन तपाईंको कापी? चेक गर्नुस् त,’ मबाट रकम लिइसकेपछि उनले मलाई ४-५ पाना फोटोकापी थमाइदिए। ती मेरै उत्तरपुस्तिकाहरू थिए।
‘विवेचनात्मक उत्तरहरूमा तपाईंको अङ्क उच्च छ, तिनीहरू हेर्दै नहेरे हुन्छ। तपाईंले बिगारेको भन्या त्यही सुरूका सामान्य प्रश्नहरू हुन्। प्रश्न १ र २ हेर्नुस् त।’
मैले प्रश्न १ पल्टाएँ।
‘निम्नानुसारका गतिविधिहरूलाई निजामती कर्मचारीको आचरण विपरीत हुने आधारमा १, २, ३ (१ अर्थात सबभन्दा आचरणहीन) गरी श्रेणीबद्ध गर्नुहोस्ः
क) चाडबाड तथा पर्वहरूमा ठेकेदारहरूद्वारा दिइने उपहार ग्रहण गर्नु,
ख) आफ्नो पदको दुरूपयोग गरी आफन्तलाई भनसुन गरी करारमा लगाउनु,
ग) आफूभन्दा तल्लो पदको कर्मचारीलाई दबाव दिएर नमिल्दा दस्तावेजहरूमा हस्ताक्षर गर्न लगाउनु’
मैले (ख) लाई (१), (ग) लाई (२) र (क) लाई (३) गरी श्रेणीबद्ध गरेको थिएँ।
‘के गल्ती भएछ?’ मैले बोलेरै सोचें।
का.स. ज्यूले सेकुवा चपाउनको व्यस्तताबाट विश्राम लिँदै भन्नुभयो।
‘तपाईंले किन त्यसरी उत्तर दिनुभएको बताउनुस् त।’
मैले मेरो तर्क प्रस्तुत गरे, ‘आफूसँगै काम गर्दाको ठेकेदार कामकै सिलसिलामा मित्र पनि बन्नसक्छ र मित्रबाट उपहार लिनु अन्यथा होइन, त्यसैले यो (३)।
आफूभन्दा तल्लो पदको कर्मचारी भएता पनि नमिल्दो कागजमा हस्ताक्षर गर्नु नगर्नुमा उसको पनि सुझबुझ हुनु आवश्यक छ, त्यसैले यो (२)।
आफ्नो पदको दुरूपयोग गर्नु चाहिँ अस्वीकार्य छ, त्यसैले यो (१)।’
का.स. ज्यू मख्ख परे, ‘उत्तर त गज्जबको दिनुभएको हो सर। तर अफसोच गलत्, गलत्, गलत्।’
बिहान सिंह भएर उठेको मलाई दिनभरिका घटनाक्रमहरूले मुसक बनायसकेको थियो। त्यही भएरै अत्यन्तै मलिन स्वरमा सोध्न पुगे, ‘उत्तर के हो त सर? कुन (१) को अनि कुन (३) हो?’
उनले मतिर हेरेर अप्रत्यासित गाम्भीर्यताको साथ जवाफ दिए, ‘तीन वटै उत्तरहरू (१) हुन् सर।
यीमध्ये कुनै पनि थोरै आचरणविपरीत वा धेरै आचरणविपरीत भन्ने छैनन्। सबै उत्तिकै अस्वीकार्य छन्।’
हँ? के? लौ? हो र? धेरै कुराहरू चले मेरो मनमा।
का.स. ज्यूले थप्दै गए, ‘प्रश्नले तीन वटा उत्तर र तीन वटा अङ्क दिएर तपाईंलाई `ए हैन, यो त गर्न मिल्छ, यो चाहिँ गर्न मिल्दैन` भन्ने सोच्न विवश बनायो र तपाईं विवश हुनु पनि भयो। जस्तोसुकै ज्ञानी मान्छे पनि प्रलोभनको वशमा परी मर्यादा विपरीतको आचरण गर्न औचित्य खोज्ने गर्दछ, जुन आयोगलाई असह्य छ। यही नै यो प्रश्नको मर्म हो।’
म साँच्चिकै नै इनलाइटेन्ड भएँ। म्याडम र आयोग प्रतिको मेरो जुर्मुराएर उठेको रिस थोरै भए पनि शान्त हुँदै थियो। यही शान्त चित्त लिएर मैले प्रश्न नं २ पल्टाएँ:
‘मान्नुस् कुनै कर्मचारीलाई कार्यालयले मोटरसाइकल दिएको छ र कार्यालयमा मर्मत-सम्भारसम्बन्धी बजेट समेत उपलब्ध रहेको छ। उक्त कर्मचारीले सो सुविधाको दुरूपयोग गरी, आफ्नो व्यक्तिगत मोटरसाइकल बनाए बापतको बिल कार्यालयमा भरपाईको लागि पेश गर्छ भने यहाँ सबभन्दा गलत् के भयो?’
का.स. ज्यूले सोध्नुभयो, ‘के उत्तर लेख्नुभएको रहेछ तपाईंले?¹
१ अङ्कको मात्र भएकोले मैले दुई वाक्यमै यसको उत्तर टुङ्ग्याइदिएको थिएँ, जुन मैले हुबहु पढेर सुनाएँ, “कार्यालयले खरिद गर्ने सवारीसाधन नितान्त कार्यालय प्रयोजनकै लागि प्रयोग गर्न खरिद गरिएको हुन्छ। यसको इन्धन, रेखदेख तथा मर्मत-सम्भारको लागि छुट्याइएको जनताको करबाट उठाइएको रकमलाई कर्मचारीले आफ्नो निजी सवारी साधनको निम्ति उपयोग गर्नु आर्थिक भ्रष्टाचार हो।”
“अङ्ग्रेजीमा भन्छन् नि सर? सर्ट-एण्ड-स्वीट। लेख्न चाहिँ तपाईं बढो गज्जबकै लेख्नुहुँदो रहेछ। तर अफसोच, यो पनि गलत!” का.स. ज्यू व्हिस्कीको नशाले उत्तेजित हुँदै भन्न थाले।
म केही प्रतिकार गर्नसक्ने अवस्थामा थिइनँ। यो प्रश्न मेरो लागि छर्लङ्ग नै थियो र मैले यसमा दिएको उत्तर कसरी गलत छ भन्ने म बुझ्न सकिरहेको थिइनँ।
“भन्नुस् न त सर, कसरी गलत् भएछ यो?” मैले सोधें।
का.स. ज्यूले गिलास टेबलमा राखेर हुक्का तान्दै भने, “तपाईं यहाँ आर्थिक भ्रष्टाचार देख्दै हुनुहुन्छ। तर यहाँ त्योभन्दा जटिल अर्को भ्रष्टाचार भएको छ। राष्ट्रसेवक कर्मचारीले आफ्नो निजी सवारीसाधन हुँदाहुँदै पनि कार्यालयको सवारीसाधन लिएको देखिन्छ। के यो गलत होइन?”
मैले थोरै भए पनि जवाफ फर्काएँ, “तर यो त राज्यले उसलाई दिएको सुविधा हो। कहाँ लेखिएको छ निजामती कर्मचारीले आफ्नो सवारी साधन हुँदाहुँदै पनि सरकारी सवारी साधन लिन मिल्दैन? यो भ्रष्टाचारको परिभाषाभित्र पर्दैन।”
“हो।” का.स. ज्यूले हाँस्दै भने, “सही भन्नुभयो तपाईंले। तर, यो कानुनी रूपमा भ्रष्टाचारको व्याख्यामा नपरेकै कारणले गलत छ। जे कानुनमा नगर्न भनेको छ, कर्मचारीले त्यो त गर्नै हुँदैन। तर जुन आचरण गलत हुँदाहुँदै पनि कानुनको परिधिमा छैन, त्यसमा एक सच्चा राष्ट्रसेवकले आफ्नो विवेक देखाउनु अपरिहार्य छ। यो नै नैतिकताको मूल व्याख्या हो।”
मसँग उनको कुरा काट्न सक्ने कुनै पनि तर्क थिएन। म निराश भइसकेको थिएँ।
“यस्तो किसिमको अजिब प्रश्न बिगार्यो भन्दैमा आयोगले मलाई यसरी परीक्षाबाट फाल्न मिल्छ त सर? के यो न्यायोचित हो?” मैले सोधें।
का.स. ज्यूले हाँस्दै उत्तर दिए, “हो सर, यी प्रश्न साँच्चिकै घुमौरा छन्। आयोगले पनि यी प्रश्नहरू बनाउँदा परीक्षार्थीले मिलाउँछ नै भनेर बनाएको होइन। उसै पनि, तपाईंलाई यी दुई प्रश्नहरू नमिलेर फालिएको होइन। तपाईंलाई त तेस्रो प्रश्न नमिलेकोले फालिएको हो बुझ्नुभयो? हा हा हा !”
“तेस्रो प्रश्न?” म ओल्टाइ-पल्टाइ मेरो उत्तर पुस्तिका हेर्न थाले, ती दुई प्रश्नमा बाहेक कतै पनि मैले शून्य पाएको थिइनँ।
“त्यहाँ खोजेर केही हुनेवाला छैन सर!” का.स. ज्यू उठेर ढाका टोपी लगाउन थाले।
‘कहाँ खोज्ने त? के गलत भयो मेरो तेस्रो प्रश्नमा, भन्नुस् न?’ उनी हिँड्न लागेको देखेर मैले आत्तिँदै सोधें।
“क्षमा गर्नुहोला सर, तेस्रो प्रश्नको बारेमा म केही पनि भन्न सक्दिनँ,” उनले मलाई वास्ता गरेनन्।
‘लौ, अनि त्यत्रो पैसा दिएको मैले!’ म पनि हठात् उठें। मलाई म कहाँ चाहिँ चुकेछु भनेर जान्ने तीव्र इच्छा जागिसकेको थियो।
“मैले त तपाईंको उत्तरपुस्तिकामा भएको कुराहरू भन्छु पो भनेको थिएँ त सर। तेस्रो प्रश्न त तपाईंको परीक्षामा आएकै थिएन। त्यसैले मैले केही भनिरहनु आवश्यक छैन। ल त सर, सोच्नुस्, गम्नुस् अनि जुन दिन यो तेस्रो प्रश्नको त्रुटि थाहा पाउनुहुन्छ, त्यसदिन फेरि आयोगको परीक्षा दिनुस्, त्यतिञ्जेल चाहिँ तपाईंले कष्ट नगरेकै बेस।”
दिनभरिको उनको हँसिलो मुहार अहिले अकस्मात् चिसो भइसकेको थियो। सायद त्यही कारणले होला, मैले उनलाई जानबाट रोक्न सकिनँ।
त्यस दिन घर फर्केपछि पनि मलाई निक्कै समयसम्म निद्रा लागेन। के थियो त्यो नैतिकताको तेस्रो प्रश्न जुन प्रश्नपत्रमै थिएन? कहाँ चाहिँ चुकें म?