आमाभन्दा ठुलो के छ र संसारमा, सुख दुःख भुल्नलाई
कपिला बनी तयार हुँदैछु एकदिन, बास्ना छरी फुल्नलाई
उमेरसँगै गाह्रो रैछ नि आमा, आनन्दले श्वास फेर्नलाई
सिरानीमा तिम्रै तस्बिर राख्छु, सम्झना आउँदा हेर्नलाई
पोहोर सालको पक्कै फाट्यो होला, सारी-चोलो र जामा
सधैँ कति मेरै चिन्ता लिएर रुन्छेऊ, नरोउन मेरी आमा।
लोकसेवा पढ् छोरा भन्थेऊ, म आफू खुसी हुन फिल्म मेकिङ पढेर
साह्रै दुख दिएको छु आमा, तिमीभन्दा जान्ने भएर
एकदिन त म पनि तिम्रो अगाडि, मुख देखाउन लायक हुनेछु
अहिले पो छुन सकेको छैन शिखर, एकदिन त पक्कै छुनेछु
अनि तिम्रो फेरिदिन्छु,फाटेको चोलो र जामा
सधैँ कति रोइरहन्छेऊ, हाँसिदेऊ न आमा।
अब धेरै नरुनु है आमा, शत्रुले फसाउँछ
संसार हँसाउन हिँडेको छ छोरो, तिमीलाई पनि हँसाउँछ
अब दुखका दिन गए आमा, सुखका दिन आएको छ
ऐउटा खुसीको खबर छ है आमा, सुनाउन मन लागेको छ।
पोहोर घरमा आउँदा लिएस् भन्थेऊ, बालाई एउटा जुहारी
तिम्रै खुसीको लागि लिएर आउँदै छु, सुन्दर सुशील बुहारी।
मनको पिर मनबाट निकाली, मासी देऊ न आमा
बुहारी लिएर आएको छ छोरो, हाँसिदेऊ न आमा।