उनीहरू तीन जना रहेछन्। सामान ढुवानीमा प्रयोग हुने गाडी लिएर आउँदा रहेछन्। कुनै एउटा इलेक्ट्रोनिक्स पसलको ताल्चा खुसुक्क फोड्दा रहेछन्। अनि, सबैले देखी–देखी त्यहाँका सामान लोड गरेर लाँदा रहेछन्।
गाडी ल्याएर सामान ओसारेको सबैले देखे पनि ती चोर थिए भन्ने शंका कसैलाई भएन। सबैले ठाने– पसलका मान्छे आफैं सामान ओसारिरहेका होलान्!
यसरी एक वर्षदेखि राजधानीका भोटेबहाल र भगवतीबहाल क्षेत्रमा सबैका आँखामा छारो हालेर एकपछि अर्को इलेक्ट्रोनिक्स पसल चोर्दै आएका तीन जनालाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत, बिहारको पूर्वी चम्पारण घर भई काठमाडौंको सामाखुसीमा कबाडी सञ्चालन गर्दै आएका मन्टुकुमार जैसवालसहित भारत, फुलवरिया घर भई सानेपा बस्ने नरेश चौधरी र रत्नेशकुमार चौधरी छन्।
एक वर्षदेखि भइरहेको सिलसिलेवार चोरीमा उनीहरूले अरू पसल होइन, इलेक्ट्रोनिक्स पसललाई नै आफ्नो निशाना बनाउँदै आएका थिए। एउटै खालको पसल मात्र चोरी भएको देखेर स्थानीयलाई अचम्म त लाग्थ्यो, तर यसको कारण के हुनसक्छ भन्ने आँकलन कसैले गरेनन्।
यस क्षेत्रमा एक वर्षयता सात वटा ठूला चोरी भएको प्रहरीले जनाएको छ। सबै घटनाको प्रकृति एउटै थियो– सटर फोर्ने अनि महँगा–महँगा इलेक्ट्रोनिक्स सरसामान लैजाने।
उजुरीका चाङ परे पनि चोरी गर्ने को हो भनेर प्रहरीले पत्ता लगाउन सकेको थिएन।
महानगरीय अपराध महाशाखाको टोलीले त्यस क्षेत्रमा चोरी गरेको भन्दै पक्राउ गरेका तीन जनाले ‘गाडी नै भाडामा लिएर चोर्न जाने गरेको’ बयान दिएका छन्।
गाडी नै लगेर चोर्दा स्थानीयले सामान सार्न लागेको होला भनेर सोच्ने गरेको प्रहरीले बताएको छ। उनीहरूले सामान गाडीमा लोड गरी बल्खुमा रहेको गोदाममा लैजाने गरेको एसपी प्रकाशजंग कार्कीले बताए। चोरी गरेको सामान बेचेर उनीहरू क्यासिनो जाने गरेको खुल्न आएको छ।
पक्राउ परेकाहरूका साथबाट रोयल क्यासिनोका केही सिक्कासमेत बरामद भएका छन्। उनीहरूले भोटेबहालस्थित राजेन्द्र पौडेलको सिटी लाइट इलेक्ट्रोनिक्सबाट ३६ लाखको, रुपक सिंहको पसलबाट २ लाखको, भगवतीबहालमा रहेको अच्युत थपलियाको पसलबाट ६० लाखका सामान चोरेका थिए।
त्यस्तै, सन्तोष साहको पसलबाट २ लाख ५० हजारको, शशि शर्माको पसलबाट २४ लाखको, सञ्जय अग्रवालको पसलबाट १० लाखको सामानसमेत चोरेको प्रहरीले जनाएको छ।