कर्णाली प्रदेशमा आज ६ जना मन्त्रीले शपथ लिने भएका छन्।
साढे दुई बजेट मन्त्रीहरुलाई शपथ गराउन मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा चिठी गएको छ।
यद्यपि नेकपा माओवादीका प्रमुख सचेतक रणसिंह परियारबाहेक मन्त्री बन्न लागेका पाँच जनाको नामै तोकिएको छैन।
‘शपथका लागि भनेर पत्र आएको छ, हामी कसको नाम आउँछ भनेर पर्खिरहेका छौं,’ प्रदेश प्रमुखको सचिवालयका एक कर्मचारीले भने।
केही दिनअघि नेकपा माओवादीबाट रणसिंह परियार विनाविभागीय मन्त्री बनेका थिए। अहिलेसम्म उनको मन्त्रालय पनि तोकिएको छैन।
गएको चैत २७ गते मुख्यमन्त्री बनेका यामलाल कँडेलले विश्वासको मत लिँदा परियारलाई मन्त्री नियुक्त गरेका थिए।
त्यसपछि आज एकजना बाहेक मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। कर्णालीमा सत्तारुढ दलहरु माओवादी र एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न सकेको थिएन।
वैशाख ११ गते दुई दलबीच मन्त्रालय भागबण्डा टुंगिएको थियो। जसअनुसार माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, जलस्रोत तथा उर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गरि चार वटा लिने सहमति भएको छ।
सरकारको नेतृत्व गरिरहेको एमालेले, आन्तरिक मामिला तथा कानुन, कृषि र भौति पूर्वाधार गरि तीन मन्त्रालय लिने सहमति भएको थियो।