पाकिस्तानले एकदिवसीय क्रिकेटमा भारतको जितको कीर्तिमानलाई पछाडि छोडेको छ। हाल वेष्ट इन्डिजको भ्रमणमा रहेको पाकिस्तानले तेस्रो एकदिवसीयमा विजय हात पारेपछि भारतको एकदिवसीय जितको कीर्तिमानलाई पछाडि पारेको हो।
भारत १९७४ देखि एकदिवसीय खेल्दै आइरहेको छ। यसक्रममा भारतले ९ सय ७ एकदिवसीय खेलेको छ। जसमा ४ सय ५९ खेलमा जित हात पारेको थियो। तर, बुधबार बिहान वेष्ट इन्डिजलाई हराएपछि पाकिस्तानले एकदिवसीयमा जितको संख्या ४ सय ६० पुर्याएको छ।
पाकिस्तानले १९७३ देखि एकदिवसीय खेल्न थालेको हो। यसक्रममा पाकिस्तानले ८ सय ७४ एकदिवसीय खेलेको छ। पाकिस्तानले खेलेको एकदिवसीयमा उसको पराजय ३ सय ८८ छ। जसमा ८ खेल टाई भएको थियो भने १८ खेल अनिर्णित टुँगिएको थियो।
भारतले भने ४ सय २ खेल हारेको छ। ७ खेल टाई र ३९ खेल अनिर्णित टुँगिएको थियो।
एकदिवसीयमा सबैभन्दा बढि खेल जित्ने देश अस्ट्रेलिया हो। अस्ट्रेलियाले अहिलेसम्म ८ सय ९८ एकदिवसीय खेलेको छ, जसमा ५ सय ५४ खेल जितिसकेको छ भने ३ सय ३ खेलमा पराजय भोग्नु परेको थियो। यसबीच ९ खेल टाई र ३२ खेल अनिर्णित टुँगिएको थियो।