काभ्रेकी मैना सुनारलाई हिरासतभित्रै बलात्कारपछि हत्या गरेको अभियोगमा काभ्रे जिल्ला अदालतले नेपाली सेनाका तीन पूर्वअधिकृतलाई जन्मकैदको फैसला गरेको छ । यो खबर आजका सबै पत्र पत्रिकामा प्रमुखताका साथ छापिएको छ। हामीले केशवराज पौडेलले राजधानी दैनिकमा लेखेको समाचार लिएका हौ।
जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आइतबार नेपाली सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको सजाय सुनाएको हो । हत्या अभियोग लागेका तत्कालीन सहसेनानी निरञ्जन बस्नेतलाई भने अदालतले अभियोगबाट सफाइ दिएको छ ।
काभ्रे खरेलथोककी १५ वर्षीया मैनालाई ५ फागुन २०६० मा ब्यारेकमा ल्याएर बलात्कारपछि हत्या गरेको अभियोगमा उनीहरूविरुद्ध लामो समयदेखि मुद्दा जारी थियो । हत्याका चार अभियुक्तमध्ये जिल्ला अदालतले सफाइ दिएका बस्नेतलाई २०६६ सालमै शान्ति मिसनबाट फिर्ता पठाएको थियो । अफ्रिकी राष्ट्र चाडमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका बेला फिर्ता पठाइएपछि यो मुद्दा थप बहसमा आएको थियो ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको समयमा सेनाले सर्वसाधारणको हत्या गरेको अभियोगमा अदालतबाट सजाय सुनाइएको यो पहिलो घटना हो । जिल्ला हुँदै सर्वोच्च समयसम्म आइपुगेको यो मुद्दामा पुनः छानबिन गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएपछि अदालतले यो फैसला गरेको हो ।
२१ मंसिर २०६२ मा मैनाकी आमा देवी सुनारले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सेनाका चारजना अधिकृतविरुद्ध किटानी जाहेरी दिएपछि सुरु भएको यो मुद्दा ११ वर्षपछि जिल्ला अदालबाट टुंगिएको हो । सो उजुरी दर्ता नभएपछि मैनाकी आमा देवीले जिप्रकालाई किटानी दर्ता गर्न आदेश दिन माग गर्दै अदालतमा निवेदन दिएकी थिइन् । उनको निवेदनअनुसार अदालतले जाहेरी दर्ता गरी मुद्दा अघि बढाउन आदेश दिएपछि यो विषय न्यायिक अनुसन्धानको घेरामा परेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मीनबहादुर रायमाझी र रामप्रसाद श्रेष्ठको संयुक्त इजलासले ५ असोज २०६४ मा जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
मैनालाई बेपत्ता पारेपछि आमा देवी र बुवा पूर्णबहादुरले खोजबिनका लागि विभिन्न निकायमा निवेदन दिएपछि सेनाले ५ वैशाख २०६१ मा परिवारलाई मैनाको मृत्यु भएको जानकारी गराएको थियो । जानकारीपछि कानुनी कारबाहीमा भौंतारिएका मैनाका परिवारले जिल्ला अदालतको यो आदेशसँगै न्याय पाएको बताएका छन् । तर, कार्यान्वयन हुनेमा भने शंका व्यक्त गरेका छन् ।
सेनाका अधिकृतविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत १७ माघ २०६४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २ फागुन २०६४ मा जिल्ला अदालतले अभियुक्तलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि १ असोज २०७० मा तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले मुद्दालाई मुल्तबीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध मैनाकी आमा देवीले अदालत गुहारेपछि २८ पुस २०७२ मा न्यायाधीश अवानी मैनाली (भट्टराई) को इजलासले मुद्दालाई जगाउने निर्णय गरेको थियो । मुद्दा पुनः जागेपछि भने जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।