केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङ्घले मिर्गौलापीडित कलाकार सागर बोहोरालाई रु एक लाख ५२ हजार ४१६ आर्थिक सहयोग गरेको छ।
सङ्घको पहिलो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले बोहोरालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै कलाकारलाई राज्यले पनि सहयोग गर्नु आवश्यक रहेको बताए।
सांसद जगदीश्वरनरसिंह केसीले कलाकार सुखदुःखका साथी भएको भन्दै उनीहरुलाई राज्यले उच्च सम्मान गर्नुपर्ने बताए। उनले भने, ‘कलाकारले नेपाली संस्कार र संस्कृतिलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन्।’
सङ्घका अध्यक्ष नारायण खड्का, नेपाल लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष रमेश बिसी, सचिव राधिका हमाल, ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलगायतले कला र गलाको सम्मान राज्यस्तरबाट हुनुपर्नेमा जोड दिए। सो अवसरमा अध्यक्ष खड्काको स्वरमा रचना गरिएको गीति एलबम ‘तिम्रै हो म’ विमोचन तथा नेपालको लोकसंस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका कलाकारलाई सम्मानसमेत गरिएको थियो । रासस