आउने आइतबार हुने पहिलो चरणको निर्वाचनमा करिब आधा करोड मतदाताले मत हाल्न पाउने छन्। मतदान हुने तीनवटा प्रदेशका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेको तथ्यांक निर्वाचन आयोगले उपलब्ध गराएको छ। आइतबार प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने ३४ जिल्लाका २८३ गाउँपालिका/नगरपालिकामा निर्वाचन हुन लागेको हो।
काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २ लाख ७९ हजार ३०६ जना मतदाता छन्। ३२ वडा भएको काठमाडौंमा १५६ मतदानस्थल अन्तर्गत ३४० वटा मतदान केन्द्र छन्। यहाँ ५ महिला र २३ पुरूष गरी २८ जनाले नगर प्रमुखका लागि उम्मेद्वारी दिएका छन्। काठमाडौंमा १ सय ६२ पदका लागि ८६७ जनाले उम्मेद्वारी दिएका छन्।
काठमाडौंपछि धेरै मतदाता पोखरालेखनाथ महानगरपालिकामा छन्। यहाँ १ लाख ६८ हजार ६७ मतदाता छन्। पोखरा सबैभन्दा धेरै वडा भएको महानगरपालिका हो, जहाँ ३३ वडा छन्। यहाँ ९८ मतदान स्थलमा २१० मतदान केन्द्र बनाइएको छ। पोखराको मेयरमा लागि २ महिला र १४ पुरूष गरी १६ जनाले उम्मेद्वारी दिएका छन्। यहाँ १६७ पदका लागि ८३८ जनाले उम्मेद्वारी दिएका छन्।
चितवनको भरतपुर महानगरपालिकामा १लाख ५० हजार २७४ मतदाता छन्। २९ वडा भएको भरतपुरमा ६५ मतदान स्थल अन्तर्गत १७९ मतदान केन्द्र तोकिएको छ। यहाँ मेयरका लागि १४ जनाको उम्मेद्वारी परेको छ, जसमध्ये ११ पुरूष र ३ महिला छन्। यहाँ १४७ पदका लागि ७०० जनाले उम्मेद्वारी दिएका छन्।
अर्को महानगर ललितपुर महानगरपालिकामा १ लाख १२ हजार ९२३ मतदाता छन्। यहाँ २९ वडामा ५२ मतदान स्थल र १३२ मतदान केन्द्र छन्। ललितपुरको मेयरका लागि १३ जनाले उम्मेद्वारी दिएका छन् भने मेयरमा महिलाको उम्मेद्वारी छैन। महानगरका १४७ पदका लागि जम्मा ६१९ जनाको उम्मेद्वारी परेको छ।
पहिलो चरणमा चुनाव हुने हेटौंडा एकमात्रै उपमहानगरपालिका हो जहाँ ८३ हजार ५९७ मतदाता छन्। यहाँ १९ वडामा २८ मतदान स्थल र ९३ मतदान केन्द्र छन्। यहाँ मेयरका लागि १ महिला र १४ पुरूष गरी १५ जनाले उम्मेद्वारी दिएका छन्। यहाँ ९७ पदका लागि ४८८ जनाले उम्मेद्वारी दिएका छन्।
सबैभन्दा थोरै मतदाता भएको मनाङको नार्फु गाउँपालिकामा ३६२ जना मतदाता छन्। यहाँ सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिङ्मा छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन्। यहाँका ५ वटा वडामा ५ वटै मतदान केन्द्र तोकिएको थियो। मनाङकै चामे गाउँपालिकामा ५११ जना मतदाता छन्। यहाँ पनि ५ वडामा ५ मतदान केन्द्र छ। चामेको अध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ। डोल्पाको छार्का ताङसोक गाउँपालिकामा ७४२ मतदाता छन्। यहाँ ६ वटा वडामा ६ वटै मतदान केन्द्र राखिएको छ। छार्का ताङसोकमा अध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ।