विश्व वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा चेतना फैलाउने उद्देश्यले पाँच नेपाली युवाले विभिन्न आठ मुलुकमा मोटरसाइकल यात्रा आजदेखि सुरु गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको परिसरबाट सुरु गरिएको सो यात्रामा धादिङका दीपकप्रसाद पौडेल, सुरज अधिकारी, रमेश धिताल र रामकृष्ण नेपाल तथा मकवानपुरका श्यामप्रसाद सुवेदी सहभागी छन्।
यात्राका सहभागीले नेपालले वातावरण संरक्षणका क्षेत्रमा गरेका प्रयासबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउनेछन् । उनीहरुले भारत, बङ्गलादेश, म्यान्मार, लाओस, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र इन्डोनेसियाको भ्रमण सम्पन्न गरी १०१ दिनमा स्वदेश फर्कनेछन् ।
यहाँ आज आयोजित बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले यात्रुलाई सफलताका कामना गर्दै यात्राका क्रममा सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट सहयोगका लागि वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे।
सांसद गुरुप्रसाद बुर्लाकोटी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल, व्यवसायी राजन न्यौपाने लगायतले सो कार्यले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । रासस