कालिकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा आरोपितमध्ये पक्राउ परेका टाइगर भनिने पदमबहादुर रावतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार शुक्रबार जिल्ला अदालतले दिएको आदेशअनुसार रावतलाई पुर्पक्षका लागि कारागार कार्यालय, सुर्खेत पठाइएको हो।
कालिकोटको महाबै गाउँपालिकाका ४८ वर्षीय राउतलाई प्रहरीले यही वैशाख ९ गत पक्राउ गरेको थियो।
कालिकोटका १७ वर्षीय रजबहादुरको २०६५ फागुन २६ गते हत्या भएको थियो।
रजबहादुर हत्या प्रकरणमा २०७९ साउन १३ मा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। दोस्रो पटक २०८० माघ ९ गते पक्राउ पुर्जी जारी भएको थियो।
उक्त घटनामा परिवारले किटानी जाहेरी दिएपछि अहिले पक्राउ परेका महाबै गाउँपालिकाका पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुवास भनिने वीरबहादुर मल्ल र अशोक भनिने अलि कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।