बेलायतमा हिजो सम्पन्न निर्वाचनमा बहुमत प्राप्त सत्तारुढ कन्जर्भेटिभ पार्टीलाई नराम्रो झड्का लागेको छ। आफ्नो कन्जरभेटिभ पार्टीको जित सु-निश्चित भएको अड्कलबाजी गर्दै प्रधानमन्त्री थेरेसा मे ले निर्धारित समयभन्दा ३ वर्षअघि नै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।
भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखियो भनेझैं कन्जरभेटिभ पार्टीले आफ्नो बहुमत गुमायो भने विपक्षी लेबर पार्टी फेरि सशक्त भएर राष्ट्रिय राजनीतिमा उदाएको छ।
कुल ६५० सदस्यीय रहेको बेलायतको संसदमा प्रधानमन्त्री थेरेसा मेको कन्जरभेटिभ पार्टीले ३१८ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि उक्तको जनमत पहिलेको तुलनामा निकै घट्यो।
चुनाव अघि लगभग ४०० सिट जित्ने उसको अपेक्षा थियो। निर्वाचन परिणामपछि प्रधानमन्त्री थेरेसा मे पुन: प्रधानमन्त्री बन्छिन् वा बन्दिनन् भन्ने कुरा पनि अनिश्चित भएको छ।
आफ्नो प्रधानमन्त्री कार्यकाल ३ वर्ष बाँकी रहँदै थेरेसा मेलाई मध्यावधि चुनाव घोषणा गर्नुपर्ने जरुरि थिएन। गत वर्ष सम्पन्न जनमत संग्रहमार्फत् बेलायतले युरोपियन युनियनबाट छुट्टिने निर्यण गरेपछि तात्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए। तर क्यामरुनको कन्जर्भेटिभ पार्टीको संसदमा बहुमत थियो। त्यही पार्टीबाट मैले प्रधानमन्त्री पद सम्हालेकी थिइन्।
संसदमा बलियो बहुमत प्राप्त गर्न, विपक्षी लेबर पार्टीलाई अझै कमजोर बनाउन, युरोपियन युनियनसँग छुट्टिनका निम्ति गरिने वार्ता प्रक्रियामा जनताको नयाँ म्यान्डेट प्राप्त गर्न उनले निर्वाचनमा जाने निर्णय गरेकी थिइन्। तर निर्वाचनको परिणाम उनीविरुद्ध गएको छ।
विपक्षी नेता जर्मी कोर्बिनको सफलता
सेप्टेम्बर २०१५ देखि लेबर पार्टी सम्हालेका नेता जर्मी कोर्बिनलाई धेरैले असक्षम नेताका रुपमा लिएका थिए। उनका सहकर्मीले समेत पार्टीका लागि उनी लाजमर्दो भएको अभिव्यक्ति दिएका थिए। पार्टी बाहिरका कतिपयले उनलाई ‘जोक’ भन्ने गर्थे।
त्यसको कारण उनी कठोर प्रकारका ‘लेफ्टिस्ट’ हुनु हो। लेबर पार्टीलाई भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयरले ‘लेफ्ट’बाट ‘सेन्टर’ तर्फ लागेका थिए। विगतमा लेबर पार्टीको जितको श्रेय पनि धेरैले टोनी ब्लेयरको उक्त नीतिलाई दिनेगरेका छन्। कोर्बिन पुराना ढर्राका कठोर ‘लेफ्टिस्ट’ हुन्। उनीसँग दाँज्ने हो भने अमेरिकाका समाजवादी नेता बर्नी स्याण्डर्स नरमपन्थी लाग्छन्।
तर यो चुनावमा जर्मी कोर्बिनले निकै ठूलो सफलता प्राप्त गरे। उनले वार्तामान राज्य प्रणालीका नीतिमा ठूलो हेरफेर गर्नसक्ने ताकत देखाएका छन्। प्राय गरेर राजनीतिमा सहभागिता वा भोट दिन नचाहने युवा वर्गलाई उनले परिचालन गर्न सफल भए। युवाहरुको त्यो समुहले मत नदिँदा बेलायतको जनमत संग्रहमा युरोपबाट छुट्टिन चाहने समुहले जितेको अनुमान गरिन्छ।
युवाहरुले लेबर पार्टीलाई भोट दिनुको कारण भने कोर्बिनले नि:शुल्क शिक्षा लगायतका चुनावी प्रतिवद्धता पनि हो। उनी प्रधानमन्त्री बन्नसक्ने सम्भावना कमजोर छ। अहिलेसम्म उनको दलले २६१ सिट जितेको छ। उनी विपक्षीमा रहेर अहिलेको आफ्नो राजनीतिक अभियानलाई जारी राख्नेछन् र पार्टी बलियो हुँदै जानेछ भन्ने केहीको विश्लेषकको दाबी छ।
रयुथ ड्याभिडसन्को उदय
कन्जरभेटिभ पार्टीलाई लज्जास्पद हारबाट जोगाउने काम भने स्कटल्याण्डमा रयुथ ड्याभिडसन्ले गरेकी छन्। अब उनी राष्ट्रिय राजनीतिमा उदाएकी छन्। इंग्ल्यान्डमा लज्जास्पद हार बेहोरेको उक्त पार्टीले स्कटल्याण्डमा केही सफलताले पाएको छ। कन्जर्भेटिभ पार्टीले १४ प्रतिशतले आफ्नो मत बढाएको छ र १० सिट जितेको छ।
स्कटल्यान्डको सत्तारूढ दल स्कटल्याण्ड नेसनालिस्ट पार्टीकी महिला नेतृ निकोला स्ट्रुजनविरुद्ध उनले व्यापक जनपरिचालन गरेकी थिइन्। कन्जर्भेटिभ पार्टी भित्र उनको निकै ठूलो चर्चा र प्रशंसा भएको छ। स्ट्रुजन बेलायतबाट स्कटल्याण्डलाई छुट्याउनु पर्ने अडानमा छन् भने ड्याभिडसन् त्यसको विपक्षमा।
दुई दलीय प्रणालीको जित
दोश्रो विश्व युद्धदेखि बेलायतको राजनीतिमा दुई दल हावी भएका छन्। लिबरल पार्टी अस्तित्वमा भएपनि राष्ट्रिय राजनीतिमा उसको प्रभाव थिएन। स्कटल्याण्ड र वेल्समा पनि क्षेत्रीय दलहरु थिए।
सन् १९८८ मा लिबर डेमोक्र्याट पार्टी र सोसल डेमोक्र्याट पार्टी मिलेर लिबरल डेमोक्र्याट पार्टी बनेपछि भने समीकरण केही परिवर्तन भएको थियो। सन् २०१० को चुनावमा लिबरल डेमोक्र्याट पार्टीले ५७ सिट जित्दा धेरै पर्यवेक्षक आश्चर्यमा परेका थिए। कन्जर्भेटिभ पार्टीसँग मिलेर उक्त पार्टी सत्तामा पनि गयो।
सन् २०१५ को चुनावमा स्कटल्याण्डको नेसनालिस्ट पार्टीले पनि ५६ सिट जित्नु र युके इन्डिपण्डेन्स पार्टीको उदय हुनेले बेलायतको राष्ट्रिय राजनीति विखण्डित र जटिल बनाएको थियो। यो नयाँ निर्वाचनले बेलायतको राजनीतिलाई पुरानै अवस्थामा फर्काएको छ। लेबर र कन्जर्भेटिभ दल पुन: प्रभावशाली भएका छन्, जुन राजनीतिक स्थिरताका लागि राम्रो मानिन्छ।
प्रधानमन्त्री थेरेसा मेको हार
मेइडनहेड निर्वाचन क्षेत्रबाट चुनाव जितेपछि उनले दिएको भाषणमा उनको स्वरमा निराशा थियो। उनले कठिन समयमा प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्। त्यो जनमत संग्रहमार्फत युरोपियन युनियनबाट बेलायत छुट्टिने निर्णय लिएको समय थियो।
तर उनको चुनावी अभियान कमजोर भयो। पार्टीका आफ्नै नेता-कार्यकर्ताले समेत समस्याग्रस्त मानेका कोर्बिनले आफूले अपेक्षा गरेभन्दा अत्यत धेरै सिट जित्न सफल भए।
वास्तवमा मे को समस्या भनेको बेलायती जनताले चुनाव नचाहनु थियो। तर पनि बेलायतलाई इयुबाट छुट्याउन ताजा जनादेश चाहियो भन्दै उनी चुनावमा गइन्। धेरै मतादाताले उनको चुनावमा जाने निर्णयलाई ‘घमण्ड’ र ‘लोभ’को संज्ञा दिएका थिए। अब उनी प्रधानमन्त्री बन्ने निश्चित छैन।
युकेआइपीको अन्त्य
बेलायतलाई वर्तमान समयमा उथलपुथल ल्याउने दल युकेआइपी थियो। बेलायतलाई युरोपियन युनियनबाट छुट्याउने मुद्धा लिएर युकेआइपीको उदय भएको थियो। उक्त पार्टीले कन्जर्भेटिभ पार्टीको मत काट्दै लागेपछि क्यामरुनले जनमत संग्रह गराएका थिए। अहिलेको चुनावमा उक्त पार्टीले एउटा पनि सिट जित्न सफल भएन। चुनावले उक्तको पार्टीको प्रभाव अन्त्य गराएको छ।
कन्जर्भेटिभ पार्टीले युकेआपीको अधिकांश मत आफ्नो पार्टीलाई आउने अपेक्षा गरेको थियो। तर उक्त पार्टीको मत लेबर पार्टीले पनि प्राप्त गर्यो।
युकेआइपी पार्टीमा रहेका सानातिना व्यापार गर्ने, पसले, ठेकेदार जस्ता मानिस कन्जरभेटिभ पार्टीमा फर्किएका छन् भने मजदुर वर्ग लेबर पार्टीमा मतादान गरे। युकेआइपीलाई शुन्य हात लाग्यो।
थेरेसा मेले ‘ब्रेक्सिट’ वार्ताका लागि बलियो जनादेश प्राप्त गर्न निर्वाचन गरेकी थिइन्। तर उनले सफलता प्राप्त गर्न सकिनन्। सरकार निर्माणमा वार्ता, शक्ति सन्तुलन र नयाँ राजनीतिक माहौलले युरोपियन युनियनसँगको वार्ता प्रभावित गर्नसक्छ। बेलायतले २ वर्षभित्र युरोपियन युनियनबाट छुट्टीसक्नु पर्छ। चुनावले बेलायतको राजनीतिलाई जटिल र भविष्यलाई झनै अन्यौल बनाएको छ।