गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार दुई मन्त्री नियुक्त गरेका छन्।
एमाले सांसद बेदबहादुर गुरूङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त दुबै मन्त्रीलाई सोमबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन्।
दुई मन्त्री नियुक्त भएसँगै गण्डकीको मन्त्रिपरिषद ५ सदस्यीय बनेको छ।
अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन चैत २५ गते माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दाबी गरेका राजीव गुरूङ ‘दीपक मनाङे’लाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाएर ९ वटा पुर्याए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशले यसअघि मन्त्रिपरिषद विस्तार गर्न पाएका थिएनन्।
एमाले नेता अधिकारीलाई सभामुखसमेत जोडेर प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो। अदालतले अन्तरिम आदेश दिँदै दीर्घकालीन निर्णय नगर्न भनेको थियो।
उक्त विवादमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले वैशाख १७ गते सभामुखलाई गणना नगर्दा गण्डकी प्रदेश सभा ५९ सदस्यीय हुने र ३० जनाले बहुमत पुग्ने फैसला गरेको थियो। सोही फैसला अनुसार गण्डकी प्रदेश सभामा आइतबार मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३० मत पाउँदा सभामुख कृष्णप्रसाद धितालले अदालतको आदेश अनुसार बहुमतले पारित भएको घोषणा गरेका थिए।
संविधानमा रहेको विश्वासको मत सम्बन्धी व्यवस्थामा भने प्रदेश सभामा उपस्थित सम्पूर्ण सदस्यको बहुमतले विश्वासको मत सम्बन्धी प्रस्ताव पारित हुनुपर्ने भनेको छ। पारित नभएमा मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ।
गण्डकी प्रदेश सभामा सभामुखसहित ६० जना सदस्य छन्। सभामुख धितालले आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश भएको बैठकमा आफूसहित प्रदेश सभामा ६० सदस्य रहेको बताएका थिए।
अदालतको आदेश अनुसार विश्वासको मत पाएको भोलिपल्ट अर्थात् सोमबार मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।