स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा भक्तपुरका चार नगरपालिका कुरुप बनेको छ ।
पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।
जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरुका निर्वाचन सामग्रीले अझै रङ्गिएका छन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था गरिए पनि दलका नेताले भने यसको कार्यान्वयन गरेका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरुले हटाउनु पर्ने आचारसंहिता रहेको स्पष्ट पारे। आचारसंहिताअनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उनले बताए।
दलहरुले निर्वाचनका लागि राखेको ब्यानर, तुल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि टोलटोल, गल्लीगल्ली र एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताभित्तामा टाँसिएर राख्दा नगर कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरुले केही दिनभित्रै त्यस्ता प्रचार सामग्री हटाउँला भन्ने जवाफ दिएका छन् । रासस