दक्षिण अफ्रिकी कप्तान एबी डीभिलियर्सलाई तेस्रो स्थानमा झार्दै भारतीय कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा उक्लिएका छन्। आइसिसीले हालै सार्वजनिक गरेको सूचीमा विराट पहिलो स्थानमा उक्लिएका छन्।
च्याम्पियन्स ट्रफीमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनी शीर्ष स्थानमा उक्लिएका हुन्। यसअघि कोहली तेस्रो स्थानमा थिए। विराटले च्याम्पियन्स ट्रफीको ३ खेल मध्ये २ मा अर्धसतक पुरा गरिसकेका छन्।
अस्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले भने आफ्नो स्थानलाई यथावत राख्न सफल भएका छन्। उनी दोस्रो स्थानमा यथावत छन्। खराब फर्मबाट गुज्रिरहेका एबी डीभिलियर्स तेस्रो स्थानमा झरेका छन्।
इङ्लिस ब्याट्सम्यान जोए रुट एक स्थान माथि उक्लिएका छन्। उनी चौथो स्थानमा उक्लिएका हुन्। न्युजिल्यान्डका कप्तान किन विलियम्सन ४ स्थान माथि चढ्दै पाँचौ स्थानमा उक्लिएका छन्।
दक्षिण अफ्रिकी ब्याट्सम्यान क्वान्टन डि कोक २ स्थान तल झर्दै छैटौंं र अर्का ब्याट्सम्यान फाफ डु प्लेसिस पनि एक स्थान तल झर्दै सातौं स्थानमा झरेका छन्। पाकिस्तानका बाबर आजम पनि एक स्थान तल झर्दै आठौंमा पुगेका छन्। न्युजिल्यान्डका मार्टिन गुप्टिल पनि दुई स्थान तल झरेका छन् र उनको स्थान नवौंमा छ।
भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन पाँच स्थान माथि उक्लिँदै दशौं नम्बरमा पर्न सफल भएका छन्।