दार्जिलिङमा अनिश्चितकालिन आमहड्तालको सोमबार आठौं दिन स्थिति सामान्य गर्न असफल भएपछि बंगाल सरकारले इन्टरनेट बन्द गराएको छ।
भारतीय अखबारहरुले जनाएअनुसार सोमबार बिहान दश बजेसम्म दार्जिलिङ र यसको वरिपरिको क्षेत्रमा हिंसाको कुनै घटना भएको छैन।
तर, गोर्खाल्यान्ड र भाषिक आन्दोलनका लागि भइरहेको अनिश्चितकालिन आमहड्ताललाई राजनीतिक रुपमा सम्बोधन गर्न नसकेको बंगाल सरकारले इन्टरनेटको सबै सुविधा बन्द गराएको हो। आन्दोलनकारीहरु संगठित हुन नपाउनु भनेर इन्टरनेट सुविधा बन्द गरिएको हो।
भारतीय न्युज एजेन्सी एएनआईका अनुसार दार्जिलिङको तनावपूर्ण स्थितिका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेदरल्यान्ड्सको भ्रमणमा निस्किएकी छिन्। उनी युनाइटेड नेशनको बैठकलाई सम्बोधन गर्न त्यता लागेको बताइएको छ। उनले नेदरल्यान्ड्स जानुपूर्व आफ्ना मन्त्रीहरुले दार्जिलिङको हिंसा र प्रदर्शनको अध्ययन गरिरहेको प्रतिक्रिया दिएकी छिन्।
यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भाषीहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले हिंसाको बाटो छोडेर छलफलमा बस्न आग्रह गरेका छन्। गोरखा जनमुक्ति मोर्चाको अपीलमा दार्जिलिङमा आन्दोलन भइरहेको छ। आन्दोलन दबाउने नाममा पश्चिम बंगालका सुरक्षाकर्मीले आफ्नो २ कार्यकर्ताको हत्या गरेको आरोप मोर्चाले लगाएको छ।