नेपालमा सडकको हालत निकै खराब छ। खाल्डाखुल्डी तथा धुलो उड्ने सडकमा दुई पाङ्ग्रे सवारी साधन चलाउन सकसपूर्ण छ। छोटै यात्रामा पनि दुई पाङ्ग्रेका चालकलाई दिक्दार बनाउँछ। घाम लाग्दा होस् वा पानी पर्दा, सबैभन्दा बढी दुःख बेहोर्ने दुई पाङ्ग्रेका चालकहरु नै हुने गर्छन्।
दुई पाङ्ग्रे साधनको यही समस्यालाई न्युनीकरण गर्न ‘स्कुटर अम्ब्रेला’ प्रचलनमा आएको छ। आजकाल राजधानीको यस्ता अम्ब्रेलायुक्त स्कुटरहरु बाक्लै देखिन थालेको छ। यसको बनावट र उपयोगीताले गर्दा धेरैको ध्यान तानिरहेको छ। तर यसले सवारी दुर्घटना बढाउने ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्।
यस्तो अम्रेला विदेश तिरका फराकिला र सफा सडकका लागि उपर्युक्त भए पनि नेपालको सन्दर्भमा भने ठीक नभएको हाछेथुले दाबी गरे।
‘नेपालको सडकको अवस्था हेर्नुहोस् साना र कच्ची सडकमा विशेषगरी काठमाडौं उपत्यकाको ट्राफिकजाममा यस्तो अम्रेला राखेर सवारी चलाए दुर्घटना बढ्न सक्छ,’ उनले भने,‘सानो ठाउँ देख्यो कि छिराइहाल्ने नेपाली चालकहरूको बानीले गर्दा यस्ता छाता लगाएका बाइकहरू अगाडिको चक्का मात्र छिर्ने र पछाडिको छाता अड्कने हुन्छ। यसले दुर्घटना बढ्छ।’
सवारी ऐन २०४९ अनुसार पनि मोटरसाइकल र स्कुटरमा यस्तो राख्नु गैर कानुनी हुन्छ। कुनै पनि सवारीलाई तोडमोड गर्न नपाइने हुँदा यसरी सवारीमा छाता राख्नु कानुनसम्मत नमानिने उनले बताए। ‘हामी मोटरसाइकलमा एउटा सानो लुकिङ ग्लास राख्नेलाई त कारबाही गरिरहेका छौ, कम्पनीको बनावट भन्दा अलग बनाउन यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अनुमति माग्नुपर्ने हुन्छ। तर यसरी सरासर छत जस्तो बनाएर तोड मोड गर्न पाइन्न।’
यसमा राखिएको अगाडिको प्लास्टिक सफा छैन। पानी पर्दा धमिलो हुन्छ एकैछिनमा केही नदेखिने हुन्छ। झन काठमाडौंको धुलो लाग्यो भने अगाडि केही नदेखिने हुन्छ। यसबाट सुरक्षा होइन दुर्घटना बढ्ने तर्क हाथेछुले गरे।
‘घाम पानी र धुलोले गर्दा प्लास्टिक राखिएको हुन्छ तर यो प्लास्टिकबाट अगाडिको बाटो देख्न मुस्किल हुन्छ। अलिक हावा आयो भने यो त्यसै ढल्न सक्छ। पछाडिबाट आएको सवारीले ठक्कर दिएर दुर्घटना हुनसक्छ। फेरि अर्को हामी गल्ली गल्लीमा चलाउँनुपर्ने हुन्छ सबै गल्लीमा यो नछिर्न पनि सक्छ।’
त्यस्तै, लेन अनुशासन विपरितको कार्यले अर्को गाडीलाई थोरै छोयो भने पनि ठूलो दुर्घटना हुन्छ। पछाडिबाट आएको सवारीले ठक्कर दिए गम्भीर दुर्घटना हुन्छ। त्यसैले काठमाडौंको सडकमा यसको प्रयोग गर्नु राम्रो नहुने उनले बताए।
‘हामी चालकहरूलाई अनुरोध गर्छौ। मोटरसाइकल र स्कुटरमा छाता राखेर नचढ्नुहोला, यसले सुरक्षा होइन दुर्घटना निम्तन्छ।’
बिशेषतः स्कुटरलाई लक्षित गरी बनाइएको स्कुटर अम्ब्रेला सिधा सिट भएको बाइकमा समेत प्रयोग गर्न सकिने भए पनि सुरक्षाका दृष्टिकोणमा खतरा हुनसक्ने हाछेथुले बताए।
स्कुटर अम्ब्रेलाको प्रचलन चीनमा दुई वर्ष अगाडिदेखि नै भए पनि नेपालमा भने भर्खरै भित्रिएको हो।