नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले पदभार ग्रहण गरेका छन्। मुख्य सचिव नियुक्त भएको केहीबेरमै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
त्यस अवसरमा मुख्य सचिव क्षेत्रीलाई विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायत सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए। पदभार ग्रहण गरेलगत्तै मुख्य सचिव क्षेत्रीले मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मुख्य सचिव सोमलाल सुवेदी एशीयाली विकास बैंकको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्स गएपछि बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताका आधारमा क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको थियो। नवनियुक्त मुख्य सचिव क्षेत्रीको कार्यकाल पनि उमेर हदका कारण लामो हुनैछैन।
उनले कार्तिक ८ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन्। मुख्य सचिव क्षेत्री २०४१ साल पुसमा कानुन सेवामार्फत् शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका हुन्।