डाबर नेपालले पशुपति क्षेत्र विकास कोषलाई ग्रीन हाउस नसर्री हस्तान्तरण गरेको छ।
उक्त ग्रीनहाउस नर्सरी हालै डाबर समूहका ग्लोबल प्रमुख मानव संशाधन ए. सुधाकरले पशुपति क्षेत्र विकास कोषका कार्याकारी निर्देशक रमेश कुमार उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कम्पनीले सो नसर्री हस्तान्तरण गरेको हो। विगत १४ वर्षदेखि डाबर नेपालले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा गौशालाचोकको बाटिकाको पुनर्निर्माण, संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्दै आएको छ भने वनकाली क्षेत्रमा सरसफाई गरी रुद्राक्ष, बेल, चन्दन, वर, पिपल जस्ता धार्मिक महत्वका विभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपण गर्दै हरियाली बढाउने कार्य पनि गर्दै आएको छ ।
सोही कामलाई निरन्तरता दिँदै पशुपतिनाथ देवउध्यानमा रुद्राक्ष, श्रीखण्ड, स्वामी, कपुर, हरंसिंगार लगायत विभिन्न प्रजातिका बिरुवा तयार गरी पशुपति क्षेत्र परिसर भित्र वृक्षारोपण गर्ने उद्धेश्यले डाबर नेपालले ग्रीनहाउस नर्सरी स्थापना गरेको हो ।
उक्त ग्रीनहाउसमा वार्षिक १ देखि २ लाख विभिन्न प्रकारको दुर्लभ, स्थानीय एवम् धार्मिक महत्वको बिरुवा, फूलका बिरुवाहरु लगायत विभिन्न प्रजातिका बिरुवाहरु उत्पादन गर्न सकिने कम्पनीले बताएको छ ।