सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुँला धलं (गुँला पर्व) यहाँ मनाउने तयारी भएको छ ।
यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुँला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुँलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ ६ गतेसम्म एक महिनासम्म विभिन्न धार्मिक कार्य गरी मनाइने जानकारी दिए।
गुँला पर्व बुद्ध धर्मवालम्बी नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको बताउँदै उनले गुँला पर्व मनाउन करिब नौ लाख रुपैयाँ मानन्धर समुदायको सहयोग एवं चन्दा प्राप्त हुने जानकारी दिए।
यस पर्वमा प्रत्येक दिन नौ बाजामा चार पाँच वर्षदेखि सत्तरी असी वर्षसम्म समूहका मानिसको सहभागिता रहने छ । एकमहिने गुँला पर्वमा काठमाडौँ उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी धलं निकालिने घरमा विसर्जन गरिने चलन छ ।
पर्वमा सहभागी ७० वर्तालुले नुन नखाई एक छाक मात्र खाना खाएर बस्ने छन् । पर्व अवधिभर बिहान बेलुका पूजार्चनाका साथै गुँला ङक धलं नौ बाजाको जीवन्ततासमेत दिने परम्परा छ । रासस