नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, इमान्दार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रीमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ ।’
उनले पार्टीभित्र तत्कालीन पार्टी सभापति सुशिल कोइरालाको पालामा पनि ६० र ४० को भागबण्डा हुँदा त्यसले पार्टीलाई राम्रो नगरेको स्मरण गर्दै भनिन्,‘त्यतिबेला पनि मैले गुटबन्दी हुनु हुँदैन भनेर बोलेकी थिएँ, त्यसले पार्टीलाई कमजोर बनाएको छ, अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो, गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भैगयो नि?’
उनले अहिले देखिएको गुटबन्दी चरम विन्दुमा पुगेको भन्दै उक्त गुटबन्दी अन्त्य गर्नको लागि आफूले पहल गर्ने समेत स्पष्ट पारिन् ।
नेतृ कोइरालाले निर्वाचनको लागि टिकट वितरण गर्दा सही ढंगले गर्नुपर्ने बताईन् । उनले भनिन्,‘जनतामा पपुलर र ग्रासरुटमा भिजेका नेता तथा कार्यकर्ताहरुलाई टिकट दिनुपर्छ ।’ पार्टीभित्र सबैलाई मिलाएर लैजानको लागि पार्टी नेतृत्वले धेरै मेहनत गर्नुपर्ने उनको धारणा थियो ।
त्यस्तै, उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताईन् । ‘जेण्डर ब्यालेन्स मिलाउनको लागि पनि महिलाहरुलाई हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम उपस्थिति गराउनुपर्छ, उनले अघि थपिन्‘संसदमा पनि महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्नेछ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’
कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने समेत उनले चेतावनी दिईन् । उनले भनिन्,‘पार्टीभित्र महिलाहरुलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरु धेरै छन्।’
त्यस्तै उनले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् ।