सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाएको छ।
नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र उनका भाइ गिरिजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासमा राखिएका सुरक्षाकर्मी गत बिहीबार फिर्ता भएका हुन्।
‘कोइराला निवासको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मी फिर्ता भए, सरकारले किन फिर्ता बोलाएको हो थाहा छैन,’ शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले सेतोपाटीसँग भने, ‘कोइराला निवास हेर्न हिजोआज पनि दिनहुँ मानिसको भीड लाग्छ। त्यहाँ सुरक्षाकर्मी आवश्यक छ।’
उनले गृहमन्त्री रामबहादुर थापा तथा सुरक्षा निकायका प्रमुखहरूसँग पनि त्यहाँ केही संख्यामा सुरक्षाकर्मी राख्न आग्रह गरिएको बताए।
‘धेरै चाहिँदैन, दुई/चार जना राख्न पाए कोइराला निवासको सुरक्षा हुन्थ्यो,’ उनले भने, ‘कोइराला निवास सामान्य मानिसको घरभन्दा भिन्न हो नि।’
२०५४ सालदेखि राखिएको सुरक्षा अहिले हटाइएको उनले बताए।
सशस्त्र प्रहरी बलका असइको नेतृत्वमा १३ जनाको टोलीले कोइराला निवासको सुरक्षा दिँदै आएका थिए।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पनि गृहमन्त्रीलाई सुरक्षाकर्मी हटाएकोबारे सोधिखोजी गरेका थिए। कोइराला निवासका जग्गा जमिन बीपीपुत्र शशांक कोइराला, गिरिजाकी छोरी सुजाता कोइराला र शेखरको नाममा छ।
सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले कोइराला निवासबाट सुरक्षा हटाउन गृहमन्त्रालयबाट पत्र प्राप्त भएपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाएको जानकारी दिए।
‘जसलाई सुरक्षा दिन राखिएको हो (गिरिजा) उनैको निधन भइसकेपछि किन सुरक्षाकर्मी राख्नुपर्यो? फिर्ता बोलाउने भन्ने पत्र आएपछि फिर्ता गरेको हो,’ उनले सेतोपाटीसँग भने।
गिरिजाको २०६६ साल चैत ७ गते निधन भएको थियो।