नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेताका नाममा जिल्ला जिल्लामा गुट, उपगुट नचलाउन आग्रह गरेका छन्।
काभ्रेको धुलिखेलमा बिहीबार भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा कोइरालाले गुटले पार्टीलाई कमजोर बनाउने बताए।
‘नेताका नाममा जिल्लामा गुट चलाउन आवश्यक छैन,’ कोइरालाले भने, ‘गुटले पार्टी कमजोर भयो।’ उनले पार्टीले दु:ख गरेका नेता/कार्यकर्तालाई भूमिका नदिएको पनि बताए।
‘तपाईंहरुको सही मूल्यांकन भएको छैन। चिन्ता नगर्नुस् अब पार्टीको महाधिवेशनपछि पार्टीले राम्रो भूमिका दिन्छ,’ उनले भने। उनले लोकतन्त्रमाथि कम्युनिष्ट सरकारले चारैतर्फबाट प्रहार गरेको आरोप लगाए।
नेता/कार्यकर्तालाई पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका हुन्।