नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ को आज भनिएको शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको छ।
प्रदेश २ को ६ जिल्लाको सपथ ग्रहण कार्यक्रम आज हुने भनिए पनि अनिश्चितकालका लागि स्थगित गरिएको हो।
महोत्तरीको बर्दिवासमा सपथको सम्पूर्ण तयारी पूरा भइसकेको समयमा स्थगित गरिएको नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए।
सपथग्रहण कार्यक्रम आन्तरिक विवादका कारण स्थगित गरिएको बताइएको हो।
नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आफूखुसी प्रदेशको ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई महोत्तरीको बर्दिबासमा सपथ गराउने तयारी गरेका थिए।
६ जिल्ला कमिटीको सपथ ग्रहण गराउनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल आउने कार्यक्रम समेत निश्चित गरिएको थियो।
जिल्ला कमिटी गठन भएसँगै असन्तुष्ट पक्षले सपथ ग्रहण कार्यक्रम बिथोल्ने गरी तयारी गरेकाले हुने विवादलाई ध्यानमा राखी अन्तिम चरणमा आएर कार्यक्रम स्थगित गरिएको बताइएको छ।
जिल्ला कमिटीको चयनमा मनपरी भएको भन्दै नेकपा विवाद चुलिएको छ।
पटक-पटक जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम रोकिँदै आएको छ।
आज भनिएको सपथ ग्रहण कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्ला कमिटीको सपथ गराउने तयारी गरिएको थियो।