बेलायतकी चर्चित अभिनेत्री, लेखक तथा सामाजिक अभियन्ता जुअना लुम्ले नेपालको लागि सद्भावना दूतको रुपमा नियुक्त भएकी छन्। नेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले बेलायत भ्रमणमा रहेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराईले यसै हप्ता बेलायती संसदमा आयोजित एक समारोहमा लुम्लेलाई सद्भावना दूत ( गुडविल एम्बेसडर ) नियुक्त गरेका हुन्।
लुम्लेसँगै बेलायतका धनाढ्य व्यापारिक घराना हिन्दुजा ब्रोदर्सका गोपिचन्द हिन्दुजा र बेलायतको उपल्लो सदन सदस्य ब्यारोनेस सन्ददी पर्मालाई समेत नेपाल भ्रमण वर्ष २०२० को लागि सद्भावना दूतमा नियुक्त गरिएको छ।
समारोहमा नवनियुक्त दूतहरूलाई 'हिमालयन अवार्ड' समेत प्रदान गरिएको थियो। अभिनेत्री लुम्ले पछिल्लो समय भूपू गोर्खाहरूको आन्दोलनलाई चरम उत्कर्षमा पुर्याउने अभियानमा संलग्न रहेकी थिइन् भने व्यारोनेस बर्मा र गोपिचन्द हिन्दुजा नेपालसँग नजिकको सद्भाव राख्नेहरूमा पर्छन्।
समारोहलाई सम्बोधन गर्दै अभिनेत्री लुम्लेले आफ्नो नियुक्तिलाई नेपाली सम्मानको रुपमा लिएको र नेपालको पर्यटन प्रवर्द्धनमा आफ्नो सक्दो योगदान हुने बताएकी थिइन्। बेलायतको उपल्लो सदन हाउस अफ लर्ड्समा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी तथा बेलायती राजनीतिज्ञहरूको सहभागिता थियो।
लन्डनमा आयोजित वर्ल्ड ट्राभेल मार्केटको कार्यक्रममा सहभागी हुन बेलायत आएका नेपाल सरकारका पर्यटन मन्त्री भट्टराई सप्ताहव्यापी पर्यटकीय कार्यक्रमहरूमा भाग लिएर नेपाल फर्किसकेका छन्।