राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला पुगेकी छिन्।
तीन दिने सुदूरपश्चिम भ्रमणमा रहेकी उनी त्यहाँका पाँच जिल्लामा हुने विभिन्न कार्यक्रमा सहभागी हुनेछिन्।
बुधबार बिहान राष्ट्रपति भण्डारी नियमित जहाज चढेर कैलालीको धनगढीमा विश्व साहित्य सम्मेलनमा सहभागी भएकी थिइन्।
यसैगरी बिहीबार उनी दार्चुलामा हुने कार्यक्रमा सहभागी हुन मालिकार्जुन गाउँपालिका पुगेकी छिन्। उनी आज बिहान साढे १० बजे त्यहाँ पुगेकी हुन्। त्यसपछि भने उनी दिउँसो २ बजे बैतडी जाँदै छिन्।
उनको स्वागतमा दुई जिल्लाका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
बैतडीको दशरथ नगरपालिका र पाटन नगरपालिका तथा दार्चुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
'राष्ट्रपतिको स्वागतमा एक दिन नगरपालिकाभरि सार्वजिनक बिदा दिइएको छ,' शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भने।
नगरपालिकाबाट बाजागाजा र झाँकी प्रदर्शनसहित राष्ट्रपतिलाई स्वागत गरेको उनले बताए।
राष्ट्रपति आउने भएपछि पाटन नगरपालिकाले पनि बिहीबार नगरभरि सार्वजनिक बिदा दिएको छ।
‘पहिलो पटक राष्ट्रप्रमुख आउन लाग्नुभएकाले नगरभरिका सरकारी कार्यालय र शिक्षण संस्थालगायतमा बिदा दिने निर्णय गरेका हौं,’ पाटनका नगरप्रमुख केशरबहादुर चन्दले सेतोपाटीसँग भने,‘उहाँको भव्य स्वागत गर्ने तयारी गरिरहेका छौं।’
बैतडीको भ्रमण सकेर राष्ट्रपति भण्डारी डडेल्धुरा पुग्नेछिन्। त्यहाँ उनले केही धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनी कञ्चनपुर जानेछिन्।
कञ्चनपुरको शुक्लाफाँटा महोत्सवमा सहभागी बनेर राष्ट्रपति भण्डारी शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको शितलनिवास स्रोतले जानकारी दिएको छ।