प्रदेश-२ को सरकारले कोरोनाको संक्रमण फैलिन नदिन नीति निर्माणका लागि गठन गरेको विज्ञहरूको समूहले प्रतिवेदन सरकारलाई बुझाएको छ।
सरकारले सुझाव दिन तथा नीति निर्माणका लागि जिम्मा दिएको दुई दिनपछि विज्ञहरूको समूहले सुझाव प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको हो।
विज्ञहरूले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विषय समावेश गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो।
विज्ञहरूको समूहले बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीहरूको उपयोगिता, प्रयोग र उपलब्धता, उपचारमा संलग्न रहेका चिकित्सहरूको सुरक्षा, प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माण लगायतका विषयहरू समेटिएको छ।
विज्ञहरूको समूहले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले यी सुझावहरुलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
विज्ञ समूहमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा.विजय कुमार सिंह, डा. गरिबदास ठाकुर, डा. जेके लाल रहेका छन्।