चौरजहारी घटनाको अध्ययन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन्।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा विशेष समिति गठनको माग गर्दै उभिएर विरोध गरेको थियो।
कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको थियो। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले आजको बैठकमा पनि सरकारले घटनाको छानबिन गरिरहेको भए पनि ढाकछोपको आशंका व्यक्त गरेकी थिइन्।
'दलितलाई विभेद गर्ने गरी जुन घटना भएको छ। त्यसको राजनीतिक ढाकछोप स्वीकार्य छैन', भुसालले भनिन्, 'कुनै पनि राजनीतिक खोलको आधारमा मुक्ति दिनु हुँदैन।'
गत जेठ १० गते रूकुम पश्चिम चौरजहारी नगरपालिका-८ मा प्रेमिका भगाउन गएका नवराज विक सहितका जाजरकोटाका ६ युवाहरूको सामूहिक ‘हत्या’ भएको थियो।