गठबन्धनबाट सरकार सञ्चालनका लागि बनाइएको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनमा रहेका दलका शीर्ष नेतालाई बुझाइएको थियो।
न्यनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिएर आज सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ।
प्रतिवेदनबारे आज बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र गठबन्धनका शीर्ष नेताबीच छलफल पनि भएको थियो। छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी रहेका थिए।
उक्त प्रतिवेदन आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी छ। कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले आजै अपराह्न ४ बजे सार्वजनिक गर्ने कार्यदलका सदस्य सचिव केशवराज जोशीले बताए।
प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ। प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वर्द्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ।
सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्यरूपमा समेटिएको छ।
गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ। वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ।
(राससको सहयोगमा)