लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएपछि सोमबार एमालेका सांसदले रिट दायर गरेका छन्।
सोमबार प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले विशेष अधिवेशनविरूद्ध रिट दायर गरेका हुन्।
दायर गरिएको रिट सर्वोच्चमा दर्ता भइसकेको र मंगलबार पहिलो सुनुवाइको लागि पेसी चढ्ने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।
एमालले संविधानको धारा १६८ को १ अनुरूप बनेको सरकार र मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्दै विशेष अधिवेशन रोक्नुपर्ने माग गरेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
सोही अनुरूप प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका थिए।