नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने पनि सिंहले बताए।
उनले यो कुरा शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठीमा भनेका हुन्।
‘म सम्पूर्ण रूपले सभापति बन्न सक्षम छु। सभापतिमा उठ्ने हो, पछि हट्दिनँ,’ सिंहले भने, ‘आमजनताको दु:खमा साथ दिँदै उनीहरूको हितका लागि काम गर्नुपर्ने भएकोले पनि पार्टी सभापतिमा उठ्नुपर्ने अवस्था छ।’
सबैलाई मिलाएर लैजान सक्ने र पार्टी सञ्चालन गर्न सक्ने भएकोले पनि आफू पार्टी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने सिंहले बताए।
२०७२ सालमा भएको १३ औं महाधिवेशनपछि पार्टी कमजोर भइरहेको सिंहको भनाइ थियो। क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि मौका नदिन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले केही व्यक्तिहरूले पार्टी क्रियाशील सदस्यता वितरणमा चलखेल गर्दा वर्षौंदेखि पार्टीमा दु:ख गरेकाहरू क्रियाशीलबाटै बञ्चित हुनुपर्ने अवस्था देखा परेको पनि बताए।