२४ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशील रहेका डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालको नाम क्रियाशील सदस्यताको सूचीबाट हटेको छ।
१२ औं र १३ औं महाधिवेशनबाट लगातार पाल दुई कार्यकालसम्म वडा सभापति रहेर पार्टीमा काम गरे। रोचक त के छ भने- यसपालि उनले हस्ताक्षर गरेर पठाएका एक सय ५ जनाले क्रियाशील सदस्यता नै पाए।
तर वडाध्यक्ष पालकै नाम क्रियाशील सदस्यताको सूचीमा नभएपछि उनी विरोधमा उत्रिएका छन्। डडेल्धुरामा भदौ १८ मै वडा अधिवेशन गर्ने भने पनि तयारी नपुगेर भएन। भदौ २२ गतेका लागि सारिए पनि अधिवेशन हुन सकेको छैन।
डडेलधुरा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। यहाँ देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गुटबन्दी छ। तलबाट सिफारिस गरी पठाइएका धेरैको नाम क्रियाशीलको सूचीमा छैन।
‘अस्ती क्रियाशील सदस्यताको नाम आएको रहेछ, मेरो त नाम नै कसले काटिदिएछन्,’ सभापति पालले भने, ‘२०५४ सालबाट कांग्रेसका लागि दु:ख गरेको हुँ, यसपालि कसले नाम हटाइदियो।’
उनी कांग्रेस विधानअनुसार पनि यसपालि वडा सभापति हुन पाउँदैनथे। कांग्रेसमा लगातार दुई कार्यकाल सभापति भएपछि तेस्रो कार्यकाल हुन पाइँदैन।
‘म फेरि सभापति हुन पाउँदैनथेँ, साथीहरूले क्षेत्रीय प्रतिनिधि पठाउने हो भनेका थिए,’ उनले भने, ‘यस्तो प्रवृत्ति देख्दा रिस उठेको छ, दु:ख पनि लागेको छ।’
आफ्नो नाम क्रियाशील सदस्यताकै सूचीमा नरहे पनि उनले नेताहरूलाई फोन गरेर दुखेसो पोखेका छैनन्, उनले विरोध गर्ने नयाँ तरिका अपनाए- कपाल खौरिएर फेसबुकमा फोटो राखे।
उनले किन यसो गरे? सेतोपाटीसँगको कुराकानीमा वडा सभापति पालले भने, ‘मलाई साह्रै दु:ख लाग्यो। के पाप गरेछु र मलाई क्रियाशील सदस्यबाटै हटाए भन्ने लागेर आफूमाथि लागेको पाप पखाल्न कपाल खौरिएर बसेको छु।’
२४ वर्षसम्म काम गरेको पार्टीले क्रियाशीलबाटै नाम हटाएकोमा उनलाई दु:ख लागेको छ।
‘मैले नै सिफारिस गरेर पठाएकाहरूको नाम नवीकरण भएर र नयाँ क्रियाशीलको सूचीमा आएको छ। मेरै नाम मात्रै हटाइदिए नि!,’ उनले भने।
उनले कांग्रेसले क्रियाशील सदस्यताबाट हटाएमा त्यसको परिणाम अब हुने स्थानीय तह निर्वाचनमा पार्टीले भोग्ने पनि चेतावनी दिएका छन्। ‘म अब स्वतन्त्र बस्छु। यसको परिणाम स्थानीय तह निर्वाचनमा पार्टीले देख्छ,’ उनले भने।