राप्रपाको आइतबार सात वटै प्रदेशको एकैसाथ सुरू भएको प्रदेश अधिवेशन सोमबार सम्पन्न भएको छ।
केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको राप्रपा महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए।
प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।
प्रदेश नम्बर दुईमा भरत गिरी, बागमती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले जानकारी दिए।
राप्रपाले आइतबार एकै दिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो।
‘कहाँ कसको पक्षमा भन्दा पनि यसलाई मिश्रित परिणाम भन्नुपर्छ,’ श्रेष्ठले भने।
पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ।
श्रेष्ठका अनुसार ३, ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका छ। राप्रपामा अहिले सवा १ लाख क्रियाशील सदस्य संख्या छ।
त्यसबाट मंसिर १, २ र ३ गते महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन्। यसपालि चार हजार बढी महाधिवेशन प्रतिनिधि हुने अनुमान गरिएको छ।
त्यसमा गाउँपालिका अध्यक्ष, नगरपालिका अध्यक्ष, प्रदेश सभा (क) र (ख), प्रत्येक निर्वाचन क्षेत्रको अध्यक्ष र जिल्ला अध्यक्ष स्वत: प्रतिनिधि हुनेछन्।
त्यसबाहेक प्रदेश सभा (क) र (ख) ९-९ जना गरी १८ जनाका दरले सात वटै प्रदेशबाट समावेशीताका आधारमा महाधिवेशन प्रतिनिधि छानिनेछन्।
सोमबार निर्वाचित सबै प्रदेश अध्यक्षहरू पनि महाधिवेशन प्रतिनिधि हुनेछन्।
राप्रपाको इतिहासमा २०७३ मंसिर ६ गतेलाई ‘टर्निङ प्वाइन्ट’को रूपमा लिइएको थियो। तीन वटै अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबाट छुट्टाछुट्टै बनेका पार्टीलाई जोडेर २०७३ फागुन ६ गते एकता महाधिवेशन गरिएको थियो।
त्यो एकता महाधिवेशन ६ महिनाभन्दा बढी टिकेन। संविधानसभाको दोस्रो निर्वाचनपछि एकता हुँदा ३७ सिट रहेको रहेको राप्रपा २०७४ साल भदौ २२ गते फुट्यो।
त्यसपछि भएको २०७४ साल मंसिरको प्रतिनिधिसभा निर्वाचनमा थापाको राप्रपाले १ सिट मात्र ल्यायो। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको पार्टीले एक सिट पनि ल्याएन।
चुनावबाट नराम्रोसँग बढारिएपछि फेरि राप्रपा नेतृत्व गरिरहेका तीनै अध्यक्षहरूले २०७६ फागुन २८ गते पार्टी एकता गरे।
कोरोना भाइरसको महामारी, लकडाउनलगायत कारणले महाधिवेशन समयमा हुन सकेन। पछिल्लो समय २०७७ वैशाख २५-२८, जेठ २१-२४, कात्तिक पहिलो साता, कात्तिक २७-३० मा महाधिवेशनको घोषणा भयो।
तर, चार पटक महाधिवेशन सरेर अहिले बल्ल मंसिर ११-१३ मा महाधिवेशन सम्पन्न गर्ने तयारीमा राप्रपा छ।