नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।
शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन्।
उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताए।
उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे।
‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने,’ उनले भने, ‘हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति? त्यसमा कस्तो छ त्यसको विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ। यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस्।’
-न्युज एजेन्सी नेपाल