अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजी (आइटी) को क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन्।
शनिबारबाट ललितपुरमा सुरू भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी ५ वर्षसम्म यस क्षेत्रको कुनैपनि करका नीतिहरूमा परिवर्तन गर्दैनौं भनेका छौं। काठमाडौंमा एउटा आइटी हब नै बनाउँछौं। त्यसका लागि केही ठाउँहरू हेरिएको छ,’ उनले भने, ‘सात प्रदेशमा नै हबको रूपमा विकास गर्ने, काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरू स्थापना गर्ने सरकारको तर्फबाट र तीन वर्षलाई हामी कुनैपनि शुल्क नलिएर खासगरी ठूलो उद्यमको रूपमा विकास गरिसकेका साथीहरू अघि बढ्नुहुन्छ।’
उनले नेपालका लागि आइटी क्षेत्र प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र भएकाले अब फड्को मार्नुपर्ने बताए।
‘हामी १० वर्षमा ३० खर्बको हामी सेवा निर्यात गर्नसक्छौं, उत्पादन निर्यात गर्नसक्छौं भन्ने सरकारको महत्वकांक्षी योजना छ। तर आइटी क्षेत्रका साथीहरूको यो महत्वकांक्षी होइन भन्ने थियो। उहाँहरूले १० वर्षमा त्यो भन्दा राम्रो गर्नसक्छौं, १० वर्षमा प्रत्यक्ष ५ लाखलाई रोजगारी दिन सकिन्छ, १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ भन्दा हामीलाई १० वर्ष चाहिँदैन भन्दै हुनुहुन्थ्यो,’ उनले भने।
गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा वा उत्पादन निर्यात भएको छ भने यो वर्ष १ खर्ब नाघ्ने अनुमान देखिएको उनले बताए।
न्युज एजेन्सी नेपाल