विवादास्पद अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने माग उठ्न थालेको छ।
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर घटना दोहोरिन सक्ने धम्की दिएकी मन्त्री यादवको अभिव्यक्ति हिंसा भड्काउने र पदीय मर्यादाविपरीत भएको भन्दै उनलाई पदमुक्त गर्नुपर्ने माग उठेको हो।
शुक्रबार ८ जना नागरिक अगुवाले अपिल जारी गर्दै व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन्।
डा. केदानरनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले जारी गरेको अपिलमा पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराधसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वत: स्पष्ट भएको उल्लेख गरिएको छ।
‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो। मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ,’ अपिलमा भनिएको छ,‘मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुरदेउवाले आफैं लिनु अति आवश्यक छ । अत: हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।’
यो पनि पढ्नुस्: