नेपाली कांग्रेस मकवानपुर सभापतिमा बुद्ध लामा चयन भएका छन्।
पहिलो चरणमा सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन्।
आज दोस्रो चरणमा मतदान गर्ने तयारी थियो।
सोमबार भएको अधिवेशनमा लामाले ५९२ मत ल्याएका थिए। अर्का उम्मेदवारहरू आनन्दराम पराजुलीले ५४५ र जयराम लामिछानेले ५१३ मत ल्याएका थिए।
दोस्रो बढी मत ल्याएका पराजुलीले लामालाई सभापतिमा साथ दिएपछि दोस्रो चरणको मतदान नगरिएको नेताहरूले बताएका छन्।
आफू सहमतिमा जिल्ला सभापति चयन भएको लामाले सेतोपाटीलाई बताए। ‘सहमतिमा म सभापति भएको हुँ,’ उनले भने। कार्यसमितिका अन्य पदमा भएको निर्वाचनको मतगणना गरिसकिएको छैन।
सभापति भएका लामालाई भने निर्वाचन अधिकृतले आज निर्वाचित भएको प्रमाणपत्र दिइसकेका छन्। लामा संस्थापन पक्षका हुन्।
लामालाई सभापति बनाउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रदेश सभापति ईन्द्र बानियाँ र सभापतिका उम्मेदवार आनन्दराम पराजुली लगायतबीच छलफल भएको थियो।