सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्।
सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन्।
पार्टी आगामी चुनावलाई केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेकोसमेत उनले बताए।
‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर त्यसका निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौं’, उनले भने, ‘जो जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं।’
यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ।
पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए। ‘२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ। नीति तय गर्नेछ। पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ। तिनै विषयमा छलफल हुनेछ’, उनले भने, ‘सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ। नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ। त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा लगिनेछ। अब हामी मुलरुपमा आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रीकृत गर्नेगरी लाग्नेछौं।’
देशको राष्ट्रिय राजनीतिमा हाम्रो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक नीतिहरु अवलम्वन गरे उनले बताए। ‘हामी न झुक्छौँ न बहकिछौं। राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर काम गर्छौ भन्ने हाम्रो नीति छ’, उनले भने।
एमसीसीलाई संसदबाट व्याख्यात्मक घोषणाका साथ पारित गरिसकेपछि पार्टी राजनीतिमा उत्पन्न विभिन्न तरंगलाई विश्लेषणात्मक ढंगले व्याख्या गरेर सुनाउने र कार्यकर्तालाई एकतावद्ध भएर अगाडि हिडाउन प्रयास गर्ने उनले बताए।
प्रवक्ता खतिवडाले कार्यकर्ताहरुलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए।