नेकपा एमालेले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामा पार्टीका तर्फबाट ६ बुँदे धारणा राखेको छ।
आज महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित नेताहरू आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पार्टीका तर्फबाट धारणा समेटिएको ज्ञापत्र पत्र बुझाएका हुन्।
आयोगले बनाएको आचारसंहिता पालना गर्न सके राम्रो हुने महासचिव पोखरेल बताउँछन्।
तर प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरू नै चुनाव प्रचारमा जान नपाइने गरी आयोगले बनाएको आचारसंहिताको कार्यान्वयन पक्ष भने जटिल रहेको उनले बताए।
उनले एमालेले आचारसंहिता पालना गर्ने पनि बताए। आचारसंहिताका केही प्रावधानलाई भने आयोगले संशोधन गर्नुपर्ने एमालेको भनाइ छ।
उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान पनि संशोधन गर्नुपर्ने एमालेको माग छ।
‘निर्वाचन आयोगसँग हाम्रो टसल होइन,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीले नै चुनाव प्रचार गर्न नपाउने कुरा लोकतन्त्रमा अलि मिल्ने खालको भएन। त्यो संशोधन गर्नुपर्छ भन्ने हो। हामी प्रतिपक्षमा भए पनि सरकार पक्षलाई नै फाइदा हुने कुरा उठाएका छौं।’